डा. देवकोटाजस्तै भगवान् बन्न खोज



-सर्मिला बुढाथोकी
डाक्टर उपेन्द्र देवकोटा, जसले धेरैलाई जीवनदान दिए । उनी जति बेला मानिसलाई मृत्युको मुखबाट खोेसेर जीवनदान दिइरहेका हुन्थे शायद सोच्थे होलान्– चित्रगुप्तले निर्धारण गरेको उमेरको सीमा मैले फेरबदल गरिदिन सक्छु । तर त्यो उनको भ्रम मात्र थियो, जुन कुरा उनले आफ्नो जीवनकालमै स्वीकार गर्न सके । उनको लागि चित्रगुप्तले उमेरको जुन सीमा निर्धारण गरिदिएका थिए, चाहेर पनि उनले त्यसलाई नाघ्न सकेनन् । शायद उनले चित्रगुप्तको समयसीमा नाघ्न सकेको भए अरु धेरैले जीवनदान पाउन सक्ने थिए । प्रकृतिको नियम आखिर कसले उल्लंघन गर्ने ?

मृत्यु सत्य हो, यो सत्यलाई थोरैले मात्र आफ्नो जीवनकालमा स्वीकार गर्न सक्छन् । ती थोरैमा परेका छन् डाक्टर उपेन्द्र देवकोटा । उनले आफू जीवित रहँदै मृत्युलाई स्वीकार गर्न सके । यदि उनले यसलाई स्वीकार गर्न नसकेको भए शायद उनको शरीर बेलायतको भूमिमा लीन हुने थियो होला । अनि उनले न त आफ्नो जन्मघरको पिँढीमा बसेर सुस्ताउने आकांक्षा पूरा गर्न सक्थे, न गाउँको धाराको पानी पिउने र खोलामा खुट्टा डुबाउने चाहना नै पूरा गर्न सक्थे ।
डा. उपेन्द्र देवकोटाको योग्यता र क्षमतालाई हेर्दा, उनी विश्वको जुनसुकै मुलुकमा रहेर पनि स्थापित हुन सक्ने थिए । आफ्नो जीवनकालमा अथाह सम्पत्ति आर्जन गर्न सक्ने थिए । तर उनले सम्पत्तिलाई कहिल्यै प्राथमिकता दिएनन् । उनको राष्ट्रप्रेम, उनको भावना र कोमल मनले पैसालाई कहिल्यै प्राथामिकता दिएन । उनको प्राथमिकता सधैँ नेपाल र नेपाली नै रह्यो ।

बिरामीको उपचार सधैँ औषधिले मात्र गर्दैन, स्वास्थ्यकर्मीको व्यवहार र आँटले पनि बिरामीको आधी रोग ठीक गर्छ भन्ने मान्यता रहिआएको छ । कतिपय अवस्थामा त्यो सत्य साबित भएको पनि छ । डा. उपेन्द्र देवकोटाले उपचार गरेका कतिपय बिरामी उनको उपचार विधि र व्यवहार दुबै कारणले ठीक भएका छन् । बिरामीको रोगको वास्तविकता बुझेर त्यहीअनुसार उपचार गर्नु र बिरामीलाई उच्च मनोबल प्रदान गर्न सधैँ हौसला तथा आँट दिनु डा. देवकोटाको विशेषता हो । त्यसैले उनलाई धेरै बिरामीले भगवान् नै ठान्दथे । डा. देवकोटाको उपचार विधि र बिरामीसँग गर्ने व्यवहारलाई सबै स्वास्थ्यकर्मीले आत्मसात् गर्न सकेको खण्डमा कुनै पनि नेपालीले उपचारको लागि धेरै ठाउँमा भौंतारिने र अनावश्यक खर्च गर्ने अवस्थाबाट मुक्ति पाउन सक्ने थिए ।

अहिले पनि धेरै त्यस्ता स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरु छन्, जसले बिरामीलाई गर्ने व्यवहार विवादित हुने गरेको छ । न बिरामीसँग राम्रो व्यवहार, न रोगको बारेमा बिरामी तथा आफन्तलाई तथ्यगत जानकारी, न शुल्क र उपचार पद्धतिबारे जानकारी । बिरामीलाई उपचार पद्धतिबारे गुमराहमा राख्ने र एकैपटक डिस्चार्ज हुने बेलामा अस्वाभाविक बिल थमाउने कतिपय अस्पतालहरुको गतिविधिले बिरामी तथा आफन्तलाई सधैँ आहत बनाउने गरेको छ । यो कुरामा डा. देवकोटाको फरक तरिका थियो । डा. देवकोटाले सञ्चालन गर्नुभएको न्युरो अस्पतालमा उपचार महँगो नै थियो तर उनले अस्पतालमा आउने हरेक बिरामीलाई उपचार पद्धति र लाग्ने शुल्कबारे शुरुमै जानकारी गराउने गरेका थिए । कुनै बिरामी आर्थिक अभावकै कारण उपचारबाट वञ्चित हुने अवस्थामा निःशुल्क उपचार सेवासमेत दिने गर्थे । सबैभन्दा ठूलो कुरा उनले बिरामीलाई सधैँ उच्च मनोबल प्रदान गर्न सधैँ भरोसायोग्य साथ दिने गर्थे ।

