सडक चाँडो मर्मत गर्न माग



Photo: Naresh Shrestha/ THT

काठमाडौँ

नागरिक दबाब अभियानले बौद्ध–जोरपाटी–साँखु–सुन्दरीजल मूल सडक चाँडो मर्मत गर्न माग गरेका छन् ।

जोरपाटी चोकमा आज भएको विरोध सभामा समाजका विभिन्न क्षेत्रका व्यक्तित्व, स्थानीयवासी तथा उपभोक्ताले लामो समयदेखि सडक जीर्ण भई नागरिकले दुःख पाएकाले समस्या समाधानका लागि आग्रह गरेका छन् ।

नागरिक दबाब अभियानका संयोजक दीपकसिंह भण्डारीले सडक मर्मत गर्न अहिलेसम्म कसैले अग्रसरता नदेखाएकाले नागरिक स्तरबाटै दबाब अभियान थालिएको बताउँदै नागरिक हक प्राप्त गर्न आफूहरु सडकमा ओर्लन बाध्य भएको प्रस्ट पार्नुभयो ।

अभियानका सहसंयोजक कुमारराज सुवेदीले एक्काइसौँ शताब्दीमा महानगरवासी नारकीय जीवन बिताउन बाध्य हुनु परेको विचार व्यक्त गर्दै आम नागरिकको सहनशीलतालाई बुझेर चाँडो कार्य सम्पन्न गर्न माग गर्नुभयो ।

विरोध सभालाई नेपाली काँग्रेस महासमिति सदस्य विमल ठुकरी, साहित्यकार गोविन्दप्रसाद घिमिरे, अधिवक्ता होमकान्त चौलागाईं, चिकित्सक सुवास प्याकुरेल, पत्रकार निर्मल अर्याललगायतले सडक चाँडो मर्मत सम्भार गर्न माग गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्