बेल्जियमसँग हारको बदला लिने दाउमा इंग्ल्याण्ड



कविरस शर्मा, (नेस)
जारी विश्वकपमा बेल्जियम र इंग्ल्याण्ड दोस्रो पटक आमने सामने हुन लागेका छन् । विश्वकप अन्तर्गत शनिबार सेन्ट पिटर्सबर्गको क्रिस्तोभस्की स्टेडियममा तेस्रो स्थानका लागि हुने खेलमा यी दुवै स्वर्णिम युगका टोलीहरु एक आपसमा भिड्दै छन् । उक्त खेल इंग्ल्याण्डका लागि बेल्जियमसँग पछिल्लो खेलमा भोगेको पराजयको बदला लिने अवसर समेत हो ।

यसअघि जारी विश्वकप अन्तर्गत समूह जी मा परेका यी दुवै टोलीले सेमीफाइनलसम्म यात्रा गर्न सफल भएको थियो । त्यसक्रममा क्वाटरफाइनलसम्म अपराजित बनेको बेल्जियमलाई फ्रान्सले सेमिफाइनलमा १–० ले पराजित गरेको थियो । उक्त हारसँगै ३२ वर्षपछि फेरी एकपटक बेल्जियमको विश्वकप यात्रा सेमिफाइनलमा टुंगिएको थियो ।

 

उक्त नतीजाले बेल्जियमलाई विश्वकप उपाधि यात्रामा धक्का मात्र होईन, पछिल्ला २४ म्याचमा अपराजित बेल्जियमलाई फ्रान्सले पहिलो पटक हारको स्वाद समेत चखाउ सफल भयो । बेल्जियमले सन् २०१६ को अगस्तदेखि खेलेको कुनै पनि म्याचमा हार बेहोरेको थिएन ।

अर्कोतिर इंग्ल्याण्ड पनि सेमीफाइनलसम्म पुग्ने क्रममा उत्कृष्ट लयमा देखिएको थियो । समूह जी को उपबिजेताको हैसियतले नकआउट चरण पुगेका इंग्ल्याण्डले संघर्षपूर्ण खेलमा कोलम्बियालाई पाखा लगाएका थिए । त्यसपछि क्वाटरफाईनलमा स्वीडेनको चुनौतीलाई २–० ले सहजै पन्छाएको इग्ल्यान्डले सेमिफाइनलमा क्रोएसियासँग भेट पक्का गरेका थिए ।

 

जहाँ खेलको पाँचौ मिनेटमै फ्रिकिकमार्फत गोल गरेर इंगल्यान्डले सनसनी खेल पस्केका थिए । एक प्रकारले पहिलो हाफसम्म त इग्ल्यान्डले एकतर्फी रुपमा क्रोएसियालाई दवाबमा राख्दै गोलका लागि केही डरलाग्दा आक्रमणको आइरोसमेत लगाएका थिए । उक्त क्रममा जारी विश्वकपका हिट स्ट्राइकर ह्यारी केनले एकपछि अर्को गोलका अवसरलाई खेर फालेका थिए ।

जसका कारण पहिलो हाफसम्म १–० को नै अग्रतामा चित्त बुझाउन बाध्य इग्ल्यान्ड दोस्रो हाफमा क्रोएसिया सिकार बन्यो । दोस्रो हाफको सुरुदेखि नै क्रोएसियाले चुस्त प्रदर्शन गर्दै इग्ल्यान्डको डिफेन्स र गोलरक्षकलाई हम्मे हम्मे पारेका थिए । अन्ततः गोलका लागि कडा मेहनतमा लागेका क्रोएसियाले निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटभित्र दुई गोल गरेपछि इंग्ल्यान्डको केहि लागेन र सेमीफाइनलबाटै उपाधि यात्रालाई टुङ्ग्याउनु प¥यो ।

यो सँगै सन् १९६६ पछि पहिलो पटक विश्वकपको फाइनल पुग्ने इग्ल्यान्डको सपना पनि तुहिएको हो । उक्त हारपछि मिडियाको ब्यापक आलोचना खेपेका इंग्लिश टिमले निराश र हतास बनेका आफ्ना समर्थकलाई सान्त्वना दिनका लागि भएपनि बेल्जियमविरुद्ध हुने तेस्रो स्थानको खेलमा जित खोज्नेछ ।

तर यसअघि दुवै टिमका लागि महत्वपूर्ण नबनेको समूह चरणको अन्तिम खेलमा बेल्जियमले इंग्ल्याण्डलाई १–० ले माथ ख्वाएको थियो । तर उक्त खेलमा भने इंग्लिश टोलीको नियमित ११ सदस्यमा ब्यापक हेरफेर गरिएको थियो । उक्त म्याचलाई विश्लेषण गर्ने हो भने शारारिक क्षमतामा बेल्जियम हावी देखिएको थियो । त्यसैले तेस्रो स्थानको लागि हुने खेलमा बेल्जियमका अग्ला खेलाडीहरुले इंग्ल्याण्डविरुद्धको खेलमा आफ्नो उंचाईको फाइदा उठाउन सक्नेछ ।

