म्याच प्रिभ्यु: इंग्ल्याण्डविरुद्ध पानामा , जापानविरुद्ध सेनेगल



आइतबार जारी विश्वकपको समूह जी अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा इंग्ल्याण्डले पानामाको सामना गर्दैछ । यसअघि यी दुई टिमले एक अर्का विरुद्ध कहिल्यै खेलेको छैन ।

फिफा वरियताको १२ औं स्थानको इंग्ल्याण्ड ५५औं स्थानको पानामाभन्दा बलियो टोली हो । पहिलो खेलमा वरीयतामा आफू भन्दा नवौ स्थान पछाडि रहेको ट्यूनीसियालाई संघर्षपूर्ण खेलमा २–१ ले पराजित गरेर इंग्ल्याण्डले ३ अंक जोडिसकेको छ । पहिलेको तुलनामा अहिले खेलाडीमा देखिएको टीमवर्कले प्रशिक्षक गेरेथ साउथगेटमा झनै जिम्मेवारी थपिएको पनि छ ।

तुलनात्मक रुपमा एक पटकका विश्वकप विजेता इंग्ल्यान्डका लागि विश्वकपका नव प्रवेशी टोली पानामा कमजोर टोली हो । पानामा आफ्नो पहिलो खेलमा बलियो बेल्जियमसँग ३–० गोलअन्तरले पराजित भएको थियो ।

त्यसैले इंग्ल्यान्डलाई अन्तिम १६ मा पुग्न पानामाको चुनौती खासै कठिन देखिँदैन । तैपनि पहिलो खेल गुमाएका पानामा लागि दोस्रो खेल ’गर या मर’ को स्थितिमा हुनेछ । पानामाले अंक जोड्ने हो भने पहिलो खेलमा दुवै गोल गरेका इंग्लिश क्याप्टेन ह्यारी केन लगायत रहिम स्टर्लिंग, डेले अली र एश्ले योंग जस्ता खेलाडीलाई कडा निगरानीमा राख्नु पर्नेछ ।

यता इंग्ल्याण्डका लागि पनि पानामा कप्तान तथा स्ट्राईकर रोमन टोरेस घातक हुन सक्नेछ ।
यदि इंग्ल्याण्डविरुद्ध खेल पनि गुमाएमा जारी विश्वकपबाट पानामा बाहिरिने निश्चित छ ।

ट्यूनीसियाविरुद्ध ३–५–२ को रणनीतिबाट जितको नतिजा निकालेको इंग्ल्याण्डले पानामाविरुद्ध ४–२–३–१ मा खेल्न सक्छ । यता पानामा भने बेल्जियमविरुद्ध ५–४–१ को रक्षात्मक रणनीतिमा उत्रेका थिए । तर इंग्ल्याण्डविरुद्ध खेलबाट अंक आवश्यक रहेकोले पानामाले ४–४–२ रणनीति अवलम्बन गर्ने सम्भावना छ ।

जापानविरुद्ध सेनेगल
जापान र सेनेगलल समूह एच को पहिलो चरणको खेलमा आ–आफ्नो खेल जितेर समान तीन–तीन अंक बटुलेका छन् । सेनेगलले पोल्याण्डलाई २–१ ले पराजित गर्दा जापानले पनि १० जनामा सिमित कोलम्बियालाई २–१ले नै हराएको थियो ।

आइतबार हुने यी दुईबीचको विजेताले अन्तिम १६ मा स्थान पक्का गर्नेछ । फिफा वरीयतामा जापान ६१औं स्थानमा छ भने सेनेगल २७औं स्थानमा रहेको छ ।

शारारिक रुपमा जापानभन्दा सेनेगल बलियो भए पनि प्राविधिक रुपमा भने जापान कोहीभन्दा कम देखिँदैन । जापानी अग्रपंक्तिका ओसाका कुनै बेला पनि नतिजा बदल्न सक्ने खूबी भएका खेलाडी हुन् । यस्तै अट्याकिंग मिडफील्डरहरु इनुई, कागावा र हारागुची सेनेगलका डिफेन्डरहरु सबाली, कौलीबलि, साने र वागुएको टाउको दुखाइ बन्न सक्नेछ ।

यसैगरी अर्को तर्फ सेनेगलका नियांग र डियोपÞmको स्ट्राइकिंग र साडियो माने, नाडिये, गाना र इस्मालियाको अट्याकिंग मिडफील्डको घेरालाई तोड्न जापानी डिफेन्डरहरु नागाटोमो, शोजी, योशिदा र सकईलाई सहज हुने छैन ।

यी खेललाई जापानी मिडफील्डर शिन्जी कागावा र सेनेगलका मिडफील्डर साडियो माने बीचको प्रतिस्पर्धा समेत भनिएको छ । जापानको सम्भावित रणनीति ४–२–३–१ हुनेछ भने सेनेगल ४–४–२ को रणनीतिमा उत्रने सम्भावना छ ।
हेड टू हेड:
यी दुई राष्ट्रले एक अर्काविरुद्ध ३ पटक खेलेका छन् । जसमध्ये सेनेगलले २ पटक जितेको छ भने एकपटक बराबरीमा खेल टुंगिएको छ ।

प्रतिक्रिया दिनुहोस्