डुङ्गा दुर्घटनामा १८० वेपत्ता



सिमालुङ्गाउन

इन्डोनेसियामा भएको एउटा डुङ्गा दुर्घटनामा परी करिब १८० व्यक्ति वेपत्ता भएका छन् ।

खोजीकार्य जारी रहेकाले अझै पनि सो डुङ्गामा कति व्यक्ति सवार थिए भन्ने बारेमा यकिन हुन भने सकेको छैन ।

प्रख्यात पर्यटकीय स्थलको रूपमा रहेको सुमात्रा द्वीपको तोबा तालमा सोमबार अपराह्न सो डुङ्गा दुर्घटना भएको थियो ।

डुबेका वा बेपत्ता भएका व्यक्तिहरूलाई बचाउने क्रममा मङ्गलबारदेखि नै खोजी तथा उद्धार कार्यका लागि सयौँको उद्धारकर्मीको टोली खटिएको छ ।

हालसम्म यस उद्धारकार्यको क्रममा तीन व्यक्तिको मृत्यु भएको अन्य १८ जनालाई उद्धार गरिएको जानकारी दिइएको छ । विना टिकट नै यात्रा गरेकोले डुङ्गा गैरकानूनी भएको बताइएको छ ।

इन्डोनेसियामा करिब १७ हजार द्वीप रहेका र यस द्वीपमा यातायातको प्रमुख साधनका रुपमा डुङ्गा प्रयोग हुने गरेको छ ।

इन्डोनेसियामा गत हप्ता सुलावेसी द्वीपमा काठबाट बनेको एक डुङ्गा दुर्घटना हुँदा करिब ४० व्यक्ति डुबेका थिए । तीमध्ये एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्