सोनाम ग्याल्मो हेर्नेको ताँती



तत्कालीन श्री ३ जंगबहादुरलाई जारले काटेको कथामा आधारित नाटक सोनाम ग्याल्मो हेर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बत्तीसपुतलीस्थित शिल्पी थिएटर पुगेका छन्।

‘नाटकमा इतिहासको पुनव्र्याख्या पाएँ। तामाङ सामाजिक जीवनको यथार्थ चित्र प्रस्तुत गरी जंगबहादुरको मृत्युसम्बन्धी रहस्यलाई स्थापित गर्न खोजेको छ नाटकले।’ –नाटक हेरेपछि ज्ञवालीले भने। पत्रकार फूलमान बलको लेखन र सोनाम मोक्तानको निर्देशन रहेको नाटक असार ११ गतेदेखि नियमित मञ्चन भइरहेको छ। नाटकले तामाङ मौलिकतालाई रोचक ढंगले पस्केको पनि मन्त्री ज्ञवालीले बताए। ‘इतिहासको एउटा कालखण्डमा दुःख पाएकाहरूको कथालाई नाटककार बलले टिपेका छन्’, उनले भने– ‘नाटकले भिन्न सांस्कृतिक स्वाद पस्केको छ। मन छोयो।’

आधिकारिक इतिहास बन्न नसकेको तर तामाङ समुदायमा लोककथाका रूपमा प्रचलित रहेको कथामाथि लेखिएको नाटक हेर्न मन्त्री ज्ञवालीसँगै पूर्वमन्त्री शान्ता मानवी, दिलमान पाख्रिन, सभासद् एवं अनेरास्ववियु अध्यक्ष नवीना लामा, समालोचक एवं साहित्यकार प्रा. राजेन्द्र सुवेदी, साहित्यकार सरस्वती ज्ञवाली, अनिल पौडेल, राजेन्द्र थापा, प्राज्ञ निमा ग्याम्जो लामालगायत पनि पुगेका थिए। नाटक हेर्न कोरियाका लागि पूर्वराजदूत कमानसिंह लामा, तामाङ नायिका रन्जिता ब्लोन, गायिका रेश्मा बमजनलगायतको समूह शिल्पी पुगेको थियो।

विवाहमा बेहुला र बेहुली राखेर चारदाम (वैवाहिक जीवनको कसम खुवाउने विधि) गर्दै गर्दा नाटक फ्लासब्याकमा जान्छ। त्यसपछि सर्लाही पत्थरघट्टा आसपासको पुरानो तामाङ समाज र जीवनको उत्तरार्धमा त्यही ठाउँमा शिकार खेल्न गएका जंगबहादुरबीचको संघर्षले नाटकलाई गति प्रदान गर्छ। नाटकमा तामाङ फिल्मकी चर्चित नायिका चाँदनी लामा, सेलो गायक एवं संगीतकारद्वय फूलकुमार बमजन र सुसन लामाको पनि अभिनय छ। मुख्य पात्र सोनाममा निर्देशक स्वयंले खेलेका छन् भने ग्याल्मोको भूमिकामा शान्ति वाइबा छिन्।

यसबाहेक निकिता वाइबा, निशा पाख्रिन, मात्रिका घिमिरे, मनोज तामाङ, सन्तोष तामाङ (बोन्बो), सञ्जीव राई, देविन चौधरी, विजय टुबा, सुनिल तामाङ, साजन लामाले अभिनय गरेका छन्। सेलो थिएटरको प्रस्तुति रहेको नाटक मंगलबारबाहेक हरेक दिन नियमित मञ्चन भइरहेको छ। नाटक असार २५ गतेसम्म मात्रै मञ्चन हुने भनिए पनि दर्शक चापका कारण असार २८ गतेसम्म लम्ब्याइएको सेलो थिएटरकी संयोजक एवं अभिनेत्री शान्ति वाइबाले बताइन्।

प्रतिक्रिया दिनुहोस्