न्युरो अस्पताल सञ्चालन र बिरामीलाई उपचार सेवा दिनु महँगो हुने र नेपालमा त्यस्ता बिरामीहरुले उपचार सेवा लिन कठिन हुने महसुस गरेर नै डा. उपेन्द्र देवकोटाले सकेसम्म सरकारी लगानीमा उच्चस्तरको सेवासहितको सर्वसुलभ न्युरो अस्पताल सञ्चालन गर्ने प्रयत्न गरे । त्यो सम्भव नभएपछि निजीस्तरमा केही महँगो शुल्क लाग्ने नै भए पनि आमनेपालीलाई सेवा पुग्ने गरी सुविधा सम्पन्न न्युरो अस्पताल सञ्चालन गरेर धेरै नेपालीको ज्यान जोगाउन सके । अहिले पनि नेपालमा सरकारीस्तरको न्युरो, मुटुरोग, हाडर्जोनी, किड्नी, क्यान्सर अस्पतालको आवश्यकता रहेको छ । त्यसैले सरकारले डा. देवकोटाको सम्झनामा विशेषज्ञ सेवासहितको सुविधा सम्पन्न अस्पताल सञ्चालनको पहल गर्नुपर्छ । सर्वसुलभ ढङ्गले आमनेपालीले उपचार सेवा प्राप्त गर्ने वातावरण निर्माण हुनुपर्छ ।

अहिले झन्डै दुई तिहाइ बहुमतसहितको सरकार छ । केपी ओली नेतृत्वको सरकारमा सहभागी अधिकांश मन्त्रीहरु उच्च इच्छाशक्ति भएका युवाहरु नै छन् । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको मूल नारा विकास र समृद्धिलाई सार्थक तथा सफल बनाउन शिक्षा, स्वास्थ्यजस्ता कुरामा ध्यान दिनुपर्ने हुन्छ । त्यसैले मुलुकको स्वास्थ्य क्षेत्रको अवस्थामा परिर्वतन गर्न डा. उपेन्द्र देवकोटाको आदर्श र योजनालाई आत्मसात् गर्न सकेको खण्डमा सफलता मिल्न सक्छ कि भन्ने तथ्यगत आधारहरु धेरै छन् ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुको योग्यता, व्यवहारलगायतका विषयमा पनि एउटा निश्चित मापदण्ड तयार गरेर त्यसलाई निजी तथा सरकारी अस्पतालमा लागू गर्न सकियो भने त्यसले देशको स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधानमा केही हदसम्म सहयोग पु¥याउन सक्नेछ । राम्रा र योग्य स्वास्थ्यकर्मीहरुलाई थप अध्ययन र अवसरको लागि सरकारले नीति बनाउने र निष्पक्ष ढङ्गले कार्यान्वयन गर्ने हो भने पनि त्यसले स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधानमा उपलब्धिमूलक निकास दिन सक्नेछ ।

अपवादबाहेकको अवस्थामा डा. उपेन्द्र देवकोटासँग उपचार सेवा लिने बिरामी र तिनका आफन्तले उनलाई भगवान् ठान्दछन् । भगवान् ठान्नुको कारण उनको उपचार विधि प्रभावकारी भएर मात्र हैन, उनले बिरामीलाई गर्ने व्यवहार, बिरामीलाई प्रदान गर्ने आत्मबल र रेखदेखको कारण पनि उनी सबैको भगवान् भनिएका हुन् । हरेक बिरामीलाई डा. देवकोटासम्म पुग्न सके बाँच्न सकिन्थ्यो कि भन्ने लाग्थ्यो । अब हरेक स्वास्थ्यकर्मीले बिरामीका लागि डा. देवकोटाजस्तै बन्ने अठोट कस्नु जरुरी छ । स्वास्थ्यकर्मीको व्यवहार र अठोट बिरामीको आत्मबल बढाउने खालको छ भने त्यसले पक्कै राम्रो नतिजा दिन सक्छ ।

त्यसैले सरकारले हरेक स्वास्थ्यकर्मीलाई असल व्यवहारको लागि कानुनीरुपमै प्रेरित गर्ने वातावरण निर्माण गर्नुपर्छ । सबै स्वास्थ्यकर्मीले डा. देवकोटाको आदर्शलाई पछ्याएका छन् कि छैनन्, त्यो खोजीकै विषय बन्नुपर्छ । यदि सबै स्वास्थ्यकर्मीले डा. देवकोटाको आदर्शलाई पछ्याउन सकेको भए अहिले जसरी स्वास्थ्य क्षेत्रमा समस्या देखिएको छ, त्यो पक्कै देखिने थिएन होला । त्यसैले अब हरेक स्वास्थ्यकर्मीले आफ्नो जिम्मेवारी र बिरामीलाई गरिरहेको व्यवहारको आत्मसमीक्षा गर्दै डा. देवकोटाको आदर्शलाई व्यवहारमा कार्यान्वयन गर्ने प्रयत्न गर्नुपर्छ । डा. देवकोटाजस्तै हरेक स्वास्थ्यकर्मी बिरामीको भगवान् बन्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्