नेपाली साहित्यमा लैंगिक हिंसा



-कपिल काफ्ले
नेपाली साहित्य भनेर यहाँ ‘लिटरेचर’को कुरा गर्न लागिएको हो । नेपालीमा सामान्यतः कथा, कविता, उपन्यास, यात्रास्मरण, निबन्ध, जीवनी आदिलाई मात्र साहित्य भनिन्छ भने अंग्रेजीमा ‘लिटरेचर’ भित्र सबै प्रकारका आलेख तथा प्रकाशित–प्रसारित सामग्री पर्दछन् । ‘रिसर्च’ वा शोधका लागि ‘लिटरेचर’को अध्ययन गर्दा नेपाली अर्थ मात्र बुझियो भने काम लाग्दैन । ‘कृषिमा आधुनिक विषादीको असर’ विषयमा शोध गर्नेले नेपाली अर्थको ‘लिटेरेचर’ पढेर ग्रन्थ तयार पार्न थाल्यो भने के काम लाग्ला ? विचराको शोध नै पूरा हुँदैन ।

नेपाली अर्थमै अडिएर नेपाली साहित्यमा लैङ्गिक हिंसाको स्थिति के छ भनेर विश्लेषण गर्न नसकिने भने होइन । आदिकवि भानुभक्त आचार्यको वधुशिक्षा, सरदार रुद्रराज पाण्डेको रुपमती, मदनमणि दीक्षितको माधवी आदिमा जसरी महिलालाई प्रस्तुत गर्ने गरिएको थियो, पछिल्लो समयमा त्यसमा परिवर्तन आएको छ ।

५० वर्षअघिदेखि नै महिलालाई सशक्त, सबल, विद्रोही र सामाजिक वा राजनीतिक नेतृत्वमा ल्याउने किसिमले पनि नेपाली भाषामा साहित्य सिर्जना भएका छन् । हृदयचन्द्रसिंह प्रधानको स्वास्नीमान्छे, विश्वेश्वरप्रसाद कोइरालाको सुम्निमा वा तीनघुम्ती आदि कृति त्यसका उदाहरण हुन् ।

नेपाली साहित्यमा महिलालाई हेर्ने दृष्टिकोणमा देखिएको संक्रमण बुझ्नका लागि ‘माधवी’ कृति सहज हुनेछ । किनभने महाभारतको कथा ‘माधवी’का आधारमा नेपाली साहित्यकार मदनमणि दीक्षित र भारतीय लेखक भीष्म साहनीले बेग्लाबेग्लै उपन्यास लेखेका छन् । नेपाली ‘माधवी’ परम्परागत सामन्ती चिन्तनकी छे भने भारतीय ‘माधवी’मा विद्रोही भावना छ ।

‘जेसी’ आजको माग मात्र नभएर आवश्यकता पनि हो । यस आवश्यकतालाई पहिचान नगर्ने पुरस्कारले कुनै पनि साहित्यिक सिर्जनाको सही सम्मान गर्न सक्तैन । लैङ्गिक समानताभित्र पुरुष सहभागितालाई प्रवद्र्धन गर्ने कृति पुरस्कृत हुन सके यसले समाजमा आयामिक प्रभाव छोड्ने निश्चित छ ।

पहिली निरीह लाग्छे भने दोस्रोमा धार्मिक र सामाजिक विभेदले महिलालाई पोलेको घाउप्रति आक्रोश छ । कृष्ण धरावासीको राधा यस्तै सटीक उदाहरण हो । पौराणिक कालकी पात्रा राधामा सामन्ती चिन्तनलाई चिर्ने प्रकाश–पुञ्ज देखिन्छ । प्रतिभा रेको ‘द्रौपदी’ पढेर प्रसन्न हुनेमध्येकी एक अधिकारकर्मी अमृता लम्साल भन्नुहुन्छ, ‘साहित्यिक सिर्जनाका लागि पात्र जहाँबाट पनि लिन सकिन्छ, त्यसलाई कस्तो दृष्टिकोण दिने, कुन चेतनाको स्तर प्रदान गर्ने र समाजलाई कस्तो सन्देश प्रवाह गर्ने, त्यो लेखकको अवधारणा हो ।

पछिल्लो समयमा महिलालाई सशक्त र सचेत पात्राको रुपमा प्रयोग गरिएका राम्रा कृतिहरु पढ्न पाइएका छन् । पछिल्लो मैले पढेको कृतिमा डा. अर्चना थापाको कठपुतला निकै स्तरीय कृति हो ।’ आफैं पनि निकै सशक्त लेखिका रहेकी लम्सालको दृष्टिमा निहारिका कार्कीको चीरहरण लैङ्गिक हिंसाविरुद्धको यस्तै अर्को सशक्त रचना हो ।

