यसरी छानौं विद्यालय



ईश्वरराज ढकाल,
माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल प्रकाशित भइसकेको छ। विद्यार्थीहरू आफ्नो जीपीएका आधारमा उच्च शिक्षाका लागि उपयुक्त विद्यालय खोज्न हतार गरिरहेका छन्। कहाँ पढ्ने र कुन विषय लिएर पढ्ने भन्ने विषयमा कलेज खोज्दै हिँड्न थालेका छन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि १२ सम्मलाई माध्यमिक तह घोषणा गरिसकेको अवस्थामा विद्यार्थीहरू उच्च शिक्षाको गन्तव्य खोज्दै हिँडेका छन्। विद्यालयले विद्यार्थीलाई आकर्षित गर्न विभिन्न विज्ञापन गरिरहेका छन्।
४ जीपीए ल्याएका उत्कृष्ट विद्यार्थीलाई आफ्नो विद्यालयमा तान्न होडबाजी गरिरहेका छन्। अबको केही वर्षभित्र यस्तो प्रतिस्पर्धात्मक बजार हट्न सक्ने भएकाले होला यो वर्ष बढीभन्दा बढी विद्यार्थीलाई आफ्नो विद्यालयमा तान्न निजी विद्यालय सञ्चालक लागिपरिरहेका छन्।
कक्षा १ देखि १२ सम्मलाई विद्यालय शिक्षा तय गरिसकेको र अब कक्षा १–१२ एउटै विद्यालयमा अध्ययन हुने भएपछि ११ र १२ कक्षा मात्र सञ्चालन गरेका विद्यालयमा विद्यार्थीको चाप घट्न सक्छ। त्यस्ता विद्यालयले कक्षा ९ देखि १२ सम्म सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै आइरहेका छन्। त्यसो भए कक्षा ८ सकेका विद्यार्थी ९ देखि १२ सम्म अध्यापन गराउने विद्यालयमा भर्ना हुने बाटो खुल्छ। नभए कक्षा १–१२ भएपछि अधिकांश विद्यार्थी एउटै विद्यालयमा पढ्न बाध्य हुनेछन्। विद्यालयमा फारम भरे पनि प्रवेश परीक्षा दिनुपर्ने व्यवस्था विद्यालयले कायमै राखेका छन्। प्रवेश परीक्षामा सहभागी हुँदा एसईई परीक्षामा पढेका विषयलाई ध्यान दिनुपर्छ। विद्यार्थीले प्राप्त गरेको जीपीएको आधारमा कलेजले विद्यार्थी छनोट गर्ने गरेका छन्। त्यसको अलावा प्रवेश परीक्षा दिँदा विद्यार्थीले अनिवार्य विषय अध्ययन गर्नु आवश्यक हुन्छ।
असार महिना किसानको ‘मानो छरेर मुरी उब्जनी गर्ने’ भनेजस्तै कलेजले अहिले भर्ना लिएर कमाउने अवस्था भएकाले निजी विद्यालय सञ्चालकहरू विद्यालयमा विद्यार्थीलाई काउन्सिलिङ गर्न थालेका छन्। हिसानका महासचिव लोकबहादुर भण्डारी विद्यालयको विगतको पढाइको आधारमा विद्यालय छनोट गर्नुपर्ने बताउनुहुन्छ। जुन विद्यालयले उत्कृष्ट शिक्षा दिँदै आएका छन्, त्यही विद्यालयमा भर्ना हुन सबैलाई आग्रह गर्दै भन्नुहुन्छ– ‘नामभन्दा पनि विगतको लगावलाई ध्यान दिएर भर्ना हुन उचित हुन्छ।’ शिक्षा मन्त्रालयले आउँदो वर्षदेखि कक्षा ११ र १२ को पाठ्यक्रम परिवर्तन गर्ने भएकाले यो वर्ष विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा विषय लिएर पढ्ने विद्यार्थीका लागि मौका हुन सक्छ। अब ४ विषय अनिवार्य र अन्य ऐच्छिक हुने भएकाले अन्तिम वर्षका रूपमा विषयअन्तर्गत अध्ययन गर्ने मौका विद्यार्थीले पाएका छन्।
