छात्राबास नबनेपछि क्याम्पस प्रमुखको कार्यकक्षमा विद्यार्थीले गरे आन्दोलन



नेपाल समाचारपत्र
लमजुङ । लमजुङको सुन्दरबजार स्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान लमजुङ कृषि क्यापसमा निर्माण गर्न लागिएको छात्रावास भवन ११ वर्षमा पनि पुरा नभएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । क्याम्पसमा छात्रवास निर्माणमा ढिलाई भएको लगायतका माग राख्दै विद्यार्थीहरूले पढाई ठप्प पारेर क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाई आन्दोलनमा उत्रिएका हुन् ।

आफूहरूले तीन दिन अघिदेखि गरेको सांकेतिक हड्तालको क्याम्पस प्रशासनले वेवास्ता गरेको भन्दै त्यसका विरुद्धमा आफूहरू पढाई ठप्प पारेर क्याम्पस प्रमुखको कार्यकक्षमा ताला गलाई विहीबारदेखि पुरै आन्दोलनमा होमिएको विद्यार्थीहरूले बताएका छन् । उक्त क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनहरू अनेरास्ववियु, नेपाल विद्यार्थी संघ र अनेरास्ववियु (क्रान्तिकारी)ले संयुक्त रूपमा आन्दोलनका कार्यक्रम घोषणा गर्दै सांकेतिक हडताल गर्दा पनि त्यसको सुनुवाई नभए पछि थप आन्दोलन गर्नु परेको बताए ।

यसअघि एकअर्काका विचमा कुटाकुट, मारकाटमा समेत उत्रने गरेको विद्यार्थी संगठनहरु यसपटक भने संयुक्त रुपमा आन्दोलनमा होमिएको हुन् । उक्त क्याम्पसका विद्यार्थीले संयुक्त रुपमा विद्यार्थीका समस्यालाई सम्बोधन गर्न माग गर्दै आन्दोलित भएको यो दोस्रो पटक हो ।

११ वर्षअघि निर्माण सुरु गरिएको ४२ कोठे छात्रावास निर्माणमा ढिलाई भएकाले विद्यार्थीहरू आन्दोलनमा उत्रन बाध्य भएको उक्त क्याम्पसको नेविसंघ एकाईका उपाध्यक्ष भुपि पौडेलले बताउनु भयो । उहाँका अनुसार ०६४ सालदेखि छात्रावास निर्माण कार्य सुरु गरे पनि अहिलेसम्म निर्माण सम्पन्न नहुँदा विद्यार्थी महङ्गो भाडा तिरेर क्याम्पस बाहिर सुन्दरबजारमा भाडामा वस्नुपरेको छ ।

क्याम्पसको पाँचौ सत्रान्तमा अध्ययनरत छात्र दीपक खनालले नयाँ होस्टल बन्न नसक्दा बाँकी विद्यार्थी सुन्दरबजारमा महँगोमा कोठा भाडामा लिएर बस्न बाध्य भएको बताउनु हुन्छ । उहाँले भन्नुभयो ‘क्याम्पसको छात्रावसमा बसी पढ्न पाउनु हाम्रो अधिकार हो । बाहिर कोठा भाडामा लिएर बस्नुपर्छ । भाडा महँगो छ ।’

छात्राबास मात्र हैन क्याम्पसमा खानेपानीको पनि समस्या छ । खानेपानी, सधैँ बाहिरबाट किनेर ल्याउने गरेको छात्राबासमा बस्नु भएकी सातौँ सत्रकी प्रतिभा गैरेले बताउनु भयो । उहाँले भन्नु भयो ‘मैले २ वर्षदेखि छात्राबासमा छु तर खानेपानी पाइदैन, वाथरुममा पानी आउँदैन, खानेपानी पाइन्न भनेपछि शौचालयमा पानी हुने प्रश्नै रहेन ।’ यस्तो स्थितिमा कसरी दिमागले काम गर्छ र पढ्ने गैरेले प्रश्न गर्नु भयो ।

