पत्रकार कोशराज रेग्मी: मेरो विम्बमा




व्यक्तिवृत्त


-मोहन दुवाल
संखुवासभाको वानाबाट वि.सं. २०१४ देखि विराटनगरमा बसोबास गर्दै आएका कोशराज रेग्मीले जीवनका अधिकांश क्षणहरु साहित्य साधनामा, पत्रकारितामा र समाजसेवामा बिताएको देखिन्छ । अझ साँच्चिकै उनको मूल्यांकन गरिँदा भन्नुपर्छ– उनी असल पत्रकार भएर नै आफूलाई बाँच्न लगाएका छन् । पत्रकारिताबारे उनी आफ्नो दृष्टि यसरी फुकाउँछन्– पत्रकारिता कलामात्र होइन, यो एउटा शैक्षिक–राजनीतिक विज्ञान पनि हो ।

यस्तै खालको उद्देश्यमा आबद्ध भएर पत्रकारिता गरेका रेग्मीले ‘बहुजन हिताय बहुजन सुखाय’ मा नै पत्रकारिताको लक्ष्य, उद्देश्य र सापेक्षता हुनुपर्दछ भन्छन् । र, पत्रकार हुनका लागि बढी अध्ययनशील हुनुपर्ने आफ्नो अनुभव रहेको सन्दर्भ उनी आफ्नो लेख–रचनामा लेख्ने गर्छन् । वि.सं. २०१५ असार ८ गतेदेखि जनवार्ता पत्रिकाको प्रकाशन र सम्पादनमा लागेका यिनी बुढेसकालसम्म नै पत्रकार भई बाँचेर गएका हुन् ।

पिता स्व. पिताम्बर उपाध्याय रेग्मी र माता स्व. खिलेश्वरीदेवी रेग्मीको कोखबाट ठूलो कान्छा भई वि.सं. १९८९ श्रावण कृष्ण चतुर्दशीमा पूर्व ६ नं. इलाका थुम पाँचखन वाना गाउँ (हाल संखुवासभा) मा जन्मेका कोशराज रेग्मी पछि मोरङ विराटनगर उप–महानगरपालिका वडा नं. १६ मा रेणुकादेवी रेग्मीकै स्नेह र माया पाएर जीवनपथमा लम्किरहेका थिए ।

त्यसताका अधिराज्यका मात्र नभई प्रवासका साहित्यिक एवम् पत्रकारिता क्षेत्रसँग सम्बन्धित विद्वान्हरुको जमघट हुने पूर्वाञ्चलको प्रमुख थलोका रुपमा उनको घर चिर–परिचित छ । प्रसिद्ध पत्रकार रेग्मीले राणाकालदेखि उनी बाँचेसम्म जीवनका उत्सर्गहरु समाज, देशकै लागि समर्पित गरेर गएका हुन् । आफ्नै ढङ्गले आफ्नै वर्कतअनुसारको सेवामा जुटेर समर्पण देखाएका यिनी प्रारम्भिक कालमा वामपन्थी युवक भई सक्रियता देखाए र पछि व्यवहारमा लाग्दालाग्दै प्रसिद्ध पत्रकार भई आफूलाई परिचय गराउन सफल भए ।

कहिले कवि भएर, कहिले साहित्यिक चिन्तकजस्तो देखिएर र कहिले राजनीतिज्ञ बनेर पनि जीवनका समयहरु गुजारेका यिनी पछि पत्रकारिताको विकासमा मोफसलका असल पत्रकारका रुपमा आफूलाई प्रतिष्ठित गर्न सफल भए । झर्रोवादकका व्याख्याता, नौलो पाइलाका रचयिता, जनवार्ताका कुशल वार्ताकार रेग्मीले विराटनगरको साहित्यिक, भाषिक, सांस्कृतिक तथा पत्रकारिताको विकासमा विशिष्ट भूमिका निभाएका छन् ।

