गास जुटाउन जाँदा लाश बनेर फर्कनुपर्यो



नरेन्द्र केसी, घोराही, दाङ
थवाङ गाउँपालिका ५ उवाखोलाकी धनपुरी रोकाको काख रित्तिएको छ । दुई श्रीमानबाट गरी चार सन्तानकी आमा रहेकी रोकाले एकैपटक चारै जना सन्तान गुमाउनुपरेको छ ।

पहिलेका श्रीमानबाट जन्मेका कमानसिंह रोका र कर्मजिता (कविता) घर्ती तथा दोस्रो श्रीमानबाट जन्मेका राष्ट्रे रोका र महेश रोकाको मुस्ताङमा भएको टिप्परमा दुर्घटनामा परेर निधन भएपछि उहाँले सम्पूर्ण सन्तान गुमाउनुपरेको हो ।

पहिलेका श्रीमानको निधनपछि धनपुरीले गाउँकै हितबहादुर रोकासँग विवाह गर्नुभएको थियो । अब हितबहादुर रोका पनि सन्तानविहीन हुनुभएको छ । दुर्घटनामा ज्यान गुमाएका कमानसिंहकी श्रीमती र कविताका श्रीमान घाइते भएका छन् । कमानसिंह रोल्पाबाट बसाइ सरी कपिलवस्तु बस्दै आउनुभएको थियो भने कविताको विवाह दाङमा भएको थियो ।


रोल्पा र दाङ शोकमा, चार सन्तान गुमाएपछि काखै रित्तियो


सडक बनाउन मुस्ताङ पुगेका १९ मजदूरले दुर्घटनामा परेर ज्यान गुमाएपछि रोल्पा र दाङ शोकमा डुबेका छन् । मुस्ताङको ट्रिपर दुर्घटनामा रोल्पाका नौ र दाङका पाँच जनाले ज्यान गुमाएका छन् । त्यसमध्ये रोल्पाबाटै बसाइ सरेका तथा अन्य जिल्ला विवाह भएकाहरुको पनि निधन भएकाले रोल्पा जन्मघर भएका बाह्र जनाको निधन भएको पुष्टि भएको छ ।

रोल्पाको थवाङ–५ उवा बस्ने र त्यहाँ जन्मेर अन्यत्र गएकासहित ६ जनाको ज्यान गएपछि पूरै गाउँमा रुवाबासी चलेको वडाअध्यक्ष गोबर्धन घर्ती मगरले जानकारी दिनुभयो । एउटै घरपरिवारसँग जोडिएका पाँच जनासम्मको निधन भएपछि वडा पूरै शोकमा डुबेको उहाँले बताउनुभयो । यस क्षेत्रका बासिन्दा बर्षायाममा कमाइ गर्ने र दशैं तिहारमा फर्कने गरी बाहिर जाने गरेको उहाँको भनाइ छ ।

दाङको देउखुरी त्यस्तै शोकमग्न छ । राप्ती र राजपुर गरी दुइ गाउँपालिकाबाट मुस्ताङ गएका मजदूरको ज्यान गएपछि देउखुरी शोकमा डुबेको हो । श्रीमान सुवेर चौधरीको मृत्युको खवर सुनेदेखि बेहोश भएकी देवन्ती चौधरीको अझै होश खुलेको छैन । खरले छाएको घरमा टिनको छानो लगाएर ऋण तिर्न मुस्ताङ पुगेको नातिको निधनपछि ८० बर्षीया हजुरआमा धनवासी चौधरी उस्तै बिक्षिप्त हुनुहुन्छ ।

राप्ती गाउँपालिका वडा नं. ३ एउटै टोलका तीन जनाको ज्यान गएपछि सिंगो गाउँ शोकमा डुवेको छ । ज्यान गुमाएकाहरु सुवेर चौधरी, विन्ति घर्ती र कविता घर्तीको घर एउटै टोलमा छ । स्थानिय दलबहादुर घर्तिमगरले यो ठाउँका अधिकांश व्यक्ति कमाइ गर्न बाहिर जाने गरेको बताउनुभयो । दैनिक खाना खाएर ६ सय रुपैयाँ ज्याला दिने भनेर ठेकेदारले यहाँका युवायुवतीलाई मुस्ताङ लगेको उहाँले बताउनुभयो ।

दुर्घटनामा २० जनाको निधन भएकोमा ६ जनाको शव दाङको लमही र अरु ६ जनाको शव रोल्पाको लिवाङ झारिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट उनीहरुको शव झारिएको हो । रोल्पाका तीन र दाङका दुइ जनाको शव पोखरामै आफन्तले बुझेका छन् । दुबै जिल्लाका गरी १७ जनाको ज्यान गएको छ । बाँकी ओखलढुंगाका जीवन माझी, चालक धादिङका सुजन घलान र स्याङजाका कृष्ण क्षेत्री रहेका छन् ।

लमहीमा कपिलवस्तुका ३५ बर्षिय कमान सिंह रोका, दाङ राजपुर गाउँपालिका वडा नम्वर १ गुरुङ्ग खोलाका २५ बर्षिय कमल बुढा, सोहि ठाउँ निवासी ३० बर्षिय वालकुमार घर्ती, राप्ती गाउँपालिका वडा नम्वर ३ का ३१ बर्षिय कविता घर्तिमगर, सोहि ठाउँ निवासी ३५ बर्षिय सुवेर चौधरी र सोहि ठाउँ माईत भएकी २२ वर्षिय विन्ति घर्तिको शव हेलिकप्टरबाट लमही झारिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

दाङ राप्ती गाउँपालिका वडा नम्वर ९ निवासी हाल कास्कीमा वस्दै आएका श्रीमान श्रीमती ५० वर्षिय गुरुदत्त थापा र ४३ बर्षिय शान्ति थापाको शव आफन्तले कास्कीमै वुझेको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिले वताउनुभयो । रोल्पा थवाङ ५ की जीतकुमारी पुन, सोही वडाका जितमायाँ घर्ती र थवाङ १ का मौसम घर्तीको शव कास्की नै राखिएको छ ।

रोल्पा थवाङ्ग गाउँपालिका वडा नम्वर १ का २८ बर्षिय सुकमान रोका, सोहि गाउँपालिका वडा नम्वर ५ का १९ बर्षिय महेश रोका, सुनछहरी गाउँपालिका वडा नम्वर १ का ३२ बर्षिय रामकुमार पुन, सोहि ठाउँका ३२ वर्षकै सोन्तु घर्ति, थवाङ्ग गाउँपालिका वडा नम्वर ५ का सृजना मगर र सोहि ठाउँकी २३ बर्षिय राष्ट्रे रोकाको लिवाङ झारिएको छ । उनीहरुको पोष्टमार्टमपछि आइतवार फुलिवन लगेर आफन्तलाई जिम्मा लगाइनेछ ।

प्रतिक्रिया दिनुहोस्