सेवा अवधि सकिनै लाग्दा डीआईजी चन्दद्वारा रकम संकलन तीव्र



हेमन्त पौडेल, धनगढी
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख एसपी योगबहादुर पालले विभिन्न ट्राफिक पोष्टबाट अबैधरुपमा मासिक रकम उठाउने गरेको प्रसंग सेलाउन नपाउँदै प्रदेश नम्वर सातका डिआईजी शरद चन्दले पनि मासिक रकम उठाउने गरेको खुलासा भएको छ ।

नेपाल सरकारले प्रदेश इन्चार्ज एआईजीमा माधव नेपाललाई खटाएपछि उहाँ ओझेलमा पर्नुभएको थियो तर मर्यादाक्रम नमिल्ने भन्दै फेरि डीआजीलाई नै प्रदेश प्रमुखको जिम्मेवारी दिएपछि चन्द प्रदेश प्रमुख बन्नुभएको थियो ।

ट्राफिक प्रहरीले ज्यादतीपूर्ण ब्यवहार देखाउँदै जथाभावी रकम उठाएर आम मानिसहरुलाई सताएका समाचार सेलाउन नपाउँदै डिआईजी स्वयम रकम असुलीमा लागेको समाचारहरु सुनेपछि स्थानीयहरु चकित परेकाछन् ।

जो ब्यक्ति कानुनलाई कार्यान्वयन गर्ने निकायमा छ सोही ब्यक्तिले गैरकानुनी रुमा रकम उठाउन लागाएपछि वर्तमान सरकारको भ्रष्टाचार शून्य सहनशिलताको सिद्धान्तलाई धज्जी उडाएको छ । गृहमन्त्री रामबहादुर थापाले काठमाण्डौमा बसेर जनप्रिय निर्णय गर्ने तर प्रहरीका प्रदेश प्रमुखलेनै गैरकानुनीरुपमा रकम उठाउन लगाउने विषयको तादम्यता नमिलेको स्थानीयको भनाइ छ ।

यही असार ३० गते डिआजी चन्दको उमेर हदका कारण सेवानिबृत्त हुँदै हुनुहुन्छ । सेवा निवृत्त हुन करिब २५ दिन हुँदा पनि कार्यक्षेत्रमा बसेर रकम उठाउने काम भइरहेको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी पालले गरेको कम्जोरीका बारेमा डिआईजी चन्दले खासै चासो नदिनुको पछाडी भनेको उहाँ आफै रकम असुल गर्न लागेकाले समाचार स्रोतको दावी छ ।

पत्रपत्रिकामा समाचार सार्वजनिक भएपछि औपचारिकता निभाउनकालागि संघीय प्रहरी इकाईका वरिष्ठ प्रहरी उपरिक्षक हरिराम वाग्लेको संयोजकत्वमा छानविन समिति बनाएपनि प्रदेश प्रमुखको नाताले उहाँले खेल्नुपर्ने भूमिका र शक्रियतामा कमि देखिएको छ ।


–रकम उठाउन घुमुवा प्रहरी र चौकी इन्चार्ज प्रयोग
–बिदामा बस्न आईजीपीले दिएको मौखिक निर्देशको अवज्ञा


विभिन्न पोष्टबाट उठाउने गरेको रकमको डाटासहित समाचार सार्वजनिक भएपनि त्यसको प्रभाव नगरि उल्टै सञ्चारकर्मीलाई धम्कीको भाषा प्रयोग गर्दै प्रक्रिया त तपाईहरुले अघि बढाउनुभयो नी हामीले के प्रक्रिया अघि बढाउने भन्दै आक्रोश पोख्नुभएको थियो ।

प्रदेश प्रहरी कार्यालयले ट्राफिक प्रहरीको अवैध असुलीका बारेमा सहज सूचना नदिएपछि नेपाल प्रहरीका प्रवक्ता शैलेश थापासंग सूचना माग्नुपरेको थियो । उहाँका अनुसार एसपी पालले गरेको कामको अनुसन्धान भइरहेको छ ।

डीआईजी चन्दल आफैले रकम संकलको कामलाई तिब्रता दिएकाले ट्राफिकले गरेको गलत कामलाई रोक्न समेत सकेकाछैनन् । सेवा अवधि समाप्त हुने अन्तिम समयमा आएर प्रदेश प्रहरी प्रमुख चन्दले आरआइटी र घुमुवा गरेर १४ जनाको टोलीलाई रकम संकलनको काममा लागउनुभएको छ भने विभिन्न इलाका प्रहरी कार्यालय, सीमा प्रहरी चौकी र प्रहरी चौकी इन्चार्ज मार्फत मोटो रकम बुझ्नुभएको छ ।

समाचार स्रोतका अनुसार डिआईजी चन्दले यस अघि पनि मासिक लाखौं रुपैंया बुझ्ने गरेको र यस पटक भने जागिरको अन्तिम समय भएकाले त्यसलाई झन तिब्रता दिनुभएको छ । अपराध अनुसन्धानका नाममा खटिएका प्रहरी र घुमुवा प्रहरीले यतिबेला रकम उठाउने कामलाई निकै तिब्रता दिएकाछन् ।

विश्वसनीय समाचार स्रोतका अनुसार डिआईजी चन्दलाई कैलालीको पृथ्वीपुर चौकीले मासिक २५ हजार ,कालाकुन्टाले ५० हजार , सत्ति प्रहरी चौकी १५ हजार ,त्रिनगर प्रहरी चौकीबाट ३० हजार त्रिनगर ट्राफिक प्रहरीले १ लाख, भजनीबाट २० हजार,चिसापानीबाट १५ हजार ,वडा प्रहर कार्यालय धनगढीबाट ४५ हजार,टीकापुरबाट३५ हजार,सुखडबाट२० हजार, अत्तरियाबाट २० हजार, हसुलियाबाट १५ हजार ,धनगढी बजार क्षेबाट घुमुवा मार्फत मासिक १ लाख २० हजार उठाउने गरेकाछन भने धनगढीका ठूला उद्योगपतिहरुलाई डिआजी चन्दल आफै भेट्ने गरेकाछन् ।

कञ्चनपुरको गड्डाचौकीको इलाका प्रहरी कार्यालयबाट मासिक ५० हजार, त्रिभुवनवस्तीबाट २० हजार,दोधारा चाँदनीबाट २० हजार,डोकेबजारबाट ४० हजार लिने गरेकाछन भने कञ्चनपुरको बेलौरीका एक जना तस्करबाट मासिक १ लाख रुपैंया बुझ्ने गरेकाछन् ।

गलत कामलाई रोक्न जिम्मेवारी लिएर आएका जिम्मेवार ब्यक्तिले गैर जिम्मेवार काम गर्दा समेत प्रहरी संगठन बेखवर बनेको छ । डिआजी चन्दलाई विदामा बस्न मौखिक निर्देशन दिएर अमेरिका गएका आइजीपि सर्वेन्द्र खनालका निर्देशनको अवज्ञा गर्दै डिआजीले रकम उठाउने कामलाई तिब्र पारेकाछन् । नेपाल प्रहरीको छवि धुमिल्याउने गरेर गतिविधि गर्दा समेत गृहमन्त्रालयले चासो राखेको पाइएन ।

यस बारेमा बुझ्न खोज्दा गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीसंग सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्