अदालतको आदेशमा विद्यार्थी नेता रिहा



पर्वत, (नेस)
नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बिद्यार्थी संगठन अखिल क्रान्तिकारी म्याग्दीका अध्यक्ष सम्राट सापकोट रिहा भएका छन ।

डोजरमा आगजनी लगायतका घटनाका संलग्न भएको आरोपमा पक्राउ गरिएका सापकोटा अदालतको आदेशमा रिहा भएका हुन । उनलाई गैह्र कानुनी थुनामा राखिएको भन्दै उच्च अदालत पोखरा, बागलुङ्ग इजलासमा परेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी मुद्दामा बुधबार रिहा गर्न आदेश दिएको थियो ।

अखिल क्रान्तिकारीका म्याग्दी अध्यक्ष सापकोटालाई जिल्ला प्रहरी कार्यालयले गएको जेठ २६ मा पक्राउ गरेको थियो । सार्वजनिक अपराध मुद्दामा दुई पटक म्याद थप गरेर राखिएका सापकोटालाई सात दिनमा जिल्ला प्रशासनमा बुझाउनु पर्नेमा ३५ दिन म्याद थप गरेर हिरासतमा राख्नु गैह्र कानुनी काम भएको आदेशमा उल्लेख छ ।

बिप्लब माओबादी पर्वतका सेक्रेटरी ढकबहादुर क्षेत्री पनि सोही आरोपमा प्रहरी हिरासतमा रहेका छन । पर्वतको फलेबास नगरपालिकामा सडक चौडा पार्न प्रयोग गरिएको स्काभेटरमा आगजनी गरेको, मोदी हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको २० मेघावाट क्षमताको तल्लो मोदीखोला जलबिद्युत आयोजनाको कुस्मा नगरपालिका – ७ परादीमा रहेको कार्यालयमा बम राखेको लगायतका आरोपमा उनीहरु पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्