को अधिनायकवादी ?



को ‘अधिनायकवादी’ ? यो शब्दको अर्थ प्रष्ट बुझ्न नसक्दा धरहरा हिजो–आज निकै अन्योलमा छ। सरकार बाहिरका विपक्षी दल भन्छन्– ‘सरकारले अधिनायक शैली अपनायो, निरंकुश बन्यो, तानाशाही भयो, दुई तिहाईको घमण्ड देखायो।’ अनि सरकार भन्छ– ‘जथाभावी अनसन बस्ने, आन्दोलन गर्ने, सरकारको विरोध गर्नेहरू अधिनायकवादी हुन्।’

यस्तो जुहारी चलेपछि खास अधिनायकवादी को हो, कसरी बुझ्नु ? चिकित्सा क्षेत्रको सुधारको माग राखेर जुम्लामा आमरण अनसन बसेका डा. केसी पनि अधिनायकवादी रे। बुधबार गृहमन्त्री थापाले संसद्मा केसीलाई लक्षित गर्दै भने– ‘यो लोकतान्त्रिक शैली होइन, अधिनायकवादी तरिका हो।’ उनका अनुसार सडकमा आन्दोलनमा उत्रिएर कुनै विषयको निकास निस्किन सक्दैन रे। सडकबाटै निरंकुश सरकारलाई घुँडा टेकाउने, अधिनायकवाद अन्य गर्ने घोषणा गर्दै कुनै बेला थापासहितका नेताले बाक्लै संख्यामा कार्यकर्ता उतारेको धरहराले बिर्सिएको छैन।

सरकारमा भएका सबै लोकतान्त्रिक पद्धति अपनाउने अनि प्रतिपक्षी सँधै ‘गैर लोकतान्त्रिक।’ छेपारोले मौसमअनुसार रङ फेरझैं दलहरूले आफूअनुकूल ‘अधिनायकवादी’ शब्दको व्याख्या र विश्लेषण गर्ने भएसी कसरी बुझ्नु यो शब्दको खास अर्थ ? नेपाली शब्दकोषमा यो शब्दको अर्थ पक्कै पनि उल्लेख गरिएको छ। शब्दकोषमा ‘दलहरूले आरोप प्रत्यारोपका क्रममा प्रयोग गर्ने शब्द आफूअनुकूल गर्ने व्याख्या र विश्लेषण गर्ने शब्द भनेर उल्लेख गर्न ढिला भइसक्यो। त्यसो गर्दाचाहिँ अन्योल हुन्नथ्यो कि ?

प्रतिक्रिया दिनुहोस्