काठमाडौंमा पनि अम्रिसोको व्यावसायिक खेती



टीका बन्धन, काठमाडौं
पशुपालन र दूध उत्पादनका लागि कहलिएका जिल्लाहरुमा प्रशस्तै देखिने हिउँदे घाँस अम्रिसो (अम्लिसो) खेती काठमाडौंमा पनि शुरु गरिएको छ । यही वर्षायाममा करिव ४ सय रोपनी क्षेत्रमा अम्रिसो रोपिँदै छ ।

काठमाडौं जिल्ला वन कार्यालयको पहलमा उपत्यकाका पाखो र भिरालो जमिनमा अम्रिसो खेती शुरु गरिएको हो । काठमाडौंका शंखरापुर नगरपालिका–२ र ४ वडा (साविकका नाङ्लेभारे, लप्सीफेदी गाविस) मा करिव १ सय ५० रोपनीमा ७५ हजार गाना अम्रिसोका बिरुवा (गाना) रोपिएको छ ।

सो क्षेत्रका खम्बोडाँडा र कुसुम सामुदायिक वन समूहले पनि ५ हजार गाना बिरुवा रोपेका छन् । शंखरापुरमा अम्रिसो रोपिएको ९० प्रतिशतभन्दा बढी क्षेत्र व्यक्तिको नाममा दर्ता भएको तर प्रयोगविहीन बाँझो जमिन हो, बाँकी पर्ती जग्गा हो । केही दिनभित्रैमा थानकोट, नागढुंगा र धादिङतर्फ करिब २ सय रोपनी क्षेत्रमा अम्रिसो रोप्ने तयारी गरिएको काठमाडौंका जिल्ला वन अधिकृत रामबाबु पौडेलले जानकारी दिनुभयो ।

‘नाङ्लेभारे र लप्सीफेदीमा बिरुवा रोपिसकियो, २/४ दिनभित्रैमा थानकोट, नागढुंगासहित काठमाडौंसँग जोडिएको धादिङका पाखामा समेत १ लाख २५ हजार गाना रोपिँदै छ’ –उहाँले भन्नुभयो । पौडेलका अनुसार अम्रिसोका बिरुवा पाल्पाबाट झिकाइएको हो । मुलुकको पूर्वी भेगका अधिकांश पहाडी जिल्लामा वर्षौं अघिदेखि व्यावसायिक रुपमा अम्रिसो खेती हुँदै आएको छ । केही वर्षयता पाल्पा, नवलपरासी, तनहुँ र आसपासका जिल्लामा पनि यसको खेती फराकिलो बनेको छ ।

वनमारा र अन्य मिचाह वनस्पतिले ढाकेका पाखो र भिरालो जमिनमा समेत राम्रोसँग हुर्किने, खासै गोडमेल गर्नु नपर्ने, सुख्खायाममा सिँचाइ गर्नु नपर्ने भएकाले अम्रिसोबाट दिगो आम्दानी लिन सकिन्छ । खुख्खा, रोडा र मोटो मिसिएको गेग्¥यान जमिन र अन्य बाली राम्रोसँग नसप्रिने क्षेत्रमा समेत अम्रिसो हुर्कन्छ । यो वनस्पतिले रुखो र सुख्खा डाँडापाखालाई छोटो अवधिमा हरियाली बढाउँछ । कुचो र हिउँदे घाँसका लागि कहलिएको गैरकाष्ठ वनस्पति एकपटक रोपेपछि वर्षांैसम्म दिगो आम्दानी लिन सकिन्छ ।

भू–क्षय नियन्त्रणका लागि निकै उपयोगी यो वनस्पतिको डाँठ दाउरा, तरकारी बालीका थाङ्ग्रासँगै करेसाबारी बारबेरमा प्रयोग हुने गर्छ । अम्रिसोको डाँठबाट निकै गुणस्तरीय कागज उत्पादन हुने पुष्टि भए पनि नेपालले त्यस्तो लाभ लिन नसकेको विज्ञहरु बताउँछन् । यस्तै बहुउपयोगी विशेषताका कारण आफ्नो क्षेत्रमा अम्रिसो रोप्ने तयारी गरिएको काठमाडौं र धादिङको सीमावर्ती क्षेत्र भीमसेनथान पाखोका स्थानीय गोविन्द लामाले बताउनुभयो । ‘एक पटक रोपेपछि वर्षौंसम्म आम्दानी गर्न सकिने अनि हाम्रो जस्तो भिरालो पाखोमा राम्रोसँग हुर्किने, बढ्ने भएकाले अम्रिसोको व्यावसायिक खेती गर्ने तयारी गरेका हौं’ –उहाँले भन्नुभयो ।

काठमाडौं र आसपासका बाँझो जमिनमा अम्रिसो खेती बढाउन सकिए कुचो बिक्रीबाट आम्दानी बढाउँदै उपत्यकामा पोसिलो हिउँदे घाँसको अभाव टार्न सकिने काठमाडौंका वन अधिकृत पौडेल बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘कुचो मात्र होइन, घाँस बेचेर पनि राम्रो आम्दानी गर्न सकिन्छ, पूर्वी पहाडी जिल्लामा अम्रिसोले कृषकको जीवनस्तर सुधारेका उदाहरण पर्याप्त छन् ।’ दूध उत्पादनको पटक क्षेत्र ललितपुर, काभ्रे, धादिङ, चितवनलगायतका जिल्लामा काठमाडौंको अम्रिसो घाँस पठाउन सकिने उहाँको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्