वरिष्ठ साहित्यकार चूडामणि रेग्मीका दाजु कोशराज रेग्मीले सामाजिक क्षेत्रमा धेरै योगदान पु¥याएर पनि पछि जनवार्ताकै माध्यमबाट पनि धेरै राम्रा कार्यहरु गरेर देखाएर गएका हुन् । जीवनको पछिल्लो कालखण्डमा आक्कलझुक्कल भए पनि जनवार्ता कथेर उनी गए ।

 

त्यसैले त उनी जनवार्ताको मार्मिकताबारे भन्ने गर्छन्– म मरेपछि मेरो लासमाथि कमसे कम अरु केही नभए पनि मेरो पत्रकार मित्रहरुले एकपन्ने मात्र किन नहोस् जनवार्ता दैनिक ओढाएर मेरो इच्छा पूरा गरिदिनू । आफ्नो सबैजसो उमेर पत्रकारिता क्षेत्रमै बिताउन सक्षम पत्रकारको उपरोक्त भनाइले बताउँछ– जनवार्ता उनको धुकधुकी र गरिमा हो ।

संन्यासी संस्कृत कलेज, बनारसबाट मध्यमा, बनारस हिन्दू विश्वविद्यालयबाट बी.ए. र जर्मनीको बर्लिनबाट पत्रकारितामा स्नातकसम्म शिक्षा आर्जन गरेका यिनले बेलायत, जर्मनी, फ्रान्स, रुस, चीन, अमेरिका, जापान, भारत, थाइल्यान्ड, सिंगापुरलगायतका थुप्रै देश भ्रमण गरेका छन् ।

भोजराज, राघवराज, चिरञ्जीवी नामका छोराहरु र रीता नाम गरेकी छोरीका बाबु भएर, साथै चार नाति र एक नातिनीका हजुरबा भएर जीवनपथमा आफ्नै ढङ्गले बाँचेका एकजना योद्धा हुन् कोशराज रेग्मी । जसले अनेकौं दुःख–दर्दका झमेलाहरु पार गरेर, अनेकौं षड्यन्त्र र जालझेलका कलुषिततासँग जुझेर ‘कोश’ भई बाँचे, उनै हुन् कोशराज रेग्मी ।

हातेमालो कवितासङ्ग्रहका कवि, पत्रकारिता क, ख, गका रचयिता पत्रकार कोशराजले आफूले बुझेका कुराहरु लेखेका छन्, आफूले भन्नुपर्ने कुराहरु भनेका छन् ।

थोरै मात्र कविता लेखेका तर कवितामा मर्म फुकाउन सक्षम कविजस्तै देखा परेका कोशराज रेग्मीका कविताहरुमा देशका प्रसङ्गहरु, मान्छेका मर्महरुबारे, असत–अन्यायका कलुषितताहरुकै विरुद्धमा आवाज बुलन्द भएर घन्किएका छन् । यसै सन्दर्भमा नेपाल र नेपालीको मानसिकतामा दास मनोवृत्ति नफर्कियोस् भनी उनले यसरी गाएका थिए–

गीत गाऊ मायालु मादल ठोकेर
मलायामा नजाऊ बन्दुक बोकेर

यसरी कवितामा पनि आफ्नोपन देखाउन सफल कोशराज रेग्मीका सम्बन्धमा विविध क्षेत्रका वरिष्ठ व्यक्तिहरुले आ–आफ्नो आँखाले हेरेका छन् । वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्मा उनीबारे यसरी मन फुकाउँछन्– ‘२००७ सालको एकतन्त्र विरोधी क्रान्तिमा समेत नव युवावस्थामा नै उहाँ सामेल हुनुभएको थियो । त्यसपछि पनि नेपाली समाजमा रहेको राणावादी व्यवस्थाको विरोधका रुपमा रहिआउनुभएको छ ।’

उनको झर्रोवादमा रहेको संलग्नतासम्बन्धमा प्रा. वल्लभमणि दाहाल यसरी कटुसत्यलाई औंल्याउँछन्– ‘मेरो मामाको नेतृत्व र अग्रसरतामा बनारसबाट भाषाशास्त्री बालकृष्ण पोखरेल, तारानाथ शर्मा, मेरा मामाहरु कोशराज रेग्मी, चूडामणि रेग्मी र म यस भाषा आन्दोलनमा संलग्न थियौं ।’

