चरा संरक्षणमा निस्क्रियता, ९१ प्रजातिका चरा हेटौंडा आसपास



हेटौंडा,(नेस)

नेपालमा पाइनेमध्ये करिब ९१ प्रजातिका चरा हेटौंडाआसपास रहेको पाइएको छ । यति घेरै प्रजातिका चरा पाइने भए पनि यस क्षेत्रमा चरा संरक्षण सम्बन्धि खासै कदम चालिएको पाइँदैन ।

यस क्षेत्रमा पाइने चरा संरक्षण गर्न न सरकारी निकायबाट कुनै पहल भएको पाइन्छ, न त स्थानीयस्तरबाट । चरा सम्बन्धि खोज तथा अनुसन्धान गर्ने सरकारी तथा गैरसरकारी संस्थाको पनि यस क्षेत्रमा नजर गएको पाइँदैन ।

बासस्थान तथा चरनक्षेत्र विनास, बढ्दो चोरी÷शिकार, उडान मार्गमा हुने अवरोध र बदलिँदो तापमान तथा मौसम परिवर्तन जस्ता कारण यस क्षेत्रमा पाइने चरा हराउन थालेको बनविज्ञान अध्ययन संस्थान हेटौंडाको बीएस्सी चौथो वर्षका अनुसन्धानकर्ता विद्यार्थी प्रकाश जैसीले बताउनुभयो । करिब ६ महिना लगाएर गरिएको स्थलगत अनुसन्धानबाट हेटौंडा क्षेत्रमा किंगफिसर, बर्बेप र पोण्ड हिरेनलगायत चरा पाइएको उहाँले बताउनुभयो ।

‘चरा संरक्षण कुनै क्षेत्रविशेषको एकल अभियानले हुन सक्दैन । यिनीहरुको संरक्षणमा जनसहभागिता र जनचासो अपरिहार्य छ,’ हेटौंडाको फरेष्ट्री क्याम्पस तथा कर्रा र राप्ति खेला क्षेत्रमा लामो समय अनुसन्धान गर्नुभएका उहाँले दीर्घकालीन संरक्षणका लागि स्थानीय समुदाय, स्थानीय सरकार र सरोकारवाला निकायको समन्वय आवश्यक रहेको बताउनुभयो ।

तर, यस्तो समन्वय र पहल भएको पाइँदैन । करिब ९१ प्रजातिका चरा पाइने ठाउँलाई बेवास्ता गरेर अगाडि बढिएन र अब पनि यस क्षेत्रमा नजर लगाइएन भने चरा संरक्षण अभियानले पूणता नपाउने निश्चितजस्तै रहेको उहाँको दाबी छ । हेटौंडा क्षेत्र चराको स्थायी बासस्थानमात्र नभएर यो चराका लागि भूपरिधि पनि हो । चराले यस क्षत्रलाई बसाईं सराइका लागि पनि प्रयोग गरेको पाइन्छ ।

‘चरा संरक्षण अभियानलाई सफल बनाउन यस क्षेत्रको पनि संरक्षण र प्रवद्र्धन गर्नु आवश्यक देखिन्छ,’ उहाँले भन्नुभयो–स्थानीयस्तरमा यसलाई सहभागितामूलक जैविक विविधता संरक्षण तथा दीगो व्यवस्थापन एवम् पर्यटन उद्योग र विकाससँग लैजानु आवश्यक छ ।

यदि यसो गर्न सकिए यस क्षेत्रको जैविक विविधता संरक्षण, पर्यटन क्षेत्र विकास गर्न सकिने उहाँको विचार छ । उहाँले राष्ट्रिय चरा संरक्षण अभियानलाई पनि सफल बनाउन सकिने भन्दै यस क्षेत्रका सरोकारवाला निकायले चासो दिनु आवश्यक रहेको सुझाउनुभयो ।

संसारभर ११ हजार ३३ प्रजातिका चरा पाइन्छन् । यो सन् २०१० को आँकडा हो । नेपालमा ८ सय ७० प्रजातिका चरा पाइन्छन्, जुन संसारको ९ प्रतिशत हुन्छ । छिमेकी चितवनमा ६ सय ३४ प्रजातिका चरा पाइन्छन् । र, यो विश्वको ५ प्रतिशत हो ।

चरा जोगाउन मकवानपुरमा पछिल्लो समय स्थानीयस्तर केही सक्रिय देखिन्छ । माघे संक्रान्तिका दिन खाने तरुल खोज्न मानिसहरु जंगल जाने गर्दथे र त्यही मौका छोप्दै उनीहरु चरा मार्थे । परम्पराका रुपमा विकसित भएकाले बालबालिकादेखि पाकासम्म चरा लखेट्न कस्सिन्थे ।

प्रतिक्रिया दिनुहोस्