विश्वकपमा तीन सुपरस्टारको दशा



फिरोज राजोपाध्याय, काठमाडौं
विश्वकप शुरु हुने अगाडि र भएदेखि तीन सुपर स्टार खेलाडीको निकै चर्चा चल्यो । ती हुन् अर्जेन्टिनामा लियोनेल मेसी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र ब्राजिलका नेयमार जुनियर । रोनाल्डोले शुरुआत सानदार रह्यो । उनले पहिलो खेलमा स्पेनविरुद्ध ह्याट्रिक गरे । तेस्रो गोल उत्कृष्ट फ्रिकीकमा गरेर वाहवाही लुटे र विश्वकपमा सम्भावना देखाए कि युरो २०१६ को नतिजा दोहो¥याउनेछ ।

तर रोनाल्डोको लागि अन्तिम १६ कष्टकर रह्यो । उरुग्वेसँग २–१ ले हारेर पोर्चुगल बाहिरियो । जसमा रोनाल्डोले आफनो टोलीको लागि गोल पनि गर्न सकेनन् । उनले एडिसन काभानीको दुई गोलमा विश्वकप यात्रा समाप्त गर्न बाध्य भएका थिए । रोनाल्डो अहिले रियल मेड्रिडबाट इटालियन सिरी ए को शीर्ष टोली युभेन्टसमा १० करोड युरोमा आबद्ध भएका छन् । उनको यो विश्व यात्रा फ्लप भए पनि उनको प्रशंसक कम भएका छैनन् । युभेन्टसको उनको जर्सी बेचेर क्लबले ५ करोड युरो कमाएकोले नै रोनाल्डो कति लोकप्रिय भन्ने स्पष्ट पार्छ ।

यसैगरी मेसीको शुरुको दुई खेल खराब रह्यो र अन्तिम खेलमा नाइजेरियालाई २–१ ले हराएर अर्जेन्टिना बल्लतल्ल नकआउट चरणमा पुग्यो । सो खेलमा मेसीले एक गोल पनि गरे । यो गोलले उनको लय फर्केको उनका समर्थकले आस गरेका थिए । तर अन्तिम १६ मा फ्रान्ससँग ४–३ ले हारेपछि अर्जेन्टिना बाहिरियो र मेसीको विश्वकप यात्रा पनि टुंगियो । मेसीले यो सबैभन्दा खराब क्षण भनेर घोषणा समेत गरे ।

अर्का सुपरस्टार नेयमार अलि माथि पुगे । ब्राजिल क्वार्टरफाइनलमा गोल्डेन जेनेरसन उपनाम पाएको बेल्जियमसँग २–१ ले पराजित भयो । योसँगै नेयमार ब्राजिलको २०१४ विश्वकपको लज्जित घटना ढाक्ने योजना पनि भताभुंग भयो । चार वर्ष अघि आफनै घरेलु मैदानमा ब्राजिल त्यतिबेलाको च्याम्पियन जर्मनीसँग ७–१ ले हारेको थियो । नेयमारले रुसमा भएको विश्वकपमा दुई गोल गरे । तर उनको मैदानमा लड्ने व्यवहारले भने विश्व फुटबल प्रेमी चकित भएका थिए ।


उनीहरुको विदाइसँगै उनीहरुका करोडौं समर्थक समेत निरास भएका थिए । समर्थकको आस थियो कि उनीहरुले यसपटक इतिहास रच्नेछन् । तर यस्तो भएन शायद अर्को विश्वकप खेलिन्छ होला । खेलेपनि मेसी ३६ र रोनाल्डो ३७ वर्षको हुनेछन् भने नेयमार ३० वर्षको हुनेछन् । रोनाल्डोले त अहिले आफु २३ वर्षको युवा खेलाडी भनेर आफुलाई युवा सावित गर्न खोजिरहेका छन् । उनले कतारमा खेल्ने संभावनालाई नकारेका छैनन् ।