एसईईपछिका दुई वर्ष अर्थात् ११ र १२ कक्षाको पढाइ विद्यार्थीका लागि धेरै महँवपूर्ण तह र अवधि हो। यसले विद्यार्थीको भावी अध्ययनको मार्गदर्शन गर्दै उनीहरूको भावी पेसा र क्षेत्र र करियरको निक्र्योल पनि गर्छ। हिसानका पूर्वअध्यक्ष उमेश श्रेष्ठ विषय छनोट गर्दा विशेष ध्यान दिनुपर्ने बताउनुहुन्छ। भविष्यसँग जोडिएको विषयलाई हचुवाको भरमा लिन नहुने उहाँको धारणा छ। भन्नुहुन्छ– ‘भविष्यलाई हेरेर विषय छनोट गर। कसैको हावादारी भनाइमा भर नपर।’
विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षालगायत कुन संकाय पढ्ने मात्र होइन संकायभित्र पनि कुन कुन विषय पढ्ने र आफ्नो करियर बनाउने भन्ने टुंगो लगाउने तह हो उच्चमावि अर्थात् प्लस टू तह। कसैको लहलहैमा भन्दा पनि विद्यालय र शिक्षकको सल्लाहमा विद्यालय छनोट गर्न आग्रह गर्दै एम्स एकेडेमीका प्राचार्य टीआर ढकाल भन्नुहुन्छ– ‘कस्तो विद्यालय छनोट गर्ने विषय विद्यार्थीमा भर पर्ने भन्दा पनि विद्यालयको विगतको अवस्थाको आधारमा भर्ना हुनुपर्छ।’ ठूलो भवन, बढी शुल्क लिने विद्यालय छनोट गर्ने परम्पराभन्दा पनि संस्थाको इतिहास हेरेर भर्ना हुनु उचित रहेको बताउनुहुन्छ। कस्तो विषय लिँदा भविष्यमा राम्रो अवसर पाउन सकिन्छ भन्ने चाहना बोकेका विद्यार्थीले विद्यालय छनोट गर्नुपर्ने उहाँको धारणा छ।
कक्षा १२ सम्मको विद्यालय शिक्षाको पठनपाठन पूरा भएपछि स्नातक तहमा थुप्रै विषयहरू छनोट गर्न पाइन्छ। तर उच्च माध्यमिक तहमा मानविकी विषय लिएकाले स्नातक तहमा विज्ञान विषय लिन पाउँदैन। त्यसैले स्नातक तहमा धेरै संकायले खासखास विषयको अध्ययन गरेकालाई मात्र प्रवेश दिने व्यवस्था गरेकाले कक्षा ११मा भर्ना हुँदा आफूले उच्च माध्यमिक तह पूरा गरेपछि स्नातक तहमा कुन कुन विषय अध्ययन गर्न पाइनेछ भन्ने बारेमा शिक्षकसित सल्लाह गर्नु बढी राम्रो हुनेछ। शिक्षाविद् प्राडा विद्यानाथ कोइराला विद्यालय छनोट गर्दा सो विद्यालयको परफरमेन्सको आधारमा भर्ना हुन आग्रह गर्नुहुन्छ।
कहाँ, कस्तो विद्यालय छनोट गर्ने भन्ने विषय विद्यार्थीको चाहनामा भर पर्छ। तर कसैको लहडको आधारमा विद्यालय छनोट गर्नु गलत हुने बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ– ‘अभिभावकको सल्लाह लिनु, आफूले अध्ययन गरेका विद्यालयको शिक्षकसँग सल्लाह लिएर मात्रै विद्यालय छनोट गर्नु। सकभर विद्यालय छनोट गर्दा विद्यालयको विगतको अध्ययन र वर्तमानको अवस्थाबारे जानेर मात्रै भर्ना हुनु।

