ललितपुर १६ वडालाई युवामैत्री वडाको रुपमा विकास गर्ने प्रतिबद्धता



नेपाल समाचारपत्र, ललितपुर ।
ललितपुर महानगरपालिका–१६ लाई युवामैत्री वडाको रुपमा विकास गरिने भएको छ । वडाले वडास्तरीय युवा भेलाको आयोजना गरी युवामैत्री बजेट ल्याउने प्रक्रिया शुरु गरेको छ । युवावर्गको आवश्यकता ठम्याएर, उनीहरुको समेत सक्रिय सहभागितामा योजना कार्यान्वयन गर्ने तयारी अघि बढाएको हो ।

वडाको विकासमा युवावर्गको सहभागिता सुनिश्चित गराउन युवा सञ्जाल निर्माण गर्ने उद्देश्य रहेको वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो ।लक्षितवर्गको विकासलाई प्राथमिकता दिँदै योजना तुर्जमा, कार्यान्वयन, र पृष्ठपोषणमा युवा सहभागितालाई सुनिश्चित गराउने पनि वडाअध्यक्ष शाक्यको भनाई रहेको छ ।

‘असाध्यै प्रक्रियामुखी, कर्मचारीहरु व्यवहार, युवामैत्री व्यवहारको अभाव, ढिला सुस्ती जस्ता कारणले अधिकाशं युवावर्ग स्थानीय तह, सरकारी प्रशासनमा जान युवावर्गहरु झन्झट मान्ने गरेको छ ।यस्तो अवस्थामा स्थानीय तहमा गएर योजना माग गर्न प्रेरित गर्ने उद्देश्यले युवामैत्री वडा घोषणा गर्न लागिएका हौं ।’ वडाअध्यक्ष शाक्यले भन्नुभयो ।

यस अघि विपद् व्यवस्थापनमा युवा परिचालको आधार तयार पारिसकेको पनि वडाले जनाएको छ ।स्थानीय तहको निर्वाचन भएलगतै वडाले विपद व्यवस्थापनका युवा स्वयंसेवक संजाललाई पुनःगठन गरेको थियो । युवाहरुको स्वयंसेवक सञ्जालको भूमिकालाई बढाउ“दै वडा विकासमा परिचालित गर्ने सार्वजनिक घोषणा गरिएको पृष्ठभूमी आयोजना गरिएको सो भेलामा करिब १ सय २५ जना युवाको सहभागिता रहेको थियो ।

भेलामा पर्यटनविद् एवं प्रशिक्षक अनिल चित्रकारले राष्ट्रिय लक्ष्य, प्रदेशको लक्ष्य, स्थानीय तहको लक्ष्य र कार्यलाई वडाको परिधि भित्र रहेर कसरी सोच्ने, कसरी कार्यान्वयन गराउने भनेर सैद्धान्तिक ज्ञानसंगै समूहगत छलफल गराइएको थियो । प्रशिक्षक चित्रकारले भन्नुभयो ‘ व्यक्तिको आवश्यकता र टोल र वडाको आवश्यकता र उपलब्धिसंग कसरी जोड्ने भनेर सबै सिक्नुपर्दछ ।’
प्रशिक्षक चित्रकारले सो वडामा पर्यटन उद्योग प्रर्वद्धन, लक्ष्यलाई व्यावहारिक, ठोस बनाएर त्यसलाई हासिल गर्ने तरिकाले सोच्नुपर्ने, संगसंगै स्रोत साधन र क्षमता अभिवृद्धि गराउनुपर्ने विषयमा प्रेरित गराउनुभयो ।

वडा विकासका लागि पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकूद, भाषा, संस्कृतिको संरक्षण र आर्थिक विकाससंग जोड्ने र हस्तकला लगायतका विषयमा समूहगत रुपमा प्रस्तुत गरिएका योजनालाई संश्लेषण गर्दै नगरपरिषद्मा पेश गर्ने र वडाले क्रमशः कार्यान्वयन गर्दै जाने पनि कार्यक्रमका संयोजक एवं वडा सदस्य विजय महर्जनले बताउनुभयो ।

वडाभित्रका मूर्त, अर्मूत सम्पदा संस्कृति प्रवद्र्धन, लक्षित वर्गका समस्याहरुको पहिचानका आधारमा समग्र वडाको योजना तथा कार्यक्रमहरु तुर्जमा गरिरहेको पनि बताउँदै संयोजक महर्जनले भन्नुभयो ‘ त्यसको सफल कार्यान्वयन गर्न युवावर्गको भूमिका र क्षमता विकास अनिवार्य रहेको छ ।’

प्रतिक्रिया दिनुहोस्