सडकका २ सय ७७ वटा योजना पूरा



नेपाल समाचारपत्र, हेटौंडा
हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेका सडक निर्माणका सबै योजनाको काम सकिएको छ । उपमहानगरले चालु आर्थिक वर्षमा २ सय ७७ वटा सडक निर्माण योजना सञ्चालन गरेकोमा सबै सडक निर्माण काम सकिएको हो ।

वहुवर्षीय सडक निर्माणका योजना, ठेक्का लगाइएका योजना बाहेक योजनाहरु निर्माण काम सकिएको हेटौंडा मेयर हरिबहादुर महतले बताउनुभयो । चालु आर्थिक वर्षमा सकिएका २ सय ७७ वटा सडकमध्ये सबैजसो काम सकिएर रकमसमेत भुक्तानीमा लगिएको मेयर महतले बताउनुभयो ।

स्थानीय सडक, साना पुल निर्माणबाट नगरका सात हजार जना लाभान्वित भएको मेयर महतले दाबी गर्नुभयो । उपमहानगरले ती सडकका लागि १८ करोड ३ लाख ८९ हजार खर्च गरेको छ । कुल लागत इस्टिमेट रकम २४ करोड ९ लाख ६७ हजार रहे पनि १८ करोड उपमहानगरपालिकाले खर्च गरेर उपभोक्ताको लागत सहभागितामा काम गरिएको हो । सबै सडक निर्माणका लागि स्थानीय उपभोक्ताले जनश्रमदानबापत् २ करोड ४४ लाख ५२ हजार ६ सय २२ रुपियाँ स्थानीय उपभोक्ताले खर्च गरेका छन् ।

विकास निर्माण कामहरु वर्षा सुरु भएपछि गर्ने प्रचलन अन्त्य गर्दै वैशाखसम्म सक्ने योजनाअनुसार काम दु्रतगतिमा अगाडि बढाइएकाले समयमा काम सक्न सफल भएको मेयर महतले बताउनुभयो । असार लागेपछि विकास निर्माण योजना सम्झौता गर्ने र हतारमा काम सक्ने परिपाटी अन्त्य गर्न चालु आर्थिक वर्षको कार्तिक÷मंसिरबाट विकास निर्माण सुरु गरिएकोले वर्षा अगाडि काम सकिएको उहाँको भनाइ छ ।

उपमहानगरले साना÷ठूला, स्ल्याब ढलान, कालोपत्रे, सडक ग्राभेल गर्ने कामलगायत चालु आर्थिक वर्षमा काम सम्पन्न भएका सबै योजनाका रकम उपभोक्ता समितिलाई भुक्तानी दिएको छ । कामको सम्पन्नता लिनेबित्तिकै रकम निर्माण कम्पनी र उपभोक्ता समितिलाई भुक्तानी गरिएको उपमहानगरले जनाएको छ ।

उपमहानगरले सडक निर्माणको कामसँगै अरु विविध योजनाका काम पनि सकिसकेको छ । नगरको कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, खानेपानी, सँस्कृति प्रवद्र्धन, लंैगिक समानता तथा सामाजिक समावेशीकरण, सिचार्इं, भवन तथा शहरी विकास, बन तथा भुसंरक्षण, वातावरण संरक्षण जलवायु परिवर्तन, फोहोरमैला ब्यवस्थापन, वडा कार्यालयको भवन निर्माण तथा स्तरोन्नति काम, विविध निर्माण, ठेक्काको काम, ह्युमपाइप उपलब्ध गराउने कामलगायत क्षेत्रका काम सकिएको मेयर महतको भनाइ छ । सबै योजनामा ५ सय ७५ वटा योजना चालु आर्थिक वर्षमा सञ्चालन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्