वरिष्ठ भाषाशास्त्री तथा साहित्यकार बालकृष्ण पोखरेल, वरिष्ठ समालोचक डा. तारानाथ शर्मा, डा. गणेश भण्डारीका दौंतरी पत्रकार कोशराज रेग्मीलाई आफ्नो जीवनमा उनले गरेका सराहनीय कार्यहरुबापत थुप्रै संघसंस्थाले सम्मान गरेका छन् ।

सूचना विभाग, कोशी अञ्चलाधीश कार्यालय, तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाबाट समेत नगद पुरस्कार प्राप्त गरिसकेका रेग्मीलाई लेखनाथ जयन्ती समारोह समिति, विराटनगरबाट सम्मान, पत्रकार कल्याण कोष, मोरङबाट २०४५ सालमा सिर्जनशील पत्रकारिता पुरस्कार, भद्रपुर झापाबाट श्यामकृष्ण उपाध्याय स्मृति पुरस्कार, हरिसिंह दुगड च्यारिटेबल ट्रस्ट, विराटनगरबाट २०५२ सालमा कदरपत्र, नेपाल पत्रकार महासंघ, उदयपुर शाखाबाट सम्मान, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर आदि संस्थाहरुबाट समेत उनी सम्मानित भइसकेका छन् ।

डा. तारानाथ शर्माले मध्यममार्गी मित्रका रुपमा स्वीकारेका कोशराज रेग्मीले आफू महासचिव भएर वि.सं. २०२७ मा विराटनगरमा चतुर्थ देशव्यापी नेपाली साहित्य सेमिनारको आयोजना गरेका थिए । उनले बगाएको पसिनाका बुँदहरु हेरेर त्यस बेला यिनको तारिफ सबैले उक्त सेमिनारमा गरेका हुन् । यस्तै कार्य गर्न मन खुलाएका यिनी पछिसम्म पनि आफ्नो वर्कतले भ्याएअनुसारका सामाजिक जागरण ल्याउने कार्यहरुमा लागिरहेका थिए ।

विराटनगरको आयामभित्र राखेर नियाली हेर्दा जेठा पत्रकारकै रुपमा सबैले स्वीकारेका रेग्मीले आफ्नो माताकै स्मृतिमा २०४५ सालमा ‘खिलेश्वरी पत्रकारिता पुरस्कार’ स्थापना गरेर त्यस क्षेत्रका उत्कृष्ट पत्रकारहरुलाई सम्मान दिने परम्परा पनि शुरु गरेका हुन् ।

सस्तो लोकप्रियतामा मन झुलाउन नजानेका तर केही गरिरहन रुचाउने कोशराज रेग्मीजस्ता अवसर छोप्न नजानेका यात्रीहरु यस देशमा ठगिनु दुर्भाग्य होइन । यहाँ त आफ्नो प्रचार आफैंले गर्न सिक्नुपर्छ, यहाँ त आफू जिउँदो रहेर पनि शहीद हुँ भनी भन्न सिक्नुपर्छ भन्छन् ठग मनोवृत्ति पालेका विद्वान् विश्लेषकहरु । तर होइन, ठग मनोवृत्तिले आर्जेका मन–मस्तिष्कहरु पछिसम्म कहिल्यै दिगो रहेको इतिहास थाहा छैन ।

भर्खरै २०७३ मा उनी बितेर गए पनि मैले पनि सम्झिनलायक भएकै कारणले आज पनि उनकै सम्झनामा यो विम्ब प्रकाशन गर्न रुचाइरहेछु । मलाई लाग्छ– मोफसलको पत्रकारिताको इतिहासमा उत्खनन गरेर हेर्नेहरुले नै कोशराजको योगदान अवश्य पत्ता लगाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्