अवैधानिक पटके उठाउँदै इन्द्रसरोवर



नेपाल समाचारपत्र, काठमाडौं
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले अबैधानिक रुपमा पटके कर उठाउँदै आएको पाईएको छ । गाउँपालिकाले बल्खुबाट– कुलेखानी–हेटौँडा हुँदै विभिन्न भेगमा गुड्ने सवारीलाई अबैधानिक रुपमा पटके कर उठाइरहेको प्रमाण भेटेको हो ।

गाउँपालिकाको गाउँ सभाले सडकमा वर्षातका कारण पहिरो खस्ने खस्ने र त्यस्को रेखदेख गर्न भन्दै अपनाउनुपर्ने सामान्य प्रकृया समेत नअपनाई अबैध तरिकाले पटके उठाईरहेको छ । पटके उठाउँदा अनिबार्य रुपमा खुला प्रतिस्पर्धा गरेर टेन्डर प्रकृयामा जानु पर्ने हुन्छ । तर यहाँ गाउँपालिका आफैँले २ जनालाई सडकमा खटाएर पटके अशुलिरहेको छ ।

गाउँपालिकाले सरसफाई तथा मर्मत सम्भावर सेवा शुल्क शिर्षक दिई फाखेलमा सवारी रोकी पटके उठाईरहेको हो । कर उठाउने स्थानमा कर उठाउने ठाउँ भनेर स्पष्ट लेखेको बोर्ड समेत राखेको छैन । बाटोमा दुई जना बिल लिएर गाडि रोक्दै पैसा उठाउने गर्दछ । गाउँपालिकाको छाप स्पष्ट देखिने रातो बिल प्रयोग गरिएको छ ।

फाखेल हुँदै राजधानी भित्रिने र बाहिरिने दुबैलाई पटके अशुल्छ । असार १७ बाट उठाउन थालेको पटके शुल्क सबै प्रकारको सवारीलाई २५ रुपियाँ कायम गरेको छ । दक्षिणकाली–छैमले– सिस्नेरी–कुलेखानीको बाटो १० मिटरको चौडा भैरहेकोले त्यस रुटमा गुडिरहेको सवारीलाई दक्षिणकाली–हुमाने–फाखेल–कुलेखानी डाइभर्सन गरिएको छ ।

सधैँ झैँ सवारी नचल्ने यस रुटमा डाइभर्सन गरेर सवारीको चाप बढेसँगै गाउँपालिकाले पटके उठाउन थालेको हो । यस अघि तत्कालिन जिल्ला विकास समिति अन्तर्गत एसआरएनपीपी नामक सँस्थाले बनाईदिएको यो सडक अहिलेसम्म सडक विभाग मातहत आइपुगेको छैन । गाउँपालिकाले सडक बनाईदिएको मात्रै तर मर्मत सम्भारमा राज्यको बजेट नपर्ने भएको भन्दै सडक मर्मतका लागि पटके उठाउन थालेको जनाएको छ ।

गाउँपालिका अध्यक्ष जिवन लामाले पटके कर गाउँसभाबाट निर्णय भई गाउँपालिकाको आम्दानी बढाउन नभई सडकबाट उठेको रकम सडकमै मर्मतका लागि खर्च गर्न रहेको दाबी गर्नुभयो । ‘गाउँसभाबाट निर्णय गरेर गाउँपालिकाले पटके उठाउँन थालेको हो । यसमा गाउँपालिकाको आम्दानी बढाउन नभई सडकको मर्मत सम्भारमै खर्च गर्ने गरी हामीले सोचेका छौँ,’ गाउँपालिका अध्यक्ष लामाले भन्नुभयो ।

वर्षात सुरु भैसकेकोले सडकमा पहिरो खस्दा यात्रुहरु घण्टौँ जाममा परेर दुःख भोगिरनु परेकोले यसलाई तत्काल सहज पार्न कोषको आवश्यकता परेको भन्दै हतारमा प्रकृया नपु¥याई पटके लगाएको उहाँले बताउनुभयो । ‘अब साउनदेखि प्रकृया पु¥याएरै पटके व्यवस्थित रुपमा उठाईन्छ,’ उहाँले भन्नुभयो–‘असार मसान्त सकिनै लागेकोले प्रकृया थालेनौँ । आर्थिक वर्ष सुरु हुने वित्तिकै प्रकृया थाल्ने भनेर यस्तो गरिएको हो ।’

गाउँपालिकाले साउन १ गतेदेखि लागु हुनेगरी हल्का सवारीलाई ३०, मिनिट्रकलाई ४०, ट्रकबसट्रिपरलाई ५० रुपियाँ पटके कायम गर्ने योजना बनाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले जिल्ला समन्वय समिति मकवानपुर अन्तर्गतको सडक रेखदेख गर्न गाउँपालिकालाई जिम्मा दिईएकोले त्यसका लागि कोष जुटाउन कर उठाएको आफूसँग जानकारी भएको बताउनुभयो ।

७ सय सुमो दर्ता भएकोमा दैनिक ५ सय सुमो संचालन हुन्छ । ३७ ओटा सुमो व्यवसायी कम्पनी संचालित छ । हाल बल्खुबाट कुलेखानी हेटौँडाहुँदै विरगंज, कलैया, चन्द्रनिगाहापुर, निजगढ, लालबन्दि, बाग्मती, सर्लाही र गौर पुग्छ ।

 

प्रतिक्रिया दिनुहोस्