उक्त क्याम्पसमा ५२ जनाको शिक्षक दरबन्दी रहे पनि १७– १८ जनाभन्दा बढी कहिल्यै हुँदैनन् । ती पनि आफ्ना निजी क्याम्पसमा धाउने गर्नाले कहिले महिना दिनसम्म पनि पढाई हुँदैन सातौँ सेमिष्टरकै विद्या चौधरीले बताउनु भयो । उहाँका अनुसार शिक्षकको मुड चलेको बेलामा बिहान छ बजेदेखि साँझ छ बजेसम्मै पढाई गरिन्छ । खानेपानी नपाउने ठाउँमा ल्यावको सुविधा हुने त प्रश्नै रहेन, कृषिको प्रयोगात्मक कक्षा समेत क्लास रुममा लिनु परेको चौधरीले बताउनु भयो ।

विद्यार्थीहरूले ४५ दिनभित्र छात्रावास र एक महिनाभित्र इ पुस्तकालय र प्रयोगशाला कक्षको निर्माण हुनुपर्ने माग गरेका छन् ।
विद्यार्थीहरुले क्याम्पस प्रशासनको लापरवाहीले सीमा नाघेको भन्दै प्रमुखको कार्यकक्षमा तालाबन्दीका साथ क्याम्पस प्रांगणमा टायर बालेर बिरोध प्रर्दशन गरिएको कृषि क्याम्पसका कमिटी अनेरास्ववियूका अध्यक्ष दिपेश चौधरीले बताउनु भयो । उहाँले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोकिने र विद्यार्थीहरूले रिले अनशनको कार्यक्रमसमेत घोषणा गरेका र्छौँ ।

उक्त क्याम्पसमा ४ सय ९ जना विद्यार्थी अध्यायनरत छन् । तर क्याम्पसमा सञ्चालन गरिएको छात्रावासमा १ सय ५० जना विद्यार्थी बस्छन् । अन्य विद्यार्थी बजार क्षेत्रमा भाडामा बस्न बाध्य भएका छन् । छात्रावास भवन निर्माणको जिम्मा सुन्दरबजारकै मालिका कन्सट्रक्सन प्रालिले लिएको छ ।

यसबारेमा क्याम्पस प्रशासनसँग सम्पर्क गर्दा विद्यार्थीका अधिकांस भनाई जायज रहेको क्याम्पस प्रमुख विष्णुविलास अधिकारीले स्वीकार्नु भयो । क्याम्पसमा ४० प्रतिशत छात्रा रहेको र तीमध्ये आधाजसो बाहिरनै बस्न बाध्य भएको उहाँले बताउनु भयो ।

खानेपानी ६ किमि परबाट ल्याएको र पाइप विच्छ्याएको स्थानको ठाउँ ठाउँमा मोटरबाटो बनाउँदा विग्रिएर पाइपमा लेदो आउने गरेको प्रमुख अधिकारीको भनाईछ । उहाँका अनुसार छात्राबासमा बारेमा ११ वर्षमा पनि एउटा भवन बन्न सकेन म आफैलाई लाजको स्थिति छ ।

पटकपटक म्याद थप गरी निर्माण कार्यलाई अगाडि बढाउन ठेकेदारलाई आग्रह गर्दा समेत समयमा निर्माणमा ढिला भैरकेको छ । उहाँले भन्नुभयो टियुको नियम अनुसार म्याद थप गर्नु हुँदैन तर ३ पटकसम्म म्याद थप गर्दा पनि ठेकेदारले काम गरेनन् । पुनः ०७३ देखि १ वर्षमा भवन निर्माण सक्ने सहमति भएको हो । अब दुई महिनामा भवनको निर्माण सम्पन्न हुने देखिएको छ अधिकारी बताउनु हुन्छ ।

छात्रावास भवन १ करोड ४१ लाखको लागतमा ०६४ सालदेखि निर्माण कार्य सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्