विद्यार्थीका लागि कुन संकाय उपयुक्त हो भन्ने कुरामा परामर्श दिनु आफैमा एक विशेषज्ञता मानिन्छ।’ प्रभावकारी शिक्षा प्रणाली भएका देशहरूका विद्यालयमा विद्यार्थीलाई उच्च अध्यनको संकाय छनोटमा परामर्श दिन छुट्टै विशेषज्ञ शिक्षकको व्यवस्था हुन्छ। नेपालमै पनि केही राम्रा निजी विद्यालयले विद्यार्थीलाई परामर्श दिने गरका छन्। तर अधिकांश माविहरूले आफ्ना छोराछोरीको चाहनाअनुसार भर्ना गरेको पाइन्छ। क्षणिकरूपमा त्यो ठीक भए पनि कालान्तरमा असर पर्ने भएकाले ठोस परामर्शको आधारमा भर्ना हुनु महँवपूर्ण हुन्छ। स्नातक तहमा कुनै विषयमा विशिष्टीकरण (स्पेसिलाइजेसन) गर्नुपर्ने हुने भएकाले प्लसटुमा इच्छाधीन विषय छनोट गर्दा बुद्धि पुर्याउनु जरुरी छ। विद्यालयतहमा पहिलो वर्ष अर्थात् कक्षा ११ मा नेपाली र अंग्रेजी अनिवार्यबाहेक इच्छाधीनका रूपमा तीनवटा विषय छनोट गर्न पाइन्छ।

विभिन्न ६ वटा समूह विभाजन गरिएको छ र तीमध्येबाट कुनै तीनवटा विषय छनोट गर्नुपर्ने हुन्छ। यो वर्षसम्म कक्षा ११ र १२ मा ५७ वटा विषयका पाठ्यक्रम लागू गरेको छ। भौतिकशास्त्र, प्राणीशास्त्र, रसायनशास्त्र, होटल व्यवस्थापन, इतिहास, भूगोल, संस्कृति, अर्थशास्त्र, संगीत, कृषि, गृहविज्ञान, आमसञ्चार, ग्रामीण विकास, गणित, वाणिज्य शिक्षा, सहकारी व्यवस्थापन, राजनीतिशास्त्र, जनसंख्या शिक्षा, कम्प्युटर शिक्षा, ज्योतिष, साहित्य, पेन्टिङलगायतका विषय छनोट गर्न सकिन्छ।
भाषा विषयहरूका रूपमा अंग्रेजी, हिन्दी, मैथली, नेवारी, जर्मन, जापानी, उर्दू, फ्रेन्च र नेपालीको पाठ्यक्रम तयार छ। तीमध्ये जापानी र फ्रेन्चमा भने हालसम्म कुनै शिक्षण संस्थाले पठनपाठन गरेको छैन। कक्षा १२ मा विज्ञान विषय लिएका विद्यार्थीबाहेकका लागि इच्छाधीन चौथो विषयका रूपमा १७ वटा विषय पनि समावेश छ। तीमध्ये मार्केटिङ, साधारण गणित, साधारण विज्ञान, सामाजिक शिक्षा, ग्रामीण अर्थशास्त्र, खाद्य र पोषण, कलाको इतिहास, प्राथमिक शिक्षा, प्रयोगात्मक शिक्षा, विशेष आवश्यकता शिक्षा, संस्कृत व्याकरण र रचनालगायतका विषयमध्येबाट एउटा छनोट गर्नुपर्ने हुन्छ।
सबैभन्दा बढी शिक्षाशास्त्र विषयमा अध्यापन गर्ने, दोस्रोमा व्यवस्थापन, तेस्रोमा मानविकी र चौथोमा विज्ञान विषय अध्यापन गर्ने शिक्षण संस्था सञ्चालित छन्। निजी उमाविमा विद्यार्थी संख्याका आधारमा व्यवस्थापन विषय पढ्ने बढी छन् भने सामुदायिक विद्यालयहरूमा शिक्षाशास्त्र विषय पढ्ने विद्यार्थीहरू सबैभन्दा बढी छन्।

खर्च कति?