प्राज्ञ डा. ज्ञानु पाण्डे पुरुषभित्रको नारीत्व र महिलाभित्रको पुरुष चिन्तनलाई उजागर गरेर साहित्यिक सिर्जना गर्ने÷गराउने अभियानमा लाग्नुभएको छ । प्रज्ञा प्रतिष्ठानको समालोचना विभागका प्रमुख भएपछि पाण्डेले नारी दिवस मनाउने र साहित्यमा लैङ्गिक समानताको सवाल उठाउन अभिप्रेरित गर्ने प्रयोजनका लागि संगोष्ठी सञ्चालन गर्ने कार्यको नेतृत्व लिँदै आउनुभएको छ । अहिलेको साहित्यमा लैङ्गिक समानताको सवाल दुई थरी दृष्टिकोणका साथ प्रस्तुत हुने गरेको उहाँको विश्लेषण छ ।

लैङ्गिक समानतालाई अधिकारका रुपमा लिने, नाराका रुपमा उठाउने र माग पूरा गराउन सडकमा उत्रेर आन्दोलन चर्काउने दृष्टिकोणलाई एकथरी साहित्यले उठाएको छ भने अर्को थरीले यस सवाललाई मानवीय समस्याका रुपमा लिएका छन् । ‘हामी लैङ्गिक समानताको सवाललाई नाराभन्दा पनि व्यावहारिक र मानवताको दृष्टिले उठाउँछौं’, एकेडेमीबाट नारी–पुरुष अन्तरअस्तित्व र साहित्यमा यसको प्रभाव शीर्षकको पुस्तक प्रकाशनको संयोजन गर्दै रहेकी डा. पाण्डेले भन्नुभयो, ‘नारी–पुरुष जैविकरुपमा भिन्न भए पनि विवेक र व्यवहारमा उनीहरु भिन्न छैनन्, पितृसत्तात्मक चिन्तनले मात्र समाजमा यस प्रकारको भिन्नता देखिएको हो, जो साहित्यकारहरुमा पनि देखिन्छ ।

साहित्यकारहरुले पढौं–पढौं जस्तो पारेर लैङ्गिक समानताको सवाल पस्किन सके, चित्त बुझ्दो प्रस्तुति गरे र पुरुषभित्रको नारीत्व जगाउन सके भने महिलाविरुद्ध हुने लैङ्गिक विभेदका विरुद्ध उभिनेहरु महिला मात्र हुने छैनन्, त्यस जमातमा पुरुष पनि सरोबरी देखिनेछन्, जो पछिल्लो समयमा बिस्तारै देख्न पनि थालिएको छ । समानताको अवधारणा नेपालमा बाहिरबाट आयो, आन्तरिक परिवेशबाट यसको विकास हुन सकेको भए लैङ्गिक समानताको विषय नारा बढी र व्यवहार कमको स्थितिमा देखिने थिएन भन्ने विश्लेषण पाण्डेको छ ।

साहित्यकार देविका तिमिल्सिनाको कथा संग्रह ‘पृथ्वी आफ्नै कक्षमा घुमिरहेछ’ हालै प्रकाशित कृति हो । १७ कथाको यस सँगालोमा अधिकांश कथाले लैङ्गिक समानताको सवाल उठाएका छन् । पुरुष भएर तपाईंले महिलाको पक्षमा कलम चलाउनुपर्ने आवश्यकता किन देख्नुभयो भनेर तिमिल्सिनालाई सोध्दा उहाँ भन्नुहुन्छ, ‘मैले सामाजिक क्षेत्रमा जति पनि काम गरें, महिलाहरुमाथि यत्रतत्र विभेद भएको पाएँ, उनीहरुलाई सोध्दै नसोधी उनीहरुसम्बद्ध विषयमा पुरुषले निर्णय गर्ने गरेको पाएँ, अधिकारमाथि उनीहरुको पहुँच नहुने, पहुँचसम्म भए पनि नियन्त्रण नहुने अवस्थाले मलाई छोयो ।’

