गोरखामा पहिरोले घर पुरियो, एकै घरका तीन जनाको मृत्यु



गोरखा ।  शहीद लखन गाउँपालिका–६ को अँधेरी गाउँमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ । बुधबार बिहान करीब ६ बजे तिर अँधेरी गाउँमा स्थानीय नवराज कुँवरको घर पुरिँदा ३ जनाको मृत्यु भएको शहीद लखन गाउँपालिकाका प्रशासकीय अधिकृत जीवन आलेले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा नवराजकी भतिजी १० वर्षीया प्रविना कुँवर, भान्जी २० वर्षीया सरु कुँवर र सरुका ९ महिनाका छोरा रहेका छन् । पुरिएका तीनै जनाको शव निकालिएको छ । अहिले घटना स्थलमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली पुगेको एसपी विमल बस्नेतले जानकारी दिएका छन् ।

यसै गाउँपालिकाको तीनघरे गाउँ पनि पहिरोको जोखिममा रहेको र उक्त स्थानमा पनि नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली खटिएको बस्नेतले बताए । एसपी बस्नेतका अनुसार गोरखाकै धार्चे गाउँपालिकाको खानीबेशी गाउँमा पनि पहिरोले एक घर बगाएको छ । खानीबेशीका साइला गुरङको घर बगाएको र मानवीय क्षति भने नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्