कांग्रेस, केसी र गंगामाया



वीर अस्पतालका डाक्टर गोविन्द केसी र वीर अस्पतालमै आमरण अनशनमा बसेकी गंगामाया अधिकारीका कारण अहिले देशमा एउटा तरंग उत्पन्न भएको छ । धरहराले दिनैपिच्छे यी र यस्तै विषयमा चासो राखिरहेको छ, धरहराको टुप्पोबाट हेर्दा कसको क–कसको कमजोरी हो भन्ने छुट्याउन गाह्रो भइरहेको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभामा नै यी दुई जनाको नामले बैठक अवरोध भएको छ । केसीले कतिपटक अनशन बसे र के–के माग राखे भन्ने पनि अहिले एकिन गर्न समस्या छ । उता गंगामायाले आन्दोलनकै क्रममा श्रीमान् गुमाएकी छिन् भने आफू पनि जीवनमरणको दोसाँधमा छिन् । यी दुवै जनाको अनशन नै भए पनि प्रकृति फरक छ, सरकारले सम्बोधन नगरेको भनेर आवाज उठाइरहेका बेला के साँच्चै माग पूरा गर्न सरकारले चासो देखाउने कि नदेखाउने भन्ने प्रश्नमा धरहरा अलमलमा परेको छ ।

द्वन्द्वकालीन समयमा घटेको घटना भए पनि अलिकति फरक छ कथा गंगामायाको, नेपाली कांग्रेसले अहिले आएर मात्र गंगामाया सम्झिएको छ, आजभोलि कांग्रेसका धेरैजसो नेताको बुद्धिबंगारो पलाएर नै होला वीर अस्पताल भेट्न गएर सरकार अराजक र नालायक भइसकेको भन्न भ्याएका छन्, के हिजो कांग्रेसको नेतृत्वमा सरकार हुँदाचाहिँ गंगामाया अस्पताल छोडेर गोरखा त गएकी थिइनन् नि ।

यसरी वास्तविकतादेखि माथि गएर आफू अनुकुल मात्र स्वार्थको राजनीति गर्नेले देशमा पटकपटक संकट निम्त्याइरहेका छन् । कसैले केसीलाई तह लाउन सरकारले नसकेको पनि भनेको धरहराले सुनेको छ भने गंगामायाको व्यथाभन्दा टाढा छैन धरहरा पनि त्यसैले अब कसैले न्याय दिन नसके र सत्यको पक्षमा नबोले धरहराले कदम चाल्नुपर्ला कि भनेर दबाब दिन थालेका छन् भन्छन् नि जनता ।

प्रतिक्रिया दिनुहोस्