उप–महासचिव पियर नेपाल आउँदै



काठमाडौं, (नेस)
संयुक्त राष्ट्रसंघीय शान्तिकार्य सञ्चालन विभागका उप–महासचिव जँ लाक्क्रोवा पियर दुईदिने नेपाल भ्रमणका सिलसिलामा मंगलबार काठमाडौं आउँदै हुनुहुन्छ ।

राष्ट्रसंघको शान्ति स्थापना कार्यमा नेपाल शीर्ष भूमिकामा रहँदै आएकोमा पियर काठमाडौं आउने हुनुभएको हो । राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपालको भूमिका अझ फराकिलो बनाउन र राष्ट्रसंघ र नेपालबीचको सम्बन्ध अझ निकट बनाउन उहाँको भ्रमण महत्वपूर्ण बन्ने परराष्ट्र मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

नेपाल बसाइका क्रममा उपमहासचिव पियरले नेपाली सेनाको काभ्रे पाँचखालस्थित तालिम केन्द्रको स्थलगत भ्रमण गर्नुहुने बताइएको छ । शान्ति मिसनमा खटिने जनशक्तिलाई तालिम दिइने सो केन्द्रलाई स्तरोन्नति गरी क्षेत्रीय स्तरको बनाउन नेपालले पहल गरिरहेको अवस्थामा उहाँ पाँचखाल पुग्ने कार्यतालिका तय भएको हो ।

पियरले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीसहित सेना र प्रहरीका उच्च अधिकारीसँग भेटवार्ता गर्ने बताइएको छ ।
उहाँ नेपालसहित भारत, बंगलादेश र पाकिस्तानको समेत भ्रमणमा आउँदै हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्