फ्रेन्च फुटबलमा ब्राजिलियन खेलाडीहरुको माग



लन्डन, (एजेन्सी)
फ्रान्सको फुटबल जगतलाई उत्थान गर्ने कार्यमा रिकार्डो भाल्डो, भाल्डेर राइ, एण्डरसन र कुका गरी ६ जना ब्राजिलका लागि परेका छन् । प्रतिष्ठित ब्यवसायिक खेलाडीको रुपमा स्थापित यिनीहरु हाल फ्रान्सका विभिन्न चर्चित फुटबल टोलीका रक्षापंक्तिका खेलाडीहरुलाई ब्राजिलको साम्बा शैलीमा प्रशिक्षण दिनमा ब्यस्त छन् ।

दशवर्ष अघि फ्रेन्च फुटबल क्लबहरू अर्जेन्टीनी खेलाडीहरुबाट सेवा लिने गर्दथे । तर अब फ्रांसेलीहरुको सम्पूर्ण ध्यान ब्राजिलियन खेलाडीहरुमाथि केन्द्रित हुन थालेको कुरा ब्यवसायिक खेलाडीहरुको फ्रेन्च राष्ट्रिय संघ (यूएनएफपी) का प्रवक्ता बताउँछन् । अझै आश्चर्यलाग्दो कुरो त के भने ब्राजिलका खेलाडीहरुको माग फ्रान्समा दिनप्रतिदिन वृद्धि हुँदै गइरहेको छ ।

तर अधिकांश फ्रेन्च क्लबहरुले ती विदेशी खेलाडीहरुलाई पर्याप्त रुपमा तलब अथवा पारिश्रमिक दिन सकिरहेको छैनन् । तर विदेशी खेलाडीलाई मात्र यति धेरै प्राथमिकता दिने फेशनले पछि गएर फ्रेन्च फुटबल जगत परजीवी रहन नजाला भन्न सकिन्न ।

किनकी कुनै पनि विदेशी खेलाडी सम्मिलित नभएको पेरिस सेन्ट जर्मेन (पी.एस.जी) फ्रेन्च च्याम्पियशिपमा तेस्रो स्थानमा रहन सफल भएकै छ । तर ब्राजिलका खेलाडी भाल्डेर सम्मिलित बोर्डिक्सको गिरोन्डिन्स क्लब यूरोपियन म्याचहरु जित्ने आशा लिएर फ्रेन्च च्याम्पियनशिपमा कुल १० गोल गरी छैटौँ स्थानमा रहेको छ ।

त्यसैगरी कुकाले मूलहाउस टोलीको लागि कुल २० गोल गरे पनि सो टोली दोस्रो डिभिजनको च्याम्पियनशिपमा १० औं स्थान मात्र प्राप्त गर्नसकेको छ ।

सेण्टर फरवार्डमा निकै चर्चित तथा ओलम्पिक डी डार्सिल्लेका पूर्व खेलाडी एणसनले पनि यो सिजनमा हालसम्म मोनाको क्लबको लागि कुल ५ गोलमात्र गर्न सकेका छन् ।

आफ्नो घुँडाको शल्यक्रिया गराई आराम लिइरहेका एण्डसन त निकै आशावादी बन्दै भन्दछन–’पाँच गोल निकै कम हो । तर घाइते भएका कारण मैले आधिसंख्याको म्याचमा मात्र खेल्न पाएथें । तर यो सिजनको अन्तसम्म गोलसंख्या एक दर्जन पु¥याउने मेरो लक्ष्य छ ।’

फुटबलका लागि विश्वजगतमै निकै दक्ष मानिने ब्राजिलका खेलाडीहरु सन् १९९२ मा फ्रान्स प्रवेश भएका थिए । पेरिस–सेन्ट–जर्मेन क्लब एथलेटिक डिफेण्डर रिकार्डो र १० नम्बरका जर्सी लगाउने तथा ड्रिब्लिंगमा निपुण र कुनै पनि बेला म्याचको खेलस्थिति नै पल्टाउनसक्ने भाल्डोलाई आफ्नो टोलीमा संलग्न गर्ने सबैभन्दा पहिलो क्लब थियो ।

सन १९३७ मा ओलम्पिक डी मार्सिल्ले टोलीद्वार स्थापित पीएसजीले यसरी विदेशी खेलाडी भर्ती गर्ने नयाँ परम्पराको सुरुवात गरेको थियो । तर फ्रान्समा आई पहिलोपटक आफ्नो भाग्य आजमाउने ल्याटिन अमेरिकी खेलाडी भास्कोन्सेल्लोस हुन् ।

