विश्वकपमा प्रयोग हुने नयाँ प्रविधि



लन्डन, (एजेन्सी)
हामीले यस्तो स्थितिलाई कल्पना गरा ‘एउटा टोली आक्रमणमा छ। आक्रमण गर्ने क्रममा एक जना खेलाडी बीचबाट प्रतिद्वन्दीको पेनाल्टी एरियाभित्र छिर्छ। रेफ्री जहाँ हुनुपर्ने हो त्यही छ, खेलसँग मिल्ने स्थानमा छ। तर उनको पछाडी ३० मिटर टाढा एक खेलाडीले अर्को प्रतिद्वन्दीमाथि आक्रमण गर्छ। सहायक रेफ्रीले त्यसलाई देखेको छ र रेफ्रिलाई आफूतिर आकर्षित गर्न झण्डा उठाउँछ। तर रेफ्री खेलमा ब्यस्त छ। खेल बाहिर गएपछि रेफ्री सहायक रेफ्रीसँग छलफल गर्न आउँछ। खेलमा कर्नर, फ्रि किक इत्यादि भइसकेका हुनाले सो घटनाको जिम्मेवारलाई कारवाही हुँदैन।

यस प्रकारका घटनाहरू विगतमा हुने गर्दथ्यो। विगतका वर्षहरूदेखि रेफ्री र सहायक रेफ्रीको सम्पर्क निकै राम्रो हुँदै आएको छ। र फिफा पनि यस प्रकारको घटनादेखि निकै सावधान रहँदै आएको छ। खेलमा कुनै पनि असर नपर्ने गरिकन यसको प्राविधिक पक्षलाई सुधार गर्न १९९५ को अन्त्यमा रेफ्री कमिटीको निर्णयले एटलान्टा ओलम्पिकको फुटबल खेलमा फ्रेन्च कम्पनीद्वारा निर्मित ‘लेवल’ नामको सञ्चार प्रविधि परीक्षण गर्ने निर्णय गरियो।

लेवललाई फ्रान्सको घण्टी बनाउने कम्पनीले सन् १९९६ मा पहिलोपटक बनाएको थियो। फ्रेन्च फुटबल संघ र युरोपेली फुटबल महासंघसंग सन्धि गरी यस प्रविधिलाई पहिलोपटक फ्रेन्च कपमा प्रयोग गर्नुका साथै नान्टेस र युभेन्ट्सबीचको च्याम्पियन्स लिगको सेमिफाइनल खेलमा पनि परीक्षण गरिएको थियो। यो प्रयोग यतिसम्म सफल भयो कि यसलाई एटलाण्टा ओलम्पिकको महिला तथा पुरुष फुटबलमा पनि परिक्षणको रूपमा प्रयोग गरियो।
‘लेवल’ निकै सामान्य प्रविधिमा बनाइएको छ। यसमा दुईवटा ट्रान्समिटर र एउटा रिसिभर रहेको छ। र रिसिभरले ‘विप…विप….विप… आवाज दिन्छ।

दुईवटा ट्रान्समिटर सहायक रेफ्रिको झण्डामा रहेको हुन्छ। जसमा थिच्नका लागि एउटा वटन हुन्छ र रिसिभरचाहिं रेफ्रीसँग हुन्छ। यो प्रविधि सामान्य इलेक्ट्रोनिक प्रविधि र ब्याट्रीबाट चल्छ। रिसिभर चुरोट बट्टाको साइजजत्रो पनि छैन। यसमा एउटा डिकोडर हुन्छ, जसले तरंगबाट ध्वनि फाल्ने काम गर्छ। र यो रेफ्रीको पाखुरामा बाँधिएको हुन्छ। कुनै अप्रत्यासित घटना घट्ने वित्तिकै सहायक रेफ्रिले रेफ्रीलाई ध्यानाकर्षण गर्न वटन थिच्नेछ। विप….विप…विप…आवाजसँगै रेफ्री घटनास्थलतर्फ आकर्षित हुनेछ।

यो प्रविधिलाई फ्रान्स–९८’ मा पनि परीक्षणका लागि प्रयोग गरिने छ। खेलिने ६४ वटा म्याचमा यो प्रविधिले सक्षमता प्रमाणित गर्न सकेमा यसलाई विश्वव्यापी रूपमा अनिवार्य गरिनेछ।

प्रतिक्रिया दिनुहोस्