स्वास्थ्य स्वयंसेविकाको विषयमा प्रदेश सरकार गम्भीरः मुख्यमन्त्री राई



्झापा ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले दिनरात नभनी जनताको घरदैलोमा गएर सेवा दिने स्वास्थ्य स्वयंसेविकाको विषयमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ ।

झापाको भद्रपुरमा आज आयोजित ‘झापा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा’ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले भन्नुभयो – “झापा पूर्ण खोप सुनिश्चितता घोषणा हुनुमा उहाँहरुको महत्वपूर्ण योगदान छ । स्थानीय तथा संघीय सरकारसँगको सहकार्यमा छिट्टै उहाँहरुको योगदानको उच्च मूल्यांकन गर्ने हुन्छ ।”

स्वास्थ्य बिना समृद्धि हासिल हुन नसक्ने भएकाले त्यसका लागि खोप पहिलो शर्त भएको उहाँले बताउनुभयो । अहिले सबैतिर प्रदेशको नाम र स्थायी राजधानी कहाँ हुने भन्ने विषय चर्चा चलिरहेको र त्यसका लागि वार्ता र छलफल जारी रहेको पनि उहाँले बताउनुभयो । “प्रदेशको नाम र राजधानी चाँडै तोकिने छ,” उहाँले भन्नुभयो – “त्यसका लागि काम भइरहेको छ । अब धेरै पर्खिनु पर्दैन ।”

झापा मुलुकको ५०औँ र प्रदेश १ को ११ औँ पूर्ण खोप सुनिश्चितता जिल्ला बनेको छ । विसं २०७२ वैशाख ९ गते साबिक धाइजन गाविसबाट पूर्ण खोप सुनिश्चिता घोषणाको अभियान शुरु भएको थियो ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य झापाका वरिष्ठ जनस्वास्थ्य प्रमुख मधुसूधन कोइरालाले कार्यपत्र प्रस्तुत गर्दै २५३ वटा खोप केन्द्रबाट झापामा वर्षेनी १९ हजार ८३५ जना बालबालिकालाई खोप लगाउने काम भइआएको जानकारी दिनुभयो ।

जिल्लामा खोपको पहुँच शतप्रतिशत पु¥याउने अभियानअन्तर्गत आर्थिक वर्ष २०७४÷७५ मा १७ हजार ३६० बालबालिकालाई खोप लगाइएको र छुटेका २०६ जनालाई पुनः खोप लगाएर झापालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । जिल्लालाई पूर्ण खोप सुनिश्चित बनाउन १५ वटै स्थानीय तह, सरकारी तथा निजी स्वास्थ्य संस्था गरी ३० वटाभन्दा बढी संघसंस्थाले हातेमालो गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्