समस्यैसमस्यामा जनप्रतिनिधिको एक वर्ष



विमल विष्ट, डोटी
डोटीका स्थानिय तहका कर्मचारीहरुले आफुहरुको एक बर्ष समस्यै समस्यामा बितेको गुनासो गरेका छन् । कर्मचारी नआउने तथा उनिहरुले दुःख दिने गरेको बारेका गुनासाहरु जनप्रतिनिधीका बढी छन् ।

‘मुख्य समस्या हामीलाई कर्मचारीको भयो । कर्मचारीहरु आउँदै आउँदैनन्, आएपनि बिचमै सरुवा भएर जान्छन् । न हामीलाई कर्मचारी भर्ना गर्ने अधिकार छ, न केन्द्र सरकारले कर्मचारी पठाउँछ ।’ डोटी पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटी आफ्नो कार्यकालको एक वर्ष कर्मचारी अभावमै बितेको यसरी दुखेसो गर्नु हुन्छ ।

 

२०७४ असार १४ गते भएको स्थानीय तहको निर्वाचनवाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि गाउँपालिकाको विकासका लागि केही गर्न उत्साहित हुनुहुन्थ्यो उहाँ । तर, धेरै कुराले उहाँलाई साथ दिएन । कर्मचारी अभाव मुख्य कारण भएको उहाँ बताउनु हुन्छ र भन्नु हुन्छ ‘न हामीलाई कर्मचारी भर्ना गर्ने अधिकार दिइयो न कर्मचारी पठाइयो,कसरी काम गर्नु ।’

स्थानीय तहको निर्वाचन पहिले हुनु, संघ र प्रदेशको निर्वाचन पछि हुनु पनि उहाँ समस्या मान्नु हुन्छ । ‘निर्वाचन भयो, जनप्रतिनिधि त छौं तर कसरी काम गर्ने भन्ने कानुन छैन, मन्त्रालयको पत्रको आधारमा काम गर्नु पर्ने अवस्था आयो’ उहाँ थप भन्नु हुन्छ, ‘हामी हतियार बिनै युद्धमा खटिएका सैनिक जस्तै भयौ ।’ बोगटीको जस्तै दुखेसो छ के आईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीको पनि छ ।

कर्मचारी अभावकै कारण चाहे अनुसार काम गर्न नसकेको उहाँको गुनासो छ । ‘एक त मलाई अनुभव पनि थिएन, मैले सिक्नमै बित्यो यो वर्ष,’ शाही भन्नुहुन्छ ‘नीतिगत अन्यौलताका कारण पनि धेरै समस्या भयो ।’ वजेट कसरी बिनियोजन गर्ने भन्ने बिषयमा पनि लामो समयसम्म अन्यौल रहेको शाही बताउनुहुन्छ । ‘यो बर्षदेखि काम गर्न सहज होला जस्तो लागेको छ’ उहाँथप्नु हुन्छ ‘तर कर्मचारीको अभाव कहिलेसम्म रहन्छ ।’

त्यस्तै बोगटान गाउँपालिकाका अध्यक्ष कमल गड्सिला ‘एनान’ को समस्या पनि उस्तै छ ।

‘गाउँपालिका टाढा भएका कारण कर्मचारीहरु जान मान्दैनन्’ उहाँ भन्नु हुन्छ ‘गएपनि तीन महिना टिक्दैनन् । कानुनी अस्पष्टता, आफैलाई अनुभवको कमीका कारण चाहे अनुसार काम गर्न नसकेको उहाँले स्वीकार गर्नु भयो ।

निर्वाचित भएको नौ महिनापछि मात्र न्याय सम्वन्धी तालिम पाएको बताउनुहुन्छ जोरायल गाउँपालिकाकी उपाध्यक्ष जमुना बोहरा ।

न्यायिक समितिको संयोजक समेत रहनु भएकी उपाध्यक्ष बोहरा भन्नु हुन्छ ‘न्यायिक क्षेत्रको अनुभव थिएन, समयमै तालिम दिनु पर्ने थियो त्यो भएन ।’ अन्य स्थानीय तह जस्तै जोरायल गाउँपालिकाले पनि कर्मचारीको अभाव झेल्नु परेको उहाँको भनाई छ ।

उहाँ भन्नु हुन्छ ‘ हाम्रो गाउपालिकामा १७ जनाको दरवन्दी छ, तर जम्मा तीन जना मात्रै हाजिर छन्,को कहाँ छन हामीलाई नी थाहा छैन ।’

अनुभवको अभाव र कर्मचारीको अभाव झेल्यो बडिकेदार गाउँपालिकाले पनि । ‘धेरै गाहे भयो यो एक बर्ष काम गर्न’ गाउँपालिकाकी उपाध्यक्ष इन्द्रा बोहरा (भाट) भन्नु हुन्छ ‘बस्नलाई घर छैन, कर्मचारीहरु छैनन्, नीति नियमहरु प्रष्ट छैनन् ।’

जनअपेक्षा धेरै रहेका तर श्रोत थोरै भएका कारण पनि काम गर्न समस्या भएको उहाँको भनाई छ । भौतिक पूर्वाधार अभावका कारण पनि काम गर्न गाहे भएको बोहराको अनुभव छ । उहाँ थप भन्नु हुन्छ ‘एउटै कोठामा तीन÷तीन जना बस्नु पर्ने अवस्था छ ।

बैङ्कहरुले समयमै शाखा बिस्तार नगरिदिँदा पनि काम गर्न समस्या भएको जनप्रतिनिधिहरुको गुनासो छ । बोगटान गाउँपालिकाका अध्यक्ष एनान भन्नु हुन्छ ‘एक पटक खाता खोल्नका लागि, एक पटक पहिलो किस्ता निकासा गर्नका लागि, फेरी अन्तिम किस्ता लिनका लागि जिल्ला सदरमुकाम धाउनु पर्ने अवस्था भयो यस्तो अवस्थामा काम कसरी गर्ने यसले गर्दा उपभोक्ताहरु झन मारमा परे ।’

बैङ्ककै कारण पनि आफूहरुले गाली खानु परेको केआई सिंह गाउँपालिकाका अध्यक्ष शाहीको गुनासो छ । जिल्लाका सायल, आदर्श, बडिकेदार गाउँपालिकाहरुमा अझै पनि बैङ्कङि कारोवार सुचारु हुन सकेको छैन । भौतिक पूर्वाधार नहुनु, इमेल÷ईन्टरनेट सम्मको सहज पहुँच नहुनु जस्ता समस्याहरुले सोचे अनुसार काम गर्न नसकिएको जनप्रतिनिधिहरुको गुनासो छ ।

 

प्रतिक्रिया दिनुहोस्