उत्तर कोरियाद्वारा निःशस्त्रीकरण प्रक्रिया सुरु



वासिंगटन । उत्तर कोरियाले निःशस्त्रीकरणको प्रक्रिया सुरु गरेको छ । यो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका हुन् । अमेरिकी राष्ट्रपछि ट्रम्पले भने, ‘उत्तर कोरियाले निशस्त्रीकरणको प्रक्रिया सुरु गरिसकेको छ ।’

अमेरिका–उत्तर कोरियाबीच यही जुन १२ मा सिंगापुरमा भएको शिखर वार्ताको विषयमा विभिन्न व्यक्तिबाट आलोचनात्मक विचारहरु आइरहेका बेला राष्ट्रपति ट्रम्पले यस्तो बताएका हुन् ।

यी दुई देशबीच भएको उक्त ऐतिहासिक वार्तामा भएका सम्झौताको कार्यान्वयनका बारेमा विभिन्न रुपमा आलोचना भइरहेको छ । कतिपय अमेरिकी नागरिकले नै सम्झौतामा हस्ताक्षर गरेबमोजिम उत्तर कोरियाले निशस्त्रीकरण गर्न नसक्ने बताउँदै आएका छन् ।

राष्ट्रपति ट्रम्पले मन्त्रिपरिषदको बैठकमा उत्तर कोरियाले यसअघि नै एउटा पारमाणविक उत्पादन केन्द्र भत्काइसकेको बताएका थिए । मन्त्रिपरिषद बैठकमा उनले उत्तर कोरियाले उसका चारमध्ये एउटा यस्तो शक्तिशाली केन्द्र भत्काइसकेको छ र जसका कारण अन्तर्राष्ट्रिय समुदायमा उसप्रतिको सकारात्मक प्रतिक्रिया आएको ट्रम्पले बताएका छन् ।

सिंगापुरमा भएको वार्ताकै क्रममा पनि उत्तर कोरियाली नेता किम जोङ उनले आफूले शक्तिशाली आणविक केन्द्र भत्काइसकेको जानकारी दिएका थिए । तर, उत्तर कोरियाको भनाइको विश्वास पूर्ण रुपमा गर्न नहुने भन्दै अमेरिकी समुदायले राष्ट्रपति ट्रम्पको आलोचना गर्दै आएका छन् ।

उत्तर कोरियाले अमेरिकासहित विश्वका दश देशका पत्रकारलाई आमन्त्रण गरी उनीहरुको रोहवरमा उक्त आणविक केन्द्र भत्काएको थियो । तर, त्यहाँ कतिवटा यस्ता केन्द्र छन् भन्ने बारेमा भने विज्ञहरुको विचार फरक आएको छ ।

कतिपयले त्यहाँ शक्तिशाली छ वटा यस्ता आणविक केन्द्र भएको बताउँछन् भने केहीले यहाँ यस्ता केन्द्रहरु चारवटा मात्र रहेका बताउने गरेका छन् । उनीहरुका विचारमा आणविक केन्द्र पनि उत्तर कोरियाले सबैजसो नष्ट गर्न नसक्ने अवस्था रहेको बताएका छन् ।
तर, राष्ट्रपति ट्रम्पले भने आफू उत्तर कोरिया पूर्ण रुपमा नै निशस्त्रीकरणमा जाने कुरामा आफू विश्वस्त भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्