विमस्टेकमा पुरानै गाडीको तयारी



टीका बन्धन, काठमाडौं
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलनको तयारीमा जुटेको सरकारले सम्मेलनका लागि आवश्यक नयाँ गाडी किन्नेभन्दा पनि पुरानैलाई प्रयोगमा ल्याउने भएको छ ।

सदस्य राष्ट्रका राष्ट्र प्रमुख र सरकार प्रमुखको आवत–जावतका लागि विभिन्न सरकारी निकाय मातहतका सुविधा सम्पन्न गाडी प्रयोग गर्ने तयारी गरिएको हो । विमस्टेक राष्ट्रका विशिष्ट पाहुनालाई पूर्वराजा र राजपरिवारका सदस्यले विगतमा प्रयोग गरेका, परराष्ट्र र अन्य मन्त्रालय मातहतका ‘बुलेट फ्रुफ’ गाडी उपलब्ध गराउने तयारी अघि बढाइएको छ ।

शिखर सम्मेलनमा सदस्य राष्ट्रका राष्ट्रप्रमुख र सरकारप्रमुख सहभागी हुने प्रचलन छ, चौथो सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौंमा आयोजना हुँदै छ । सम्मेलनलाई लक्षित गर्दै गृहमन्त्रीको संयोजकत्वमा गठित सुरक्षा परिवहन तथा यातायात समितिले गाडी जुटाउने गृहकार्य अघि बढाएको हो । ‘सबै राष्ट्रप्रमुख र सरकारप्रमुखलाई बुलेट फ्रुफ गाडी उपलब्ध गराइनेछ’, गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘कुन निकायमा के कति बुलेट फ्रुफ गाडी छन् भनेर खोजविन भइरहेको छ ।’

४ वर्षअघि काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १८औं शिखर सम्मेलनताका कतारले उपलब्ध गराएका गाडी विमस्टेक सम्मेलनमा प्रयोगमा ल्याउन सकिने उहाँको भनाइ छ । १८औं सार्क सम्मेलन अघि कतारले ९ वटा सुविधा सम्पन्न मर्सिडिज गाडी सहयोगस्वरुप नेपाललाई उपलब्ध गराएको थियो । ९ मध्ये ७ सुरक्षित रहेको, बाँकी ३ वटा परराष्ट्रमन्त्री, सचिव र मन्त्रालयकै प्रयोजनमा प्रयोगमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सार्क सम्मेलन अवधिभर करिव १ दर्जन सुविधा सम्पन्न गाडी भारतबाट भाडामा समेत ल्याइएको थियो ।

भाडामा गाडी झिकाउनुपर्ने÷नपर्ने विस्तृत छलफल भने अझै भइनसकेको गृह प्रवक्ता सुवेदीले बताउनुभयो । संस्कृति पर्यटन तथा नागरिक उड्यनन मन्त्रालयले तत्कालिन राजपरिवारले प्रयोग गरेका गाडीको संख्या र अवस्थाबारे जानकारी गराउन गत महिना नारायणहिटी दरवार संग्रहालयलाई समेत खवर गरेको थियो । संग्रहालयका अनुसार त्यहाँ रहेका गाडी सम्मेलन प्रयोजनमा प्रयोगमा ल्याउन मिल्ने प्रकृतिका छैनन् ।

‘राजपरिवारले प्रयोग गरेका ७÷८ वटा गाडी छन्, तर कुनै पनि कन्डिसनका छैनन्, संग्राहलयका निमित्त प्रमुख अद्धैत प्रकाश श्रेष्ठले भन्नुभयो–‘मर्मत गर्दा दुई वटा चाहिँ प्रयोगमा ल्याउन मिल्छ कि ?’ सञ्चालन हुनसक्ने भनिएका २ गाडी मर्मतका लागि विदेशबाट सफ्टवेयर झिकाउनुपर्ने उहाँको बुझाइ छ । तत्कालिन राजा वीरेन्द्र र ज्ञानेन्द्रले प्रयोग गरेका सवारीमध्ये ३ वटा हाल राष्ट्रपति र उपराष्ट्रपतिबाट प्रयोग हुँदैआएको छ । राष्ट्रपति र उपराष्ट्रपतिका लागि २०६५ मा एक÷एकवटा गाडी दरवारबाट लगिएको थियो भने उपराष्ट्रपति कार्यालयले थप अर्को गाडी पनि संग्रहालयबाटै लगेको छ ।

उपराष्ट्रपति कार्यालयले २ वर्षअघि अर्को गाडी लगेको श्रेष्ठले जानकारी दिनुभयो । ‘पर्यटन मन्त्रालयको निर्देशनअनुसार गाडीको समग्र पक्ष हामीले जानकारी गराइसकेका छौ’–उहाँले भन्नुभयो । विमस्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्याण्ड सदस्य छन् । दुई वर्षअघि सन् २०१६ भित्रै हुनुपर्ने चौँथो सम्मेलन नेपालको आफ्नै आन्तरिक कारणले धकेलिदै आएको थियो ।

सरकारले सम्मेलन लक्षित गाडी र अन्य गर्ने भए पनि विगतको सार्क सम्मेलन र नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतबाट ल्याइएका सवारी नैं प्रयोग गर्नुभएको थियो । ‘त्यस्तो विकल्प रोज्नु उहाँको स्वेच्छा हो, सम्मेलन आयोजक राष्ट्र भएकाले सबै किसिमको तयारीमा सरकार जुट्नुपर्छ, कसैले आफैं गाडी ल्याउला, अनुदानमा दिएला भनेर आश गर्नु नेपालको ठूलो कमजोरी हुन्छ’ –पराष्ट्रका एक उच्च अधिकारीले भने ।

गत वर्ष साउन २७ मा काठमाडौंमा सम्पन्न विमस्टेक सदस्य राष्ट्रका विदेश मन्त्रीस्तरीय १७ औं बैठकले यही वर्षभित्र चौँथो सम्मेलन नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो । क्षेत्रीय व्यापार र लगानी, प्रविधि, ऊर्जा, यातायात र सञ्चार, कृषि, सांस्कृतिक सहकार्यमा विमस्टेकका गतिविधि केन्द्रित छन् । त्यसैगरी वातावरण र प्रकोप व्यवस्थापन, जनस्वास्थ्य, गरिबी निवारणजस्ता क्षेत्रीय मुद्दामा पनि विमस्टेक केन्द्रित छ ।

सम्मेलनको तयारीस्वरुप प्रधानमन्त्रीको संयोजकत्वमा राष्ट्रिय मूल समिति गठन गरिएको छ भने परराष्ट्रमन्त्रीको संयोजकत्वमा सम्मेलन तयारी र समन्वय समिति गठन भएको छ । गृहमन्त्री, अर्थ, भौतिक पूर्वाधार र सञ्चारमन्त्रीको संयोजकत्वमा क्रमशः सुरक्षा परिवहन तथा यातायात समिति, अर्थ, भौतिक पूर्वाधार तथा नगर सजावट समिति र सञ्चार व्यवस्था तथा प्रचारप्रचार समिति गठन गरिएको छ । यसै गरी विभिन्न मन्त्रालयका सचिवको संयोजकत्वमा विभिन्न उप–समिति पनि गठन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्