अझै फोहर उठेन राजधानीवासी सकसमा



ईश्वरराज ढकाल, काठमाडौं
उपत्यकाको एक मात्र फोहोर व्यस्थापन गर्ने सिसडोल ल्यान्डफिल साइटको प्रवेश गर्ने बाटो भासिएका कारण उपत्यकाको फोहोर केही दिन अझै नउठ्ने भएको छ । वर्षात्का कारण दुई सातादेखि राजधानीको फोहोर व्यवस्थापन हुन सकेको छैन ।

उपत्यकाको सडक गल्लीमा फोहोरको डंगुर थुप्रिएको छ । अधिकांश वटुवा नाक थुनेर हिँड्न बाध्य भएका छन् । फोहोरकै कारण राजधानीमा हैजा फैलन सक्ने खतरा बढेको छ ।

सिसडोल प्रवेश गर्ने बाटो बिग्रिएको कारण फोहोर व्यवस्थापन गर्न नसकिएको कामपा वातावरण विभागले जनाएको छ । फाहोर उठिरहेको दाबी गरे तापनि दुई हप्ता यता दैनिक ५ ट्रकभन्दा बढी फोहोर व्यवस्थापन हुन सकेको छैन । कामपाले घरमै फोहोर व्यवस्थापन गर्न राजधानीवासीलाई अपिल गरेको छ । चिकित्सकहरुले अहिलेको अवस्था केहीदिन रहे राजधानीमा हैजा फैलन सक्ने चेतावनी दिएका छन ।

अहिले उपत्यकाका १८ स्थानीयसहित बनेपा नगरपालिका र ककनी गाउँपालिका गरी २० स्थानीय निकायको फोहोर सिसडोलमै व्यवस्थापन हुने गरेको छ । सिसडोल ल्यान्डफिल साइटमा काठमाडौ र ललितपुर महानगरपालिका, चन्द्रागिरी, दक्षिणकाली, नगरकोट, सूर्यविनायक, बूढानीलकण्ठ, कीर्तिपुर, शंकरापुर, नागार्जुन, कागेश्वरी मनहरा, गोकर्णेश्वर, तारकेश्वर, चाँगुनारायण, मध्यपुर थिमी, महालक्ष्मी, टोखा, गोदावरी नगरपालिकाको फोहोर व्यवथापन हुने गरेको छ ।

फोहोरका कारण राजधानीमा हैजा फैलनसक्ने चिकित्कसहरुको चेतावनी

कÞरिब ५० मिटर उचाइसम्म फोहोर माथि नै निर्माण गरेको सिसडोल ल्यान्डफिल साइटको प्रवेश मार्ग वर्षात् र फोहोरको अत्यधिक भारले भासिएको छ ।

‘कहिले बोरा हाल्दै त कहिले ग्राबेल बिच्छ्याउँदै फोहोर व्यवस्थापन गर्ने गरेका छौं’ –कामपाका सहप्रवक्ता नमराज ढकालले भनुभयो । उहाँका अनुसार उपत्यकाको फोहोर व्यवस्थापन हुन अझै केही दिन लाग्नेछ । फोहोरको कारण टेकु ट्रान्सफर स्टेसन भरिभराउ छ भने टेकु क्षेत्र दुर्गन्धित भएपछि स्थानीयले विरोध जनाउन थालेका छन् ।

उपत्यकाको एक मात्र ल्यान्डफिल साइट भएको कारण फोहोर व्यवस्थापनमा गम्भीर समस्या पर्न थालेको कामपाले जनाएको छ । ल्यान्डफिल साइटको प्रवेशद्वारबाहेक सिसडोल जाने बाटोको करिब आधा दर्जन स्थानमा खाल्डो परेको छ । कामपाले आंशिक रुपमा केही मुख्य सडकको फोहोर व्यवस्थापन गरे पनि निजी क्षेत्रले फाहोर उठाउन सकेको छैन ।

कामपा सहसचिव ईश्वरचन्द्र मरहठ्ठा, वातावरण विभाग प्रमुख हरि कँुवर र इन्जिनियर रवीन्द्र राईसहितको टोली सिसडोल पुगेको थियो । टोलीले स्थलगत अवलोकन गरेपछि अझै केही दिन फोहोर व्यवस्थापन गर्न कठिन हुने जनाएको थियो ।

‘फोहोरबाटै निर्माण भएको बाटोमा ढलान र पिच गर्न नमिल्ने भएकाले वर्षात्मा फोहोर व्यवस्थापन गर्न समस्या भएको हो’ –कामपा वातावरण विभाग प्रमुख हरि कुँवरले बताउनुभयो । माटो र ग्राबेलबाट बाटो बनाउनुपर्ने, वर्षा हुनासाथ भत्किने गरेपछि फोहोर व्यवस्थापन गर्न नसकिएको उहाँको भनाइ छ ।

हाल २ महानगरसहित २१ स्थानीय निकायबाट दैनिक १ हजार १ सय टन फोहोर व्यवस्थापन हुने गरेको छ । काठमाडौ महानगरपालिकाको ५ सय, ललितपुरको करिब ३ सय र बाँकी अन्य नगरपालिकाको फोहोर सिसडोल ल्यान्डफिल साइटमा व्यवस्थापन हुने गरेको छ । सरकारले बन्चरेडाँडा ल्यान्डफिल साइट निर्माण नगर्दा समस्या भएको हो ।

पूर्वाधार निर्माण शुरु गरेको बन्चरे ल्यान्डफिल साइटमा डेढ वर्षदेखि कुनै काम भएको छैन । सरकारले जापान सहयोग नियोग (जाइका) को सहयोगमा २०६२ सालमा निर्माण गरेको सिसडोल ल्यान्डफिल साइटको क्षमता सकिइसकेको छ । २ वर्षको क्षमता रहने गरी निर्माण गरेको सो ल्यान्डफिल साइटको विकल्पका रुपमा रहेको बन्चरे निर्माण गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्