चौथो विश्व योग दिवस नेपालमा पनि मनाईयो



काठमाडौ
कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले नेपाललाई स्वस्थ आध्यात्मिक एवं योग केन्द्रको रुपमा विकसित गर्दै लैजान सरकारले पहल गर्ने बताउनुभयो ।

चौथो विश्व योग दिवसको अवसरमा पतञ्जलि योगपीठले विहिवार विहान राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा गरेको कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले आम जीवन पद्धतिका रुपमा योगको महत्वलाई उजागर गर्दै स्वस्थ नागरिक तयार पार्नका लागि नेपाललाई योग केन्द्रको रुपमा विकसित गर्दै जाने बताउनुभयो ।

त्यसैगरी चौथो विश्व योग दिवसका अवसरमा देशैभर स्वास्थ्य मन्त्रालय, मातहतका निकाय, पतञ्जली योगपीठ तथा विभिन्न संघसंस्था बिद्यालयहरुले विभिन्न कार्यक्रमका साथ मनाएका छन ।

योग अभ्यासलाई सही रुपमा प्रयोग गर्न सके रोग लाग्नबाट बच्न सकिने योग गुरुहरुले जानकारी गराएका थिए । साथै बिरामीले पनि सामान्य तरिकाले योग गर्न सकिने कुरा जानकारी गराईयो । योग अभ्यासकै कारण आत्म सुद्ध हुने, मनोबल उच्च हुने, स्मरण शक्तिको बिकास हुने, थकान कम हुने, कामगर्ने तवर तरिकामा परिवर्तन आउनुका साथै रोगसँग लड्ने क्षमताको समेत विकास हुने र सकारात्मक सोचको भावनामा बृद्धि हुने जस्ता जानकारी गराईयो ।

योग दिवसलाई देश व्यापी रुपमा अघि बढाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद विभागले बिहान ६ बजेबाट स्वास्थ्य सेवा विभाग टेकुबाट सचेतनामुलक ¥यालीको संयुक्त रुपमा आयोजना गरेको आयुर्वेद विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले बताउनुभयो । काठमाडौको मुख्य शहरमा आयोजना गरिएको ¥यालीमा के बुढा, के तन्नेरी तथा बालबालिका सबैको सहभागिता रहेको थियो ।


स्वास्थ्य सेवा विभाग परिसर टेकूमा भेला भै ¥याली टेकू, त्रिपुरेश्वर हुँदै स्वास्थ्य मन्त्रालयको प्राङगाणमा पुगी योग अभ्यासमा परिणत भएको थियो । कार्यक्रममा उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेल, कर्मचारी तथा सर्वसाधारणको सहभागीता रहेको थियो ।

त्यसैगरी बिहिवारै विश्व योग दिवस विशेष कार्यक्रमको आयोजना गरी जीवन विज्ञान प्रतिष्ठान तथा एसएबी पब्लिक स्कूलको संयुक्त आयोजनामा मनाइयो । ‘योग गरौँ, स्वथ्य बनौँ’ भन्ने नाराका साथ विहान प्रभात फेरीबाट शुरु भएको कार्यक्रम मैतिदेवी, डिल्लीबजार, घट्टेकुलो हुँदै विद्यालय प्राङ्गणमा पुगेपछि योग शिविरमा परिणत भएको थियो ।

उक्त कार्यक्रममा जीवन विज्ञान प्रतिष्ठानका प्रशिक्षक प्रा.डा. झमक बहादुर कार्कीबाट अन्तराष्ट्रिय योग दिवसको महत्वमाथि प्रकाश पार्दै उपस्थित सम्पूर्ण महानुभावहरूलाई योगको प्रशिक्षण दिनुभएको थियो । विद्यालयका प्रिन्सिपल लक्ष्य बहादुर के.सी.ले २१ औँ शताब्दिमा हरेक विद्यालयमा योग प्रशिक्षण र प्रशिक्षक अनिवार्य हुनुपर्ने कुरामा प्रकाश पार्नुभयो । उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षकहरू, अतिथिहरू र योग प्रेमी महानुभावहरूको विशेष उपस्थिति रहेको थियो ।

काभ्रे जिल्लामा पनि पतञ्जली योग समिति काभ्रेको आयोजनामा चौथो विश्व योग दिवसका अवसरमा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले कार्यक्रमको उद्घाटन गर्दै योग मानव स्वास्थ्यको लागि अपरिहार्य भएको कुरा व्यक्त गर्नुभयो । कार्यक्रममा केन्द्रीय प्रवारी लवदेव मिश्रले योगका बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा मिश्रले स्वस्थ जीवनका लागि योग कसरी गर्ने भन्ने बारेमा सहभागीहरुलाई योगाभ्यास गराउनुभएको थियो । पतञ्जली योग समिति धुलिखेल नगर संयोजक राजु श्रेष्ठले योगलाई वडा, नगर हुँदै गाउपालिका तथा प्रदेश स्तरमानै बिकास गर्नुपर्ने कुरा बताउनुभयो । उहाँले देशको विकास स्वस्थ जनशक्तिले मात्र गर्न सक्ने हुनाले अबको समय बिद्यालय, क्याम्पस तहमै योग शिक्षा दिएर स्वस्थ जीवन जिउने तरिका सिकाउनु आवश्यक भएको कुरा औल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्