जुवा खालबाट नगदसहित ७ जना पक्राउ



नेपाल समाचारपत्र, म्याग्दी ।

म्याग्दीको बेनी नगरपालिका–८, सदरमुकामस्थित बेनीबजारबाट मङ्गलबार नगदसहित सातजना जुवाडे पक्राउ परेका छन् । बेनीको कालीपुलस्थित पदमबहादुर पुन मगरको घरमा तास खेल्दै गरेको अवस्थामा घरधनी मगरसहित ७ जनालाई जुवा खालबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

कार्यालयबाट प्रहरी निरीक्षक दिपक थापाको नेतृत्वमा खटिएको प्रहरीको टोलीले जुवा खेल्ने प्रयोजनार्थ प्रयोग गरिएको नगद २४ हजार ६० रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको सूचना अधिकारी एवं प्रहरी निरीक्षक लोकबहादुर गुरुङले बताउनुभयो । पक्राउ परेकामाथि अनुसन्धान भैरहेको उहाँले जानकारी दिनुभयो ।

जुवातास विरुद्ध आक्रमक देखिएको प्रहरीले सादा पोशाकमा प्रहरीहरु परिचालन गरी शङ्कास्पद ठाउँमा छापा हान्दा पछिल्लो समय धमाधम जुवाडेहरु पक्राउ पर्न थालेका छन् । प्रहरी नायव उपरीक्षक विरबहादुर बुढामगर जिल्लामा आएलगत्तै प्रहरीले जुवातास नियन्त्रण कार्यलाई जोड दिइएको छ । व्यवसायिक जुवाडेहरुको खोजीमा प्रहरीले सादा पोशाकमा टोली नै खटाएको जनाएको छ ।

बेनीबजारका विभिन्न पुराना अखडामा चोर बाटो प्रयोग गरी जुवाडे जाने गरेको प्रहरीको भनाई छ । बेनीबजारमा जुवातास खेलाएर समेत आम्दानी गर्ने अखडालाई ध्वस्त बनाउने भन्दै प्रहरीले नियमित गस्तीका साथै सुराकी पाएलगत्तै ठाउँमै पुग्ने गरेको छ । प्रनाउ बुढा मगरले गैरकानुनी क्रियाकलापलाई पूर्णरुपमा नियन्त्रण गर्ने बताउनुभएको छ ।

प्रहरीले जुवातास, लागूऔषध बेचबिखन, अवैध घरेलु मदिरा नियन्त्रण एवं न्युनीकरण कार्यक्रमलाई अगाडि सारेको छ । प्रहरीले बेनीबजारका विभिन्न होटल, चोक, गल्ली, कालिपुल, गलेश्वर लगायतका क्षेत्रमा निगरानी बढाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्