प्रियंका पारिश्रमिकसँगै मुनाफा लिनेमा बलिउडमै पहिलो



बलिउड फिल्म नगरीमा यस्ता स्टार कलाकार पनि छन्, जो पारिश्रमिकबाहेक फिल्मले कमाएको मुनाफाको हिस्सा पनि लिने गर्दछन्। यो लिस्टमा हालसम्म पुरुष स्टार कलाकारको नाम मात्र थियो। अब भने यो लिस्टमा महिला स्टार कलाकारको नाम पनि दर्ता हुने भएको छ।

ती स्टार हुन् प्रियंका चोपडा। भारतीय सञ्चारमाध्यमका अनुसार प्रियंका अब आफ्नो आगामी फिल्मबाट मुनाफाको हिस्सा पनि लिनेछिन्। बलिउडमा सलमान खान यस्ता अभिनेता हुन्, जो फिल्मबाट चर्को पारिश्रमिकका साथ फिल्मको कमाइबाट भएको फाइदाको हिस्सा लिने गर्छन्।

यो मामलामा बलिउडमै उनको नाम सबैभन्दा अगाडि छ। सलमान खानको ब्रान्ड भ्यालु सर्वाधिक बढी मानिन्छ। किनभने उनको नामबाटै फिल्मले कमाउने गर्छ र हिटको व्यापार गर्ने गर्छ। तर, हिरोइनको कुरा गर्ने हो भने बलिउडमा यस्तो कहिल्यै भएको थिएन कि फिल्मको फाइदाबाट समेत हिस्सा मागोस् वा मुनाफा शेयर गरोस्।

समाचारमा जनाइएअनुसार प्रियंका अली अब्बास जफरको फिल्म भारतको हिस्सा बन्नका लागि विदेशबाट भारत फर्केकी छिन्। यस फिल्ममा उनका साथ सलमान खान पनि देखिने छन्। त्यसबाहेक प्रियंका सोनाली बोसको अर्को फिल्ममा देखिने छिन्। यी दुवै फिल्मलाई लिएर प्रियंकाले हाल बलिउडमा चर्चा कमाइरहेकी छिन्।

प्रियंका चोपडालाई बलिउडमा यस कारण सेल्फमेड भनिन्छ कि उनी कुनै फिल्मी ब्याक राउन्डबाट आएकी थिइनन् र उनले बलिउडबाट हलिउडको यात्रासमेत एक्लै तय गरेकी थिइन्। प्रियंकालाई उनको सशक्त अभिनय क्षमताले नै सबैभन्दा अलग बनाउँदै आएको छ। उनी बलिउडका दर्जनौं फिल्मबाट छाएकी छिन् भने हलिउड सिरिज क्वान्टिकोबाट आफ्नो छुट्टै नाम बनाएकी छिन्।

प्रतिक्रिया दिनुहोस्