जनप्रतिनिधि बिरुद्ध खनिए स्थानीयहरु



कृष्णउदास खनाल, वीरगन्ज ।
पर्साको कालिकामाई गाउपालिकाको कार्यालयमा स्थानीयवासीहरुले तालाबन्दी गरेका छन् ।
वडा नम्बर १ मुड्ली, टिनडोबिया र रबिदासका स्थानीयवासीहरुले बिभिन्न मांग राख्दै बुधबार गाउपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । सयौको संख्यामा रहेका आक्रोसित स्थानीयवासीहरुले दलितको रकम छुटयाउनु पर्ने, शिक्षा,स्वास्थ्य,कृषिमा लगानी गर्नुपर्ने ,हिसाबकिताब पारदर्शी हुनुपर्ने माग गर्दै तालाबन्दी गरिएको साविक मुडली गाविसका पुर्व उपाध्यक्ष प्रमा पटेलले जानकारी दिए ।

गाउपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले लाखौ रुपैया भ्रष्टाचारी गरेको आरोप स्थानीयवासीहरुले लगाएका छन् । गाउपालिकाका अध्यक्ष नथुनी कुश्वाहा, उपाध्यक्ष राजेश चौरसिया र प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले प्रत्येक उपभोक्ता र ठेकेदारबाट ३५ प्रतिशत रकम कमिसन लिएकोले काम गुणस्तरीय नभएको आरोप स्थानीयवासहिरु लगाएका छन् । समाजिक विकासका रकम तथा लक्षित वर्गका रकममा अनियमितता गरेको स्थानीयहरुको आरोप छ।

सामाजिक विकास तथा लक्षित वर्गका लागी २ करोड रकम छुटयाएकोमा जम्मा १५ प्रतिशत रकम पनि खर्च नभएको र सम्पुर्ण रकम हिनामिना गरेको स्थानिय प्रमा पटेलले आरोप लगाएका छन् ।लक्षित बर्ग तथा समाजिक विकासका रकम २ करोडको बजेटमा सिलाईकटाईका लागी जम्मा १३ वटा सिलाई मसिन खरिद गरेको ,खेलकुदमा ७ लाख ५० हजार रकम छुटयाएर १ दिनमा ५० हजार खर्च गरी सबै रकम कुम्लाएको, बिधालय भर्ना अभियानमा ५ लाख रकम छुटयाएर रकम खर्च नै नगरि हिनामिना गरेको समेत पटेलले आरोप लगाएका छन । यसै गरी ६ लाख बराबरको बोरिंग खरिद गरी जनप्रतिनिधीहरु आ आफना घरमा लगी राखेको र एउटा पनि कुनै कृषकहरुलाई नदिएको कृषकहरुले बताएका छन् ।

यद्यपी प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले आफूले नियम अनुसार नै गाउपालिकाको कामकाज गरेको दावी गरेका छन् । गाउपालिकामा कुनै किसिमको हिनामिना नभई नियम अनुसार नै लक्षित वर्गको रकम लक्षित शिर्षकमै खर्च गरिएको समेत अधिकृत साहको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्