रसियामा जारी विश्वकपमा १० हजार नक्कली टिकट बिक्री



काठमाडौं । रसियामा जारी महाकुम्भ खेल विश्वकप फुटबल २०१८ मा गलत काम समेत भएका छन् । टिकट किनेर विश्वकप हेर्न पुगेका हजारौं चिनियाँ दर्शक अलपत्र परेपछि नक्कली टिकट काटेर बिक्री गरिएको रहस्य खुलेको हो ।

सिन्ह्वा न्यूज एजेन्सीका अनुसार टिकट प्रमाणित हुन नसकी गेटबाट भित्र छिर्न नपाएकाहरुलाई रसियाली प्रहरीले बलपूर्वक फर्काउनु परेको छ । बुधबार पोर्चुगल र मोरक्कोबीचमा भएको खेलमा चिनियाँ एक हजार दर्शक रंगशालाभित्र छिर्न नपाई फर्कन बाध्य भएका थिए । रसियन ट्राभल एजेन्सी एन्जि एमएसकेबाट टिकट काटेर फुटबल खेल हेर्न पुगेका दर्शकहरुले प्रवेश नपाएको जनाइएको छ । कूल १० हजार नक्कली टिकट काटिएको रसियाली प्रहरीले जनाएको छ । सो मध्ये तीन हजार पाँच सय चिनियाँ नागरिकले खरिद गरेका थिए ।

नक्कली टिकट काट्ने रसियन ट्राभल्स एजेन्सीका सञ्चालकले भने आफ्नो व्यापारिक साझेदारले गलत काम गरेकाले आफू फसेको बताएका छन् । सो सम्बन्धमा रसियास्थित चिनियाँ दुताबासले त्यहाँको परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर ११ लाख अमेरिकी डलर बराबरको नक्कली टिकट जारी भएको सम्बन्धमा मिलेर अनुसन्धान गरिरहेको रसियाली समाचार पत्र कोम्मेरस्यान्टले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्