कांग्रेसको ‘चेतावनी’ पछि रोकियो छलफल



हेटौंडा,(नेस)
सरकारले असार १ गते प्रस्तुत गरेको बिनियोजन विधयेकमाथिको छलफल प्रदेश–३ मा रोकिएको छ । प्रदेशसभा बैठकमा विनियोजन विधेयकमाथि छलफलको कार्यतालिका रहे पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गर्ने ‘चेतावनी’ दिएपछि छलफल रोकिएको हो ।

सरकारले प्रस्तुत गरेको राजस्व तथा व्यय अनुमानमाथिको छलफल सकिएर विनियोजन विधेयक प्रस्तुत हुँदा योजनाहरुको सूची नल्याएको भन्दै कांग्रेसले आपत्ति जनाएको थियो ।

प्रदेश सरकार भने विनियोजन विधेयक पारित भएपछि मात्र योजनाहरुको सूची पेश गर्ने तयारीमा छ । विधेयकमा योजनाहरुको विस्तृत सूची समावेश नगरी व्यय अनुमान विवरणमात्र समावेश गरिएको भन्दै कांग्रेसले संसद् अवरुद्ध गर्ने चेतावनी दिएको थियो ।

कांग्रेस सांसद्को चेतावनीपछि छलफल स्थगित गर्न सत्तापक्ष सहमत भएको थियो । कांग्रेस सांसद् प्रभात तामाङले संशोधनका सूचनाहरु सबै सदस्यलाई वितरण नगरी दफावार छलफमा पठाउन नमिल्ने दाबीसहित नियमापति जनाए पनि सभामुखले प्रस्ताव अघि बढाउनुभएको थियो ।

अब आगामी सोमबार बस्ने बैठकमा विनियोजन विधेयकमा छलफल गर्ने कार्यव्यवस्था परामर्श समितिमा सहमति भएको छ । विनियोजन विधेयक र आर्थिक वर्ष २०७५÷०७६ को शीर्षक तथा स्रोतगत व्यय अनुमानको विवरण प्रदेश सभामा बुधबार पेश भएको थियो ।

प्रतिक्रिया दिनुहोस्