नाइजेरियाविरुद्ध खेल्ने टिम तय गर्दै मेस्सी



काठमाडौं । प्रशिक्षकका कारण विश्वकप यात्रा नै संकटमा पर्ने सम्भावना बढेपछि अर्जेन्टिनाले नयाँ उपाय अपनाएको छ । टिम फर्मेसन मिलाउन नसकेको भन्दै प्रशिक्षक जर्ज साम्पाओलीमाथि बर्खास्ती गर्नुपर्ने माग उठिरहेका बेला शनिबार खेलाडीहरु र प्रशिक्षकको बैठकले नयाँ समाधान निकालेको हो ।

जसमा नाइजेरियाविरुद्ध खेल्ने टिमको टुंगो लिओनल मेस्सीसहितका खेलाडीहरु नै लगाउने भएको छन् । अर्जेन्टिनाले भोलि नाइजेरियासँग समूह चरणको अन्तिम खेल खेल्दैछ । त्यही समयमा क्रोएसियाले आइसल्याण्डसँग खेल्नेछ । नकआउट चरणमा पुग्न नाइजेरियालाई हराएर मात्र पुग्दैन, क्रोएसियाले पनि आइरल्याण्डसँग हार्नु हुँदैन ।

आइसल्याण्ड जितेको अवस्थामा अर्जेन्टिनाले नाइजेरियालाई भारी गोलअन्तरले हराउनुपर्छ । अर्जेन्टिनाका १९८६ को विश्वकप विजेता रिकार्डो जस्टीले दाबी गरेका छन् कि उनले अर्जेन्टिना फुटबल एशोसिएसनका जोर्गे बरुचागासँग कुराकानी गरेका छन् ।

अर्जेन्टिनी खेलाडीहरु नाइजेरियाविरुद्धको खेलमा केन्द्रित रहेको भन्दै उनले भने–‘खेलाडीहरुले नै टिम तय गर्छन्, सत्य यही हो । यदि सम्पाओली बेञ्चमा बस्न चाहन्छन् भने बस्छन् । यदि बसेनन् भने पनि केही फरक पर्दैन ।’

प्रतिक्रिया दिनुहोस्