३ थान भरुवा बन्दुकसहित ३ जना पक्राउ



नेपाल समाचारपत्र, लमजुङ ।
लमजुङ प्रहरीले अवैध भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले ३ थान भरुवा बन्दुक समेत बरामद गरेको छ ।  पक्राउ परेकाहरू विरुद्ध हातहतियार खरखजना मुद्धा चलाइने प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा सबै रागिनास नगरपालिका– १० का स्थायी बासिन्दा भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेहरूमा ४६ बर्षीय गाईने सुनार, २६ बर्षीय सन्तोष बि.क.का साथै ३९ बर्षीय  गजेन्द्र बि.क. भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख यादव ढकालले बताउनु भयो । उहाँका अनुसार अवैध रुपमा घरमा भरुबा बन्दुक लुकाई छिपाई राखेका छन भन्ने सूचनाको आधारमा प्रहरी चौकी गौडालाई दिइएको निर्देशन अनुसार उनीहरू पक्राउ परेका हुन् ।

प्रहरी टोली उनीहरूको घरमा पुगेर घर÷कोठा खानतलासी गर्दा गाईने सुनारको घरबाट १ नाले भरुबा बन्दुक, गजेन्द्र बि.क. को घरमा लोड गरी राखेको १ नाले भरुबा बन्दुक र सन्तोष बि.क. ले घर देखि नजिकै छिमेकी गिरीराज न्यौपानेको खेतमा लुकाई छिपाई लोड गरी राखेको अवस्थाको १ नाले भरुबा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले ती तीन थान भरुबा बन्दुक सहित ती ३ जनालाई पनि पक्राउ गरी जिल्ला प्रहरी कार्र्यालयमा ल्याएको छ । उनीहरूका विरुद्धमा हातहतियार खरखजना मुद्धा चलाउनका लागि जिल्ला प्रशासन कार्यालय लमजुङबाट म्याद थप गरी थप अनुसन्धान कार्य थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्