विदुरवासी फोहोर पानी पिउन बाध्य, नियमित पानी आउन अझै एकवर्ष लाग्ने



शालिकराम चालिसे, नुवाकोट
नुवाकोटको सुगम र बजारक्षेत्र मानिएको विदुर नगरपालिका क्षेत्रका नगरबासीले फोहोर पानी पिउन बाध्य भएका छन । नगरवासिले वर्षा शुरुभएसंगै प्रत्येक वर्ष खोलाको फोहोर पानी पिउन बाध्य हुन् ।

खुल्ला रुपमा बगेको त्रिशुली र फलाटे नदीको पानी सिधै विदुर ल्याई ट्यांकीमा जम्मा गरी ढुङ्गे, विदुर, बटर, र पिपलटारका उपभोत्तामाझ धमिलो पानीे. घरघरमा वितरण हुदै आएको छ । जसले गर्दा नुवाकोटको सदरमुकाम रहेको विदुर नगरपालिकाका स्थानियबासीहरु नै धमिलो पानी प्युन बाध्य भएका छन ।

वर्षा शुरु भएकोले पानी धमिलो आएको खानेपानी तथा सरसफाई डिभिजन कार्यलय नुवाकोटका प्रमुख मोहनलाल जैशीले बताउनुभयो । जैशीले वर्षा याममा धमिलो पानी आउनु सामान्य भएको भन्दै साना शहरी खानेपानी आयोजना निर्माण सम्पन्न नभएसम्म यस्तो समस्या आइरहने बताउनुभयो ।

विदुरमा आजभोलि धमिलो पानी पनि नियमित नआउँदा उपभोत्ता भने मारमा परेका छन । धारामा आउने धमिलो पानी त्यो पनि लोडसेडिङको शैलीमा गरिने वितरणले उपभोत्ता हैरान भएका छन ।

एक त दुई चारदिनमा पानी आउँछ तैपनि धमिलो भएर पिउन योग्य नै छैन बट्टारकी गृहणी माया मगरले बताइन । मगरले आक्रोश व्यक्त गदै भनिन् “पानी नियमित नआउने तर शुल्क भने नियमित तिनुपर्दा हामी उपभोक्ता ठगिएका छौ ।”

विदुर खानेपानी तथा सरसफाई उपभोत्ता समितिका अध्यक्ष नारायण खनालले वर्षाको समयमा धमिलो पानी आउनु स्वभाविक रहेको जवाफ दिए । उपभोक्ता समितिका अध्यक्ष खनालले पछिल्लो समय विदुरमा बसाइसराईको दर तिव्र गतिमा बढेकोले पानी वितरणमा समस्या आएको बताए ।

उनले उत्पादन र खपतको सन्तुलन नमिल्नु र वितरण वैज्ञानिक नहुनु पनि धारामा पानी नआउनुको अर्काे कारण रहेको खुलाए । विदुरमा खानेपानी वितरण गदै आएको र अधिकार प्राप्त विदुर खानेपानी तथा सरसफाई उपभोत्ता समितिका अध्यक्ष खनालले करिव एक वर्षसम्ममा विदुर नगरपालिकाभित्र पानीमा देखिएको समस्याको तत्काल समाधान नहुने लाचार जवाफ दिए ।

तर उपभोत्ताहरु आफुहरुले धारामा पानी नै नआएपनि शुल्क तिनुपरेको गुनासो गर्दै आएका छन । नगरबासीलाई वितरण गर्ने रिर्जभ टयाङ्की खुल्ला नै छ । जसले गर्दा पानी संकलन खुल्ला आकाशमा रहेकोले चराहरुले बिस्टाउने तथा हड्डी लगेर फाल्ने गरेको छ । जसले उपभोत्ताको स्वास्थ्यप्रति विदुर खानेपानी तथा सरसफाई उपभोत्ता समिति त्यति सचेत समेत नभएको उपभोक्ताहरु बताउँछन ।

विदुर खानेपानी तथा सरसफाई उपभोत्ता समितिले वितरण गरेको पानी अहिलेको अवस्थामा कुनैपनि हालतमा पिउन योग्य नभएको उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्र पण्डितले बताउनुभयो ।

पण्डितले विदुर खानेपानी तथा सरसफाई उपभोत्ता समितिले यस्तै फोहोर र धमिलो पानी वितरण गरिरहे भोली झाडापखालाको माहामारी निम्तने खतरा बढेको बताउनुभयो । उहाँले समितिलाई स्वस्च्छ र सफा पानी वितरण गर्न जनदबाव दिनुपर्ने बताउनुभयो ।

वितरण गरेको खानेपानीमा समितिले उपभोक्तासँग पैसा मात्र असुलेको उपभोक्ताकर्मीहरुले आरोप लगाएका छन । वितरण गरिएको पानी पिउन योग्य नभएको भन्दै उपभोक्ताले गुनासो गरेपनि खानेपानी तथा सरसफाई डिभिजन कार्यलय, विदुर खानेपानी तथा सरसफाई उपभोत्ता समिति र विदुर नगरपालिकाले कुनै सुनुवाई नगरेको उपभोक्ताले गुनासो गरेका छन ।

 

विदुर नगरपालिका क्षेत्रमा वितरण गरिएको पानीको विषयमा विदुर नगरपालिकालाई जानकारी भए पनि नगरपालिका समेत मौन देखिएको छ । नगरबासीले सफा र स्वस्च्छ खानेपानी पाउनुपर्ने भएपनि पहिला बनेको संरचना र भएको मुहानमा समस्या रहनुले पानीमा समस्या देखिएको विदुर नगरपालिकाकी उपमेयर गिता दाहालले बताउनुभयो ।

उपमेयर दाहालले पानी निर्मलीकरण गर्न ट्याङ्कीको अभावले उपभोक्ताको धारामा धमिलो पानी जाने गरेको बताउनुभयो । उहाँले फोहोर पानीको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पुराउने भन्दै नगरवासीलाई केही समय दुुखकष्ट सहेर भएपनि सफा र स्वस्च्छ पानी पिउन आग्रह गर्नुभयो ।

उपमेयर दाहालले अहिलेको अवस्थामा बैकल्पिक व्यवस्था खोज्न सानो स्रोतले नसक्ने भन्दै समस्या समाधानबारे छलफल चलिरहेको बताउनुभयो ।

नगरपालिकाले सक्ने र संभव भएको काम गर्न नगरपालकिा हरदम लागिरहने दाहालको भनाई रहेको छ ।

विदुर नगरपालिका, खानेपानी तथा सरसफाई डिभिजन कार्यलय र विदुर खानेपानी तथा सरसफाई उपभोत्ता समितिका पदाधिकारीले नगरबासीलाई स्वस्च्छ र सफा पिउने पानी बितरण गनुपर्ने र गर्ने बताइरहँदा उपभोक्ता भने सधै आश्वासन र धारामा आउने धमिलो पानी र हावाले हैरान भएका छन ।

जसले गर्दा उपभोक्ताले धारामा पानी नआएपनि पानीको महसुल भने तिरिरहनु परेको छ ।

प्रतिक्रिया दिनुहोस्