सबैभन्दा कम खर्च शिक्षाशास्त्र र मानविकी विषय अध्ययनमा लाग्ने गर्दछ। विज्ञान र प्राविधिक विषय सबैभन्दा खर्चिलो पढाइ हो। विषय छनोट गर्दा विद्यार्थीले आफ्ना अभिभावकको आर्थिक हैसियतका बारेमा पनि विचार गर्नुपर्दछ। हुन त छात्रवृत्तिको व्यवस्था पनि छ। त्यसले गर्दा आर्थिकरूपमा विपन्न विद्यार्थीले छात्रवृत्ति पाएर विज्ञान वा प्राविधिक विषय अध्ययन गर्न पाइरहेका पनि छन्।
निजी कलेजमा अध्ययन गर्न बढी खर्चिलो छ। सामुदायिक कलेजमा भने कम खर्च भए पुग्छ। उच्च माध्यमिक तहको अध्ययन गर्दा निजी विद्यालयमा १ लाखदेखि २ लाख रुपियाँसम्म (दुई वर्षको) खर्च लाग्छ भने सामुदायिकमा अध्ययन गर्दा दुई वर्षभरि सरदर ४० हजार रुपियाँ भए पुग्छ। व्यवस्थापन विषयमा अध्ययन गर्दा निजी विद्यालयमा सरदर ६० हजारदेखि १ लाख २० हजार रुपियाँसम्म, मानविकी विषयका लागि ५० हजारदेखि ९० हजार रुपियाँसम्म र शिक्षाशास्त्रका लागि ५० हजारदेखि ७० हजार रुपियाँसम्म खर्च लाग्छ। जबकि सामुदायिक विद्यालयमा अध्ययन गर्ने हो भने व्यवस्थापन, मानविकी र शिक्षाशास्त्रमा दुई वर्षका लागि सरदर ३० हजार रुपियाँले धान्छ।

छनोट गर्ने विषय

विज्ञान
डाक्टर, इन्जिनियर, पाइलट बन्ने इच्छा कसलाई हुँदैन र? विज्ञान विषय पढेर भविष्यमा होनहार व्यक्ति बन्छु भन्ने विद्यार्थीले विज्ञान विषय पढ्ने गरेका छन्। विज्ञानको अध्ययनले चारैतिरको अवसर पाइन्छ। कृषि, वनविज्ञानजस्ता विषय पढ्न चाहने विद्यार्थीले कक्षा ११ मा विज्ञान विषय नै पढ्नुपर्छ। स्वदेशमा भन्दा विदेशमा बढी सम्भावना भएकै कारण विद्यार्थीहरू डाक्टर, इन्जिनियर, पाइलट बन्ने लोभमा विज्ञान विषय पढ्न चाहन्छन्। विज्ञान विषय पढ््ने विद्यार्थीले सजिलै रोजगारको अवसर पाउने भएकाले पछिल्लो समयमा सो विषयप्रति आकर्षण बढ्न थालेको छ। सरकारीभन्दा निजी उमाविमा विज्ञान विषय पढ्नेको संख्या बढेको परिषद्का प्रवक्ता नारायण कोइरालाले बताउनुभयो।
व्यवस्थापन
हरेक तहमा उचित व्यवस्थापन अभावमा कतिपय काम लथालिंग भएका हुन्छन्। व्यवस्थापकीय कमजोरीका कारणले गर्दा उद्योगधन्दा धराशयी बन्दै गएको छ। व्यवस्थापन विषयको अध्ययनविना कुशल व्यवस्थापक हुन सम्भव छैन। त्यसैले त अहिले व्यवस्थापन पढ्ने विद्यार्थीको संख्या बढ्न थालेको छ। परिषद्ले सञ्चालन गरेको विषयमध्ये शिक्षापछि सबैभन्दा बढी विद्यार्थीको चाप व्यवस्थापन संकायमा हुन थालेको छ र एसईईपछि अधिकांश विद्यार्थी व्यवस्थापन विषय पढ्न रुचि राख्छन्।
