जिप दुर्घटनाबाट ७ को मृत्यु



धनवीर दाहाल, रुकुम
रुकुम पूर्वको सिस्ने गाउँपालिका–५, धारापानीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । सिस्ने गाउँपालिकाको रुकुमकोटबाट धौलापैरा जाँदै गरेको लु१ज २५७३ नम्बरको जिप बुधबार दिउँसो २ बजे धारापानीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–२, का २२ वर्षीय किरण पुन, सोही गाउँपालिका–१ का ३५ वर्षीय कुमार पुन, ३३ वर्षीय बुद्धिराज पुन, पुथाउत्तरगंगा गाउँपालिका–१३ की तिर्सना तुलाचन, पुथाउत्तरगंगा–१४ की सालिनी बर्मा, बाँके कोहलपुर निवासी ललिता परियार र भूमे गाउँपालिका–४ का २८ वर्षीय अर्जुन विक रहेका छन् ।
दुर्घटनामा परी ४ जना घाइते भएका छन् । घाइतेहरुमा जिप चालक जयवीर कामी, प्रमिला बुढामगर, धनिराम पुन र सम्झना पुन रहेको प्रहरीले बताएको छ ।

घाइतेहरुलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको रुकुम पूर्वका प्रहरी प्रमुख प्रविनलाल श्रेष्ठले जानकारी दिनुभएको छ । गाडी सडकभन्दा झन्डै १ सय मिटर तल खसेको छ । बर्खायाममा सडक चिप्लो भएका कारण गाडी दुर्घटना भएको अनुमान गरिए पनि दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्