स्थानीय र केन्द्र सरकारसँग सहकार्य गरी मुलुकको समृद्धिमा योगदान गर्छौं– मुख्यमन्त्री गुरुङ



नेपाल समाचारपत्र, लमजुङ । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय तहको सरकार र केन्द्र सरकारसँग सहकार्य गरी नेपाली जनताले देखेको समृद्धिको सपना पुरागर्न योगदान गर्ने बताउनु भएको छ । उहाँले लमजुङको जिल्ला सदरमुकाम स्थित बेसीशहर नगरपालिकाको तेस्रो नगरसभाको उदघाटन गर्दै शुक्रबार सो धारणा व्यक्त गर्नु भएको हो ।

उहाँले सुशासन र दिगो विकासका लागि पनि सहकार्य आवश्यक रहेको बताउँदै तीनै तहको सरकार आफैमा शक्तिशाली छ तर समन्वयमा काम गर्दा धेरै उपलब्धी हासिल गर्न सकिन्छ भन्नु भयो । उहाँले भन्नुभयो, ‘समय र शासन पद्दति अनुसार हाम्रो सोच र व्यवहारमा पनि परिवर्तन आउन जरुरी छ तर त्यस्तो अनुभूति गर्न सकिएको छैन ।’ उहाँको संकेत केन्द्र सरकारले बजेट बाडफाडमा प्रदेश सरकारलाई महत्व नदिएकोतर्फ थियो । उहाँले भन्नुभयो, ‘केन्द्रीय मानसिकताले विकासको काम हुन सक्दोरहेछ भन्ने हामीसँग ७० वर्षको अनुभव छ, त्यसैले संघीयतामा जानु परेको हो । प्रदेश सरकारले केन्द्र सरकारबाट ३० प्रतिशत बजेट विनियोजन गर्नु पर्छ ।’ उहाँले प्रश्न गर्नु भयो ‘मुलुकमा उत्पादन भएको विद्युतको ५० प्रतिशत उत्पादन गर्ने प्रदेशले त्यसको रोयल्टी पनि त्यही अनुपातमा पाउनु पर्दैन ?’

स्थानीय सरकारसँग पर्यटन प्रवद्र्धन, खेलकुदको विकास, स्वास्थ्यसेवा, पूर्वाधार निर्माण जस्ता कार्यमा सहकार्य गर्ने गरी प्रदेश सरकारले नीति र कार्यक्रम ल्याएको मुख्यमन्त्री गुरुङले बताउनु भयो । एक घण्टा लामो सम्बोधनको क्रममा उहाँले भने प्रदेश सरकार आफैले विद्युत आयोजना निर्माण गर्ने सोचमा छ, त्यसका पनि स्थानीय तहको सरकारसँग सहकार्य गर्ने र जनजनमा नसके पनि प्रत्येक घरमा सेयर र अबको २ वर्षमा प्रदेशका सबै घरमा विजुली पु¥याउन चाहन्छ भन्नुभयो ।

नेकपाका नेता समेत रहेको मुख्यमन्त्री गुरुङले अर्को एक प्रसङ्गमा लोकतन्त्र भनेको भाषण गर्ने विषयमात्र हैन, व्यवहारमा पनि प्रयोग गरिनु पर्छ । संघीय र प्रदेश सरकारले जे जसरी पहिले नीति र कार्यक्रम त्यसपछि बजेट ल्याउने गर्दछन् स्थानीय तहले पनि त्यस्तो कार्य गर्न आवश्यक छ भन्ने सुझाव दिनु भएको थियो । आज मुलुकमा ४० प्रतिशतभन्दा बढी विकास खर्च नभएको अवस्थामा बेसीशहर नगरपालिकाले ८० प्रतिशत योजना सम्पन्न गरी बजेट खर्च गर्नु आफैमा प्रसंशनीय कार्य हो मुख्यमन्त्री गुरुङले भन्नु भयो । त्यसैगरी, जारी गरिएको बजेटमा ३१ प्रतिशत चालु र ६९ प्रतिशत पूजीगत बजेटको ढाँचा पनि अर्कोै राम्रो पक्ष रहेको उहाँले औँल्याउनु भयो । अबको पाँच वर्षमा खाद्य, मासु, दूध, तरकारी सहितका वस्तुमा प्रदेशलाई आत्म निर्भर बनाउने बताउँदै मुख्यमन्त्री गुरुङले त्यसले समृद्धिको यात्रा तय गर्नका लागि बाटो खोल्ने विश्वास व्यक्त गर्नु भयो ।

बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालको अध्यक्षतामा भएको सो सभामा उहाँले नगरपालिकाको आउँदो वर्षको नीति, कार्यक्रम र अनुमानित बजेट पेश गर्नु भएको थियो । १५ प्रष्ठ लामो नीति तथा कार्यक्रममा मेयर अर्यालले विभिन्न २१ शीर्षक र ११९ उपशीर्षकमा नीति र कार्यक्र प्रस्तुत गर्दै विज्ञ सहित सहभागीहरूबाट प्राप्त हुने सुझावलाई ध्यानमा राखी बजेटको अन्तिम स्वरुप असार १४ गते सार्वजनिक गर्ने जानकारी दिनु भयो । उहाँका अनुसार आउँदो वर्षका लागि ५४ करोड ९९ लाख २६ हजार प्रस्ताव गरिएको छ ।

सो सभामा राष्ट्रिय सभाका सांसद दीपा गुरुङ, प्रदेश सभाका सांसद मायानाथ अधिकारी, धनञ्जय दवाडी, मधु अधिकारी तथा संविधानसभाका सदस्य एवम् पूर्व सांसद डा. भिष्मनाथ अधिकारी र जमिन्द्रमान घले तथा जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डले नीति तथा कार्यक्रमको कार्यान्वय र सुशासनका पक्षमा जोड दिनु भएको थियो ।

सो अवसरमा प्रजिअ झंकनाथ ढकालले विकास र सुरक्षा अन्यान्याश्रीत भएको हुँदा सुरक्षाका लागि गरिने खर्च निरर्थक नहुने बताउनु भयो । उहाँले उपभोक्ता समिति ठेकेदार बनेर कसैका लागि कमाइखाने भाडो नबनोस् भन्दै सुशासनका पक्षमा ध्यान दिन आग्रह गर्नु भयो । सो अवसरमा नेकपाका जिल्ला संयोजक कृष्णप्रसाद अधिकारी, काँग्रेसका जिल्ला सचिव हरिप्रसाद बरालले समेत शुभमकाना व्यक्त गरेको कार्यक्रममा उपमेयर लक्ष्मी अधिकारीले स्वागत गर्दै कार्यक्रमको औचित्यमा प्रकाश पार्नु भएको थियो ।

सो अवसरमा मुख्यमन्त्री गुरुङलार्ई बेसीशहर नगरपालिकाकोतर्फबाट मेयर गुमानसिंह अर्याल र उपमेयर लक्ष्मीदेवी अधिकारीले संयुक्त रूपमा लमजुङको चिनारी दिने अल्लोको धागोबाट तयार गरीएको कोटको पिस र टीकासहित अभिनन्दनपत्रद्वारा अभिनन्दन गरिएको थियो । यसैगरी, राष्ट्रिय सभा सदस्य तथा प्रदेश सभाका सबै सांसदहरूलाई सम्मानपत्र, कोटको पिस र टीकाद्वारा सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्