के पत्याउनु ?



सरकारले केही दिनअघि काठमाडौं उपत्यकामा विरोध प्रदर्शन र अनशनस्थल तोक्यो, त्यसलगत्तै डाक्टर केसीले अनशन शुरु गरिहाले । अनशन बस्नकै लागि उनी यसपटक जुम्ला पुगेका छन् । प्रहरीसँग केहीबेरको जुहारीपछि केसीले शनिबारदेखि जुम्लाको कबर्ड हलमा अनशन शुरु गरेका छन् ।

सरकारले संसद्बाट पारित गर्न लागेको चिकित्साशास्त्रसम्बन्धी विधेयकको विरोधमा केसीले अनशन थालेका हुन् । कोही व्यक्ति अनशन बसेर केही माग गर्दैमा पूरा नहुने सरकारको तर्क छ । उनको विरोधशैलीबारे सञ्चारमन्त्री बाँस्कोटा भन्छन्– ‘अनशन बस्दा अरूलाई पनि डिस्टर्ब गर्न भएन, जहाँ पायो त्यहीं अनशन बसेर हुन्छ, खुलामञ्चमा बसे हुन्छ ।’

मन्त्रीको कुरा सुनेपछि धरहराले खुलामञ्च तर्फ दुरविन सोझ्यायो, तर कहीं खाली ठाउँ देखिएन । खुलामञ्चको आधाजसो ठाउँमा बसपार्क, धेरै ठाउँमा सवारी पार्किङ, बालुवा, रोडा अनेक थरी चिजबिजले सो ठाउँ त अस्तव्यस्त छ । मन्त्रीले कहाँचाहिँ खाली देखेछन् कुन्नि, त्यहाँ खाली ठाउँ नदेखेपछि केसी जुम्ला पुग्या हुन् कि ?

अनि केसी अनशनबारे सरकार कुनै पनि हालतमा ब्याक नहुने जनाएको छ, उता प्रदेश सरकार भने केसीको समर्थनमा जयजयकारमा उत्रिया छ ।

एउटै पार्टीका तर्फबाट कर्णाली प्रदेशका गृह एवं कानुनमन्त्री नरेश भण्डारी भन्छन्– ‘केसीको स्वास्थ्य र सुरक्षामा कुनै कसर बाँकी राखिन्न, उनको अनशन जायज छ ।’ केन्द्र र प्रदेशका मन्त्रीहरुको छुट्टाछुट्टै तर्क सुनेपछि धरहरा छक्क प¥या छ, के पत्याउनु, के नपत्याउनु ?’

प्रतिक्रिया दिनुहोस्