क्रोएसिया पहिलोपटक विश्वकपको फाइनलमा



मस्को, (एजेन्सी)
ग्ल्यान्डको यात्रा सेमिफाइनलमा टुंग्याएर क्रोएसिया विश्वकपको इतिहासमा पहिलोपटक फाइनलमा प्रवेश गरेको छ।

रुसमा जारी विश्वकप फुटबलअन्तर्गत बुधबार राति भएको सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई २–१ गोलले हराउँदै क्रोएसियाले फाइनलमा स्थान पक्का गरेको हो। अतिरिक्त समयमा मारियो मान्डुजुकिचको विजयी गोलले क्रोएसियालाई विश्वको सबैभन्दा ठूलो फुटबल प्रतियोगिताको उपाधि जित्न निकट पुर्यायो।

खेलको पहिलो हाफसम्म १–० ले पछि परेको खेल उल्ट्याउँदै क्रोएसियाले इंग्ल्यान्डलाई १९६६ पछि विश्वकप फाइनलमा पुग्ने सपना चकनाचुर पार्यो। मान्डुजुकिचले १ सय ११औं मिनेटमा विजयी गोल गरेका थिए। इभान प्रिसिचले हेडमार्फत् दिएको पासलाई मान्डुजुकिजले वन टचमै लो प्रहार गरेर गोलमा परिणत गरेका थिए।

यसअघि खेल शुरू भएको ५ मिनेटमै इंग्ल्यान्डले गोल गर्दै अग्रता लिएको थियो। केरन ट्रिपेयरले फ्रि किकमार्फत् गोल गर्दा डेविड बेकह्यामको फ्रि किकलाई स्मरण गराएको ब्रिटेन मिडियाले जनाएका थिए। पेनाल्टी बक्सको केही बाहिर प्राप्त फ्रि किकमा उनले गोल गरेका थिए। ट्रिपेयरको उक्त प्रहारलाई क्रोएसियाका गोलकिपर डानिजेल सुवासिचले ठम्याउनसमेत पाएका थिएनन्।

यस्तै खेलको ६८औं मिनेटमा प्रिन्सिचले बराबरी गोल गर्दै क्रोएसियालाई खेलमा फर्काएका थिए। सिमे भ्रासल्ज्कोको क्रसमा प्रिन्सिचले हाइ किक प्रहार गर्दै बललाई इंग्ल्यान्डको गोलपोस्टमा छिराएका थिए। उक्त गोलका कारण निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो।

खेलको पहिलो हाफमा इंग्ल्यान्डका ह्यारी केनले भने अग्रता दोब्बर पार्ने उत्कृष्ट मौका खेर फालेका थिए। यता क्रोएसियाले पनि अतिरिक्त समयमा गोलसंख्या तेब्बर पार्ने अवसरमा इंग्लिस गोलरक्षक पिक्फोर्ड बाधक बनेका थिए।
जितपछि क्रोएसियाले अब आइतबार हुने फाइनलमा बेल्जियमलाई पराजित गरेको फ्रान्ससँग फाइनल खेल्नेछ। यसअघि सन् १९९८ मा क्रोएसिया विश्वकपको सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्