चट्टानी पहराले रोक्दै गाडी चढ्ने सपना



नेपाल समाचारपत्र, हेटौंडा
बिकट गाउँलाई विकाससँग जोड्ने लाइफलाइन हो उक्त सडक । उक्त लाइफलाइनबाट गाडीमा गाउँपालिका पुग्ने स्थानीयको चाहना प्राकृतिक कारण अन्यौलमा परेको छ । सडक निर्माण अभियानमा सबभन्दा जटिल मेहनत परेको छ चट्टानी भिर फुटाएर सडकमा झार्नु ।

मकवानपुरको कैलाश गाउँपालिका–५ र गाउँपालिका जोड्ने सडक चट्टानका कारण अलपत्रमा परेको हो । वडा–५, गोगने र गाउँपालिका–कालिकाटार जोड्ने सडकका लागि आर्थिक वर्ष २०७४÷७५ मा ९८ लाख बजेट विनियोजन गरिएको थियो ।

गाउँपालिकाले गाउँपालिका जोड्न २ वटा उपभोक्ता समिति गठन गरी गोगने–कालिकाटार सडक निर्माण उपभोक्ता समिति गोगने खण्ड अध्यक्ष कालु ढकाल र कालिकाटार–गोगने सडक निर्माण उपभोक्ता समिति कालिकाटार खण्ड अध्यक्ष श्रीदास रिजाललाई जिम्मा दिएको थियो । ढकाल र रिजालले ४९÷४९ लाखमा ३÷३ किलोमिटर खन्ने सम्झौता गर्नुभएको थियो ।

वडा–३, कात्तिकेबाट ५ सय मिटर खन्ने बित्तिकै कडा चट्टान देखाप¥यो । कडा चट्टानमा लगातार ब्रेकरले खन्न बाध्य भएपछि सोचेअनुसार सडक निर्माण गर्न नसकिएको कालिकाटार गोगने सडक निर्माण उपभोक्ता समिति कालिकाटार खण्ड अध्यक्ष रिजालले बताउनुभयो ।
रिजालले ३८ लाख ५८ हजार तिर्न बाँकी रहँदा कामको आधारमा गाउँपालिकाले ३५ लाख ४९ हजार ६ सय ३० रुपियाँमात्र दिएको बताउनुभयो । ‘बाँकी रकम कसरी तिर्ने भनेर हामी चिन्तित छौं,’ उहाँको दुःखेसो छ ।

वडा नम्बर–५ र ६ का बसिन्दालाई गाउँपालिकासम्म जान सडक नभएका कारण एक दिन लगाएर जानुपर्ने बाध्यता छ । यस्तो बाध्यता हटाउन करिब करिब १ करोेड लागतमा सडक खन्न शुरु गर्दा हाल ३ किलोमिटर मात्र खनिएको छ ।

गोेगने–कालिकाटार सडक निर्माण उपभोक्ता समिति गोगने खण्ड अध्यक्ष ढकालले भन्नुभयो–वडा नम्बर–५ पिङडाँडादेखि ३ किलोमिटर सडक निर्माण गर्न सम्झौता गरिए पनि कडा चट्टान कारण सोहीअनुसार सडक निर्माण गर्न सकेनौं । उहाँले थप्नुभयो–प्राविधिकले गाउँपालिका जोड्दासम्म ५÷७ मिटर जतिमात्र चट्टान पर्छ भनेसँगै सडक सोहीअनुसार बजेटमा खन्न शुरु ग¥यौं, तर ७ सय मिटर सडक खन्ने बित्तिकै कडा चट्टान देखा परेपछि ब्रेकर लगाउन बाध्य भयौं । ढकालले १ हजार ७ सय मिटर खन्दासमेत ब्रेकर नै लगाइरहेको बताउँदै कडा चट्टानका कारण तीव्रगतिमा सडक निर्माण गर्न नसकेको जिकिर गर्नुभयो ।

गाउँपालिकाका इञ्जिनियर महेश केसीको भनाइअनुसार गोगने खण्डबाट १ हजार ५ सय ९० मिटर र कालिकाटार खण्डबाट १ हजार ७ सय २० मिटर सडक निर्माण भएको छ । मूल्यांकनअनुसार धेरै कडा चट्टान निस्केका कारण सडक निर्माणमा समस्या परेको उहाँले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष टंक मोक्तानले जनतालाई प्रत्यक्ष लाभ पुग्ने र तुरुन्त फाइदा लिनसक्ने बाटो प्राथमिकतामा दिनुपर्ने बताउँदै यसको विकल्पका रुपमा मनहरी–सरिखेत–भार्ता–गोगने रहेको बताउनुभयो । प्रदेश सरकारबाट १ करोड ५० लाख बजेट परेको जानकारी गराउँदै उहाँले वडा–५ र ६ का वासी गाउँपालिकासम्म जान एक दिन लाग्ने र गाडीमा चढेर गाउँपालिकासम्म जाने सपना यस वर्ष पनि अधुरो रहने भएकोमा दुःख व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्