दुइटा पहेँलो कार्डका कारण फ्रान्सविरुद्धको सेमीफाइनल गुमाएका बेल्जियमका थोमस मेउनियर भने इंग्ल्याण्डविरुद्धको खेलमा देखिने सम्भावना छ । यदि सुरुवाती ११ मा उनको उपस्थिति भएमा बेल्जियम टोलीले पुनः आफ्नो अनुकूल ३–४–३ को रणनीति अपनाउने सम्भावना छ । मेउनियरको उपस्थितिले मोस्सा डेम्बेले पुनः बेन्चमा आराम गर्नेछ । यस्तै फिटनेसका कारण दुरुस्त हुन संघर्षरत भिन्सेन्ट कोम्पानी पनि बेन्चमै बस्ने सम्भावना छ ।
यता सेमीफाइनलमा क्रोएसियाविरुद्ध फ्रिकिक मार्फत उत्कृष्ट गोल गरेका किइरान ट्रिप्पिएर भने बेल्जियमविरुद्ध देखिने छैन ।

 

खासै महत्वपूर्ण खेल नभएकोले ट्रिप्पिएरलाई सो खेलमा विश्राम दिनसक्ने प्रबल सम्भावना रहेको इंग्लिश प्रशिक्षक गेरेथ साउथले बताएका थिए । उनको स्थानमा ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले खेल्ने सम्भावना रहेको छ । यसअघिका म्याचहरुमा स्थापन्न खेलाडी बनेर मैदान प्रवेश गर्ने एरिक डायर, रुबेन लोफ्टस, फाबियन डेल्फ, ड्यानी रोज र माकर््स रास्फोर्डले भने इंग्ल्यान्डको सुरुवाती ११ मा स्थान पाउन सक्नेछ । स्ट्राइकरद्वय ह्यारी केन र माकर््स रास्फोर्ड तथा डिफेन्डर ह्यारी मागुइरेबाट बढी आशा गरिएको इंग्लिश टिम ३–१–४–२ को रणनितिमा उत्रने सम्भावना छ ।

यदि इंग्लिश टोलीले ३–४–३ को रणनीतिमा पोख्त बेल्जियमविरुद्ध ३–१–४–२ रणनीति अपनाएमा ह्यारी केन र माकर््स रास्फोर्डको आक्रमणलाई मिडफील्डरहरु ट्रेन्ट एकेजेन्डर अर्नोल्ड, फाबियन डेल्फ, रुबेन लोफ्टस र ड्यानी रोजले साथ दिनेछ । जसलाई नियन्त्रणमा राख्न बेल्जियमका डिफेन्डरहरु जान भार्तोन्घेन, टोबी एल्डरवेईरल्ड र थोमस भर्मालिनले ठूलो कसरत गर्नु पर्नेछ ।

 

जहाँ बेल्जियम गोलरक्षक थिबाउट कोर्टोइस पनि पर्खाल सरह उभिन सक्छ । यस्तै गोल्डेन बुट जित्ने होडमा अझै सम्भावना रहेका रोमेलु लुकाकुलाई सहयोग गर्न अग्रपंक्तिमा केभीन डे ब्रुयेने र इडेन हाजार्डले सहायकको भूमिका निभाउन सक्नेछ ।

 

उनीहरुलाई मिडफील्डरहरु थोमस मेउनियर, मराउने फैलाईनी, एक्सेल विट्सेल र यान्निक कारास्कोले बल उपलब्ध गराउन सक्नेछन् । जसलाई विफल पार्न इंग्लिश गोलरक्षक जोर्डन पिक्फोर्ड र डिफेन्डरहरु गेरी काहिल, फिल जोन्स र ह्यारी मागुइरेले हरसम्भव प्रयास गर्नेछ । यस्तै आवश्यकता अनुसार इंग्लिश आक्रमण र रक्षापंक्तिलाई थप सहयोगका लागि भने डिफेन्सिभ मिडफील्डर एरिक डायर तयारी अवस्थामा हुनेछन् ।

तथ्यांकमा दुवै टोली 
जारी विश्वकपको सेमीफाइनलमा फ्रान्ससँग १–० ले पराजित बेल्जियमले पछिल्लो २५ खेलमा पहिलो हार भोगेको हो । जारी विश्वकपको समूहचरणमा इंगल्यान्ड र बेल्जियम आमने सामने हुँदा इंग्ल्याण्डले जम्मा २ पटक मात्र बेल्जियमविरुद्ध शट अन टार्गेट निकालेका थिए । पछिल्ला ५ म्याचलाई हेर्ने हो भने बेल्जियमविरुद्ध मात्र गोल इंग्ल्याण्ड गर्न असफल भएको छ ।

हेड टू हेड 
जारी विश्वकपको समूह चरणमा १–० ले पराजित भएको इंग्ल्याण्डविरुद्ध बेल्जियमले कुल २२ पटक खेलिसकेका छन् । जसमा इंग्ल्याण्ड १५ पटक बिजयी बन्दा ३ खेलमा मात्र पराजित भएको छ । यस्तै ४ खेल बराबरी खेलेका यी दुई मध्ये बेल्जियमले ३ पटक मात्र इंग्ल्याण्डलाई हराएको छ । जसमध्येको जारी विश्वकपको समूह चरणमा १–० को जित पनि हो ।

प्रतिक्रिया दिनुहोस्