बैंक, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, प्रशासकलगायत क्षेत्रमा उत्कृष्ट अवसर पाउने आसमा विद्यार्थीले व्यवस्थापन विषय पढ्न थालेका छन्। सैद्धान्तिक र व्यावहारिक दुवै विषयको मिश्रण भएकै कारण अधिकांश उमावि र कलेज प्रायः सबै सरकारी र निजी उमाविले व्यवस्थापन विषय अध्ययन गराउने गरेका छन्। व्यवस्थापनअन्तर्गत अर्थशास्त्र, एकाउन्टेन्सी, होटल म्यानेजमेन्ट, कम्प्युटर गणित, फाइनान्सको कोअपरेटिभ म्यानेजमेन्ट र ग्रामीण विकास, बुम र ओएमएसपी हटाएर बिजिनेस म्यानेजमेन्ट समावेश गरी पाठ्यक्रम तयार गरेको छ।
मानविकी
मानविकी संकाय तुलनात्मकरूपमा व्यावहारिक र ज्ञानवद्र्धक हुन्छ। दर्शनशास्त्र, अर्थशास्त्र, राजनीतिशास्त्र, कला, साहित्यजस्ता दर्जनौं विषयको अध्ययन गर्न सकिने मानविकी संकायमा झन्डै चार दर्जन विषय रहेका छन्। गृहविज्ञान, समाजशास्त्र, आमसञ्चार, इतिहास, धर्म संस्कृति, भूगोल, वातावरणलगायत विषय समावेश गरिएको मानविकीअन्तर्गत अंग्रेजी, फ्रेन्च, उर्दू, जर्मन, जापानिज, हिन्दीजस्ता विषयसमेत समावेश गरिएको छ।

शिक्षा
विशेष गरी शिक्षण पेसासँग सम्बन्धित शिक्षा संकायअन्तर्गत इच्छाधीन र अनिवार्य गरी १ हजार पूर्णाड्ढ परीक्षा दिनुपर्छ। इच्छाधीनका ४५ विषयमध्ये ७ र अंग्रेजी, नेपाली इच्छाधीनमध्ये एक विषय छनोट गर्नुपर्छ। विज्ञान तहमा पढ्ने विद्यार्थीले कक्षा ११ मा फिजिक्स, केमेस्ट्री, बायोलोजी र म्याथम्याटिक्स विषय अनिवार्य पढ्नै पर्छ। विशेषतः प्राविधिक र प्रयोगात्मक विषय भएकाले नै विज्ञान तहमा पढ्ने विद्यार्थीले स्वदेश र विदेशमा राम्रो अवसर पाउँछन्। यी त भए विद्यार्थीले पढ्ने विषयहरू तर कुन विषयमा कतिको डिमान्ड छ भन्ने कुरा विद्यार्थी स्वयंले मूल्याङ्कन गर्नुपर्छ।

कुन समूहमा कति जीपीए 

समूह १
विज्ञान समूहका विषयहरू
फिजिक्स, केमेस्ट्री, बायोलोजी, म्याथ वा कम्प्युटर साइन्स विषय अध्ययनका लागि कक्षा ११ मा भर्ना पाउन कम्तीमा जीपीए २ ल्याउनुपर्ने, साइन्स र म्याथमा सी प्लस ल्याउनुपर्ने, इंग्लिसमा सी र सोसल र नेपालीमा डी प्लस ल्याउनुपर्ने छ।
समूह २
भोकेसनल समूहका विषयहरू
एनिमल साइन्स, प्लान्ट साइन्स, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ तथा कम्प्युटर इन्जिनियरिङका लागि न्यूनतम जीपीए १ दशमलव ६ हुनुपर्नेछ।  साइन्स, म्याथ र इंग्लिसमा न्यूनतम सी ग्रेड ल्याउनुपर्ने र सोसल र नेपालीमा डी प्लस ल्याउनुपर्ने छ।
समूह ३
त्यसैगरी म्याथ, एकाउन्टेन्सी, इकोनोमिक्स, कम्प्युटर साइन्स, टिचिङ म्याथ, कोअपरेटिभ म्यानेजमेन्ट, बिजनेस स्टडिज, जोग्राफी, साइकोलोजीका लागि न्यूनतम जीपीए १ दशमलव ६ ल्याउनुपर्ने निर्णय गरेको छ। ती विषयका लागि एसईईमा म्याथम्याटिक्समा न्यूनतम सी ल्याउनुपर्ने र इंग्लिस, नेपाली र सोसल साइन्समा न्यूनतम डी प्लस ल्याउनुपर्ने व्यवस्था गरेको छ।