अतुलनीय गोलरक्षक भास्कोन्सेल्लोसकै कारण ओलम्पिक डी मार्सिल्लेले पहिलो पटक फ्रेन्च च्याम्पियनशिप उपाधि जितेका थिए । खतरानाक प्रहारहरुबाट बचाई गोल हुनबाट रोकेको कारण उनलाई दर्शकहरुले मायाले ’जगुआर’ को उपनाम दिएका थिए । त्यसबेला जगुआरले थुप्रै पेनाल्टी प्रहार रोक्न सफल भएका थिए ।

त्यसपछि सन् १९५१ मा ब्राजिलका अर्का खेलाडी यसो अमाल्फी फ्रान्सको निसको प्रोमिनेक केस एन्गलेस क्लबमा संलग्न हुन आएका थिए । निकै प्रविधियुक्त र सुझबुझका साथ खेल्न सक्षम यी खेलाडीको तान्गो डान्सरको जस्तो छाँटिएको शरीरका कारण थुप्रै फ्रेन्च महिलावर्गहरु उनको म्याच हेर्न मरिमेट्ने गर्दथे ।

उनको म्याचको भिडियो रेकर्डिंग हेरेर जोसुकै पनि उनको अद्वितीय खेल कलाको तारीफ नगरी बस्न सक्दैन । उनको पेनाल्टी प्रहार अचुक हुन्थ्यो । तर केही समयपछि उनी फुटबल खेल त्यागी रेसिंग क्लबमा भर्ती हुनपुगे ।

सन् १९७४ मा जर्मनीमा सम्पन्न विश्वकप प्रतियोगितामा शानदार खेल प्रदर्शन गरी खुबै नाम कमाएका दुईजना ब्राजिलका खेलाडी मार्सिल्ले क्लबमा भर्ती हुनपुगेका थिए । त्यो वर्ष ती दुईजना खेलाडी जेरजिन्हो र पाउलो सीजरले फ्रान्समा रक्षापंक्तिको खेलमा तहल्का मच्चाएका थिए ।

नान्टेज फुटबल क्लबका खेलकूद निर्देशक रोवर्ड बुड्जिन्स्की पुराना दिन सम्झँदै भन्छन–’त्यसबेला हाम्रो क्लबलाइ ४–० ले हराउनमा ती दुवै खेलाडीले ओलम्पिक डी मार्सिल्लेबाट आश्चर्यजनक खेल प्रस्तुत गरेका थिए । जेरजिन्होले एन्जेलादाभिसको जस्तो कपाल पालेका थिए भने पातलो अग्लो शरीरका सीजर चर्चित हलिउड कलाकार डस्टिन अफ म्यानजस्तै देखिन्थे ।

त्यो सिजनमा पाउलोसीजरले कूल १७ गोल गरेका थिए । यी दुईजना विलक्षण खेलाडीको पूर्ण सम्झना अझै पनि मार्सिल्लेस्थित भेल्ड्रोम रंगशालामा पुगेपछि जीवित र ताजा हुन्छ ।
आफ्नो युवावस्थामा यी दुवै खेलाडीले फुटबल सम्राट पेलेको सानिध्य रहने सौभाग्य पाएका थिए ।

नान्तेज क्लबका प्रमुख अधिकारी एलेन गार्नियर बताउँछन–’गत विश्वकपमा उपाधि जित्न सकेकाले पनि विश्व खेलकूद बजारमा ब्राजिलको खेलाडीहरुको भाउ बढ्दै गएको हो । तर दुईचारजना प्रतिभावान् खेलाडी ल्याउँदैमा कुनै पनि कमजोर टोली उँभो लाग्ने होईन । विदेशी खेलाडीहरु पनि होम सिकनेश र आफूलाई विदेशी परिवेशमा ढाल्न नसक्दा तिनीहरुको खेलस्तरमा पनि नकारात्मक प्रभाव पर्ने संभावना हुन्छ ।

एउटा उदाहरणको लागि राइलाई लिन सकिन्छ । दक्षिण अमेरिकामा उत्कृष्ट खेलाडी मानिने ब्राजिलका राइले अहिलेसम्म पनि पेरिसमा उदाहरणीय खेल प्रस्तुत गर्न सकिरहेका छैनन् ।
(स्रोत: साधना, पूर्णांक ५५, विश्वकप विशेषांक १९९८)

प्रतिक्रिया दिनुहोस्