नागरिकताको व्यापारमा नेकपा र कांग्रेसकाे साँठगाँठ



सिन्धुपाल्चोक । सिन्धुपाल्चाेकमा नागरिकताको व्यापारमा नेकपा र कांग्रेस बराबर देखिएका छन । कीर्ते नागरिकता सिफारिस गरेको अभियोगमा कांग्रेस नेता समेत रहेका वडा अध्यक्ष पक्राउ परेको एक साता नबित्दै नेकपाका नेता समेत रहेका अर्का वडा अध्यक्ष कीर्ते नागरिकता सिफारिसकै अभियोगमा पक्राउ परेका छन ।

झुठो विवरण पेश गरी किर्ते नागरिकताका लागि सिफारिस गरेको आरोपमा प्रहरीले चौतारा साँगाचोकगढी नपा–१ स्याउलेका वडाध्यक्ष सानुकान्छा श्रेष्ठ, सोही वडामा कार्यरत स्थानीय पञ्जिकाधिकारी राजकुमार श्रेष्ठ र मिलेमतोमा सामेल भएकी सुनसरी जिल्ला वक्यौली–३ की सीमाकुमारी राजधानीलाई पक्राउ गरेको छ । वडा अध्यक्ष श्रेष्ठ नेकपाका नेता हुन ।उनी पूर्व एमाले हुन ।

स्थानीय एकजनालाई नक्कली आमा बनाई अन्य जिल्लाको व्यक्तिलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन सिफारिस गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन किर्तेे सिफारिस गरेको आरोपमा केही दिनअघि मात्र जिल्लाको हेलम्बु गाउँपालिका–७ का वडाध्यक्ष खेतनाथ घिमिरे र वडासचिव रामबहादुर श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । घिमिरे कांग्रेसका नेता हुन ।

प्रतिक्रिया दिनुहोस्