समूह ४
फिजिकल एजुकेसन, केमेस्ट्री एजुकेसन, बायोलोजी एजजुकेसन, टिचिङ साइन्सका लागि न्यूनतम जीपीए १ दशमलव ६ ल्याउनुपर्ने छ। एसईईमा साइन्स र म्याथमा न्यूनतम सी र इंग्लिस, नेपाली र सोसलमा न्यूनतम डी प्लस ल्याउनुपर्ने हुन्छ।
समूह ५
इंग्लिस, अल्टरनेटिभ इंग्लिस, टिचिङ इंग्लिस र लिंगुइस्टिक पढ्नका लागि न्यूनतम जीपीए १ दशमलव ६ ल्याउनुपर्ने हुन्छ। त्यसैगरी एसईईमा इंग्लिसमा न्यूनतम सी र नेपाली र सोसलमा न्यूनतम डी प्लस ल्याउनुपर्ने व्यवस्था गरेको छ।
समूह ६
मास कम्युनिकेसन, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिजम अध्ययनका लागि न्यूनतम जीपीए १ दशमलव ६ र एसईईमा इंग्लिसमा सी, नेपाली, म्याथ र सोसलमा न्यूनतम डी प्लस ल्याउनुपर्ने छ।
समूह ७
नेपाली, टिचिङ नेपालीका लागि न्यूनतम जीपीए १ दशमलव ६ ल्याउनुपर्छ। त्यसैगरी एसईईमा नेपालीमा न्यूनतम सी, इंग्लिस र सोसलमा न्यूनतम डी प्लस ल्याउनुपर्ने छ।
समूह ८
पोलिटिकल साइन्स, हिस्ट्री, कल्चर, होम साइन्स, सोसियोलोजी, साइकोलोजी, लाइब्रेरी एन्ड इन्फरमेसन साइन्स अध्ययनका लागि न्यूनतम जीपीए १ दशमलव ६ चाहिन्छ। यी विषय अध्ययनका लागि एसईईमा सोसलमा न्यूनतम सी, नेपाली र इंग्लिसमा न्यूनतम डी प्लस ल्याउनुपर्ने छ।
समूह ९
इन्ट्रोडक्सन टु एजुकेसन, इन्ट्रोडक्सन टु पेडागोजी, हेल्थ एन्ड फिजिकल  एजुकेसन, पपुलेसन स्टडिज, इन्भायरोमेन्ट एजुकेसन अध्ययनका लागि पनि न्यूनतम जीपीए १ दशमलव ६ चाहिन्छ। त्यसैगरी एसएलसीमा इीपीएचमा न्यूनतम सी, नेपाली, इंग्लिस र साइन्समा न्यूनतम डी प्लस ल्याउनुपर्ने व्यवस्था छ।
समूह १०
युमन भ्यालु एजुकेसन, जनरल ल, संस्कृत व्याकरण, साहित्य, न्याय, वेद, नीतिशास्त्र, बौद्ध एजुकेसन र कानून विषयको अध्ययनका लागि न्यूनतम जीपीए १ दशमलव ६ का साथै नेपाली, इंग्लिस र सोसलमा न्यूनतम डी प्लस ल्याएका विद्यार्थीले भर्ना हुन पाउँछन्।
समूह ११
मैथिली, हिन्दी, नेवारी, फ्रेन्च, जापनिज, उर्दु, जर्मन, चाइनिज र अरू भाषा अध्ययनका लागि न्यूनतम जीपीए १ दशमलव ६ र इंग्लिसमा न्यूनतम डी प्लस ल्याएमा भर्ना पाउने व्यवस्था गरेको छ।
समूह १२
डान्स, म्युजिक, स्कल्प्चर, पेन्टिङ, एप्लाइड आर्ट, स्पोर्टस र अरू विषयमा गर्न एसईईमा न्यूनतम जीपीए १ दशमलव ६ र इंग्लिसमा डी प्लस ल्याएमा कक्षा ११ मा भर्ना पाउने व्यवस्था छ।
प्रतिक्रिया दिनुहोस्