साहित्यकार तिमिल्सिनासँग पछिल्लो समयमा प्रकाशित उपन्यास र आख्यानमा वर्गीय चेत बढेको, महिलामाथि सम्मानसूचक पदावलीको प्रयोग हुन थालेको, उनीहरुमाथि विभेदपूर्ण व्यवहार घटेको, सामाजिक समानता र समावेशिताको अवधारणा मुखरित भएको अनुभव छ । उहाँलाई महिला लेखिकाले लैङ्गिक समानताको विषय ठीक किसिमले उठाउने तर पुरुषले विभेद गर्ने भन्ने एकथरीको धारणाचाहिँ सही लाग्दैन । प्रेमा शाह स्वयम् महिला भएर पनि महिलालाई भोग्याका रुपमा प्रस्तुत गर्ने गरेको उदाहरण उहाँसँग छ ।

अर्की कथाकार देवकुमारी थापा भने महिला भएर महिलाका पक्षमा सटीक र सकारात्मक विश्लेषण राख्नुहुन्छ, तिमिल्सिनाले उदाहरण दिनुभयो । सामाजिक तथा लैङ्गिक उत्पीडनका विषय उठाउन महिला र पुरुष जो भए पनि फरक पर्दैन, फरक केवल चेतनाको स्तरले पार्छ, सचेत पुरुष छ भने उसले लैङ्गिक तथा सामाजिक न्याय दिन्छ । पछिल्लो समयमा यस्ता सचेत लेखक बढ्दै गएका छन् ।

यी हरफ लेखिरहँदा २०७५ सालका लागि मदन पुरस्कार प्राप्त हुन सक्ने पुस्तकहरुको चर्चा भइरहेको छ । तर, स्तरीयताको कसीमा लैङ्गिक तथा सामाजिक समानताको आधार स्वीकार गरिन्छ कि गरिन्न, भन्न सकिन्नँ । २०७५ सालमा प्रकाशित तीन सयभन्दा बढी पुस्तकमध्ये मदन पुरस्कार गुठीले श्रेष्ठ सूचीमा ८ पुस्तकको नाम सार्वजनिक गरेको छ ।

गुठीको सूचीमा ध्रुवसत्य परियारको कथा संग्रह ‘कैरन’, सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’, तीर्थ गुरुङको उपन्यास ‘पाठशाला’, यज्ञशको रिपोर्टाज ‘भुइँया’, नयनराज पाण्डेको मित्र स्मरण संग्रह ‘यार’ र निलम कार्की ‘निहारिका’को ऐतिहासिक उपन्यास ‘योगमाया’ परेका छन् । यसै गरी, राज माङलाकको कविता संग्रह ‘लिम्बुनी गाउँ’ र माओवादी नेता, मोहन वैद्य ‘किरण’को दर्शन संग्रह ‘हिमाली दर्शन’ पनि उत्कृष्ट ८ को सूचीमा समाविष्ट छन् ।

यस सूचीमा महिला भएकै कारण पीडामा पर्नुपरेको कथा समेटेको कृति हो नथिया । यसमा एकजना बदिनीको कथालाई आख्यानात्मक रुप दिइएको छ । कवितात्मक भाषा र विम्बात्मक प्रस्तुतिले कृतिलाई समृद्ध बनाएको पाठकहरुको विश्लेषण छ । त्यस्तै, निलम कार्की निहारिकाको ‘योगमाया’ पनि नारीवादी कृति हो । निहारिकाले यो पुस्तक लेख्नुअघि योगमायाको गाउँमा पुगेर अध्ययन गरेको जानकारी सामाजिक सञ्जालहरुबाट पाइएको थियो ।

यस विषयमा उनले वृत्तचित्रसमेत निर्माण गरेकी छन् । यसै गरी, नामैले भन्न सकिन्छ, ‘लिम्बुनी गाउँ’मा पनि नारी पक्ष समेटिएको हुन सक्छ, तर यसलाई पढ्नेहरु लेखकले पाएको छैन ।
मुलुकमा राजनीतिक परिवर्तनले ल्याएको चेतनाको पहिचान हुने गरी साहित्यिक कृतिहरु पुरस्कृत हुनुपर्छ । लैङ्गिक समानता तथा सामाजिक सहभागिता ‘जेसी’ आजको माग मात्र नभएर आवश्यकता पनि हो ।

यस आवश्यकतालाई पहिचान नगर्ने पुरस्कारले कुनै पनि साहित्यिक सिर्जनाको सही सम्मान गर्न सक्तैन । लैङ्गिक समानताभित्र पुरुष सहभागितालाई प्रवद्र्धन गर्ने कृति पुरस्कृत हुन सके यसले समाजमा आयामिक प्रभाव छोड्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्