मेसीको सपना विश्वकप ट्रफी उचाल्ने हो । यो बारम्बार भनिने उनको भनाई हो । तर सन २००६ देखि विश्वकप खेलेका मेसीलाई यो मौका कहिल्यै आएन । अर्जेन्टिना फ्रान्ससँग राम्रो खेलेर पनि हार्नुमा डिफेन्स कमजोर भएको थ्रीस्टार क्लबका प्रशिक्षक मेघराज केसीले नेपाल समाचारपत्रलाई बताउनुभयो ।

वहाँले भन्नुभयो—अर्जेन्टिनाको गोलकिपर र डिफेन्स क्षेत्रबीच तालमेल देखिएन । सबै जना स्कोरिङको लागि एट्याकिङ खेल्नमा व्यस्त हुँदा डिफेन्समा जोर दिन सकेन । यसैले पनि अर्जेन्टिनाले गोल खान पुग्यो ।


अर्जेन्टिना अघि जर्मनी पनि बाहिरिएको छ । यो विश्वकपले नामले मात्रै खेल जित्न नसक्ने सन्देस दिएको छ । जित हात पार्न टिम वर्कको जरुरी हुन्छ । फ्रान्सले यस्तै उदाहरण दिएको छ । यस बारे प्रशिक्षक केसीले टिम वर्क ज्यादा महत्वपूर्ण हुने बताउनु भयो ।

केसीले भन्नुभयो—मेसी र रोनाल्डो या नेयमार जस्ता खेलाडीको भरमा जित हात पार्न सक्दैन । यो विश्वकपले यस्तै देखाइरहेको पनि छ । उनीहरुलाई विपक्षीका खेलाडीले बढी मार्क गरिरहेका हुन्छन् । यसैले पनि उनीहरुले सोचे जस्तो प्रदर्शन गर्न सक्दैनन् । जितको लागि टिमवर्क नै चाहिन्छ । बेल्जियम, फ्रान्स र क्रोयसियामा कोही चर्चित खेलाडी छैनन् तर पनि यी टिमले राम्रो प्रदर्शन गरिरहेका छन् ।

क्लबस्तरिय प्रतियोगितामा एक पछि अर्को ह्याट्रिक वा गोल गर्ने यी सुपरस्टारले विश्वकपमा त्यति छाप छा्डन सकेका छैनन् । जति बेला मेसीमाथि धेरै आस गरिन्छ त्यतिबेला उनको जादु चल्दैन । उनी विश्वकपमा छाप छाड्न सकिरहेका छैनन् । यस्तै रोनाल्डो र नेयमारमा पनि यही कुरा लागु हुन्छ ।


प्रशिक्षक केसीले बताउनुभयोे—क्लबमा संसारभरिका राम्रा खेलाडी हुन्छन् । उनीहरु त्यहाँ बर्षौ वर्षौ खेल्छन् । यति भएपछि उनीहरुमा तालमेल भइरहन्छ र सफल हुन्छन् । तर राष्ट्रबाट खेल्दा दुई तीन हप्तादेखि साथ हुन्छन् । भनौं न मेसी वा रोनाल्डो वा नेयमारले ती खेलाडीहरुसँग तालमेल बनाउन पनि समय लाग्छ । फेरि क्लबमा व्यवसायिक हुने हुँदा पनि रिजल्ट दिन्छन् उनीहरुले तर राष्ट्रबाट खेल्दा त्यो नहुन सक्छ ।

नेयमार त युवा नै छ तर पनि उनले जस्तो चाहेको हो त्यस्तो नतिजा ब्राजिलको लागि दिन सकेनन् । उनको बारेमा केसी बताउनुहुन्छ—नेयमारमा जोश छ । उनले राम्रो खेलेको छैन भनु भने पनि गोल गर्न प्रयास गरिरहन्छन् । उनीमाथि यो प्रतियोगितामा धेरै फाउल प्रहार पनि भएको छ । शायद उनी एक्लो खेलाडी हुन कि सबैभन्दा फाउल पाउनेमा । बेल्जियमसँग प्रयास राम्रो थियो तर भाग्यले साथ दिएन उनीहरुलाई ।

प्रतिक्रिया दिनुहोस्