जनप्रतिनिधिले बुझे पहिलो ‘तलब’



हेटौंडा, (नेस)
लामो प्रतीक्षापछि हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिले एक वर्षको एकमुष्ट आर्थिक सुविधा बुझेका छन् ।३ नम्बर प्रदेश सरकारले स्थानीय तहका लागि जनप्रतिनिधिको सेवासुविधा तोकेसँगै प्रदेशले कानुन निर्माण गरेर राजपत्र प्रकाशित गरेपश्चात् स्थानीय तहका पदाधिकारीलाई सेवासुविधा आएको हो ।

नगरप्रमुख, उपप्रमुख, नगर कार्यपालिका सदस्य, वडाअध्यक्ष र वडा सदस्यहरुले करिब ११ करोड १२ लाख रुपियाँ सुविधा बुझेका हुन् ।उपमहानगर मेयर, उपमेयर, १९ वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यले १ वर्षको सुविधावापत् एकमुष्ट रकम खातामा पठाइएको हेटौंडा उपमहानगरपालिका लेखा शाखाले जनाएको छ ।

३ नम्बर प्रदेशसभाले बनाएको प्रदेश ऐनअनुसार उपमहानगरपालिकाले मेयरले प्रतिमहिना ४० हजार सुविधा र २ हजार ५ सय रुपियाँ सञ्चार सुविधा प्राप्त गरेका छन् । उपमेयरलाई प्रतिमहिना ३५ हजार र सञ्चार सुविधा २ हजार रुपियाँ, वडा अध्यक्षलाई प्रतिमहिना २२ हजार र सञ्चार सुविधा १ हजार रुपियाँ छ ।

कार्यपालिका सदस्यलाई ७ हजार ५ सय र वडा सदस्यहरुलाई प्रतिमहिना ६ हजार ५ सय रुपियाँ छ ।उपमहानगर मेयरलाई १ वर्षको एकमुष्ट ४ लाख ८० हजार र ३० हजार र सञ्चार खर्च खातामा जम्मा गरिएको लेखा शाखा प्रमुख सुवेदीले जानकारी दिनुभएको हो । उपमेयरलाई १ वर्षको ४ लाख २० हजार र सञ्चार खर्च २४ हजार एकमुष्ट खातामा जम्मा गरिएको छ ।

४ जना वडा सदस्य जिल्ला समन्वय समितिमा मनोनित भएकाले १९ वडाका जम्मा ७२ सदस्यलाई सरकारका तर्फबाट प्रतिमहिना ६ हजार ५ सयका दरले ५ करोड ६१ लाख ६ हजार एकमुष्ट रकम खातामा जम्मा गरिएको लेखा शाखाले जानकारी दिएको छ ।नगर कार्यपालिकामा मनोनित ३ जना सदस्यलाई प्रतिमहिना ७ हजार ५ सयका दरले १ वर्षको एकमुष्ट २ लाख ७० हजार भुक्तानी गरेको हो । १९ वटै वडाका वडाध्यक्षलाई १ वर्षको ५ करोड १६ लाख र सञ्चार खर्च २ लाख २८ हजार खातामा जम्मा गरिएको शाखा प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्