विश्वमा झण्डै सात करोड मानिस विस्थापित: संयुक्त राष्ट्रसंघ



न्युयोर्क, (एजेन्सी)
विश्वका विभिन्न राष्ट्रमा जारी रहेको द्वन्द्व, हिंसा र अत्याचारका कारण सन् २०१७ को उत्तरार्ध सम्ममा करिव ६ करोड ८५ लाख व्यक्ति विस्थापित हुन पुगेको संयुक्त राष्ट्रसंघद्वारा हालै प्रकाशित एक प्रतिवेदनमा जनाइएको छ । यसरी आफ्नो देश वा क्षेत्रबाट विस्थापित हुनेमा अधिकांश म्यानमार र सिरियाका जनता रहेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उक्त अवधिमा विश्वभरिबाट विस्थापित हुने व्यक्तिको संख्या अघिल्लो वर्षको तुलनामा ३० लाखले बृद्धि भएके पनि सो प्रतिवेदनमा जनाइएको छ । विगत एक दशकको तुलनामा यस तथ्यांकमा करिब ५० प्रतिशतले नै बृद्धि भएको पाइएको छ ।

एक दशकमात्र अघि यो सख्या चार करोड २७ लाख रहेको संयुक्त राष्ट्रसंघले सो प्रतिवेदनमा जानकारी दिएको छ ।

विस्थापितहरुको यो सख्या १० वटा देशको मात्र तथ्यांकबाट लिइएको जेनेभामा प्रतिवेदन प्रस्तुत गर्ने क्रममा संयुक्त राष्ट्रसंघीय शरणार्थी मामिलाका उच्च आयोगका आयुक्त फिलिपो ग्रान्डीले बताएका छन् ।

सिरियामा सात वर्षसम्म जारी द्वन्द्वको क्रममा ६३ लाख व्यक्ति देश छोडेर विदेशमा शरणार्थी बन्न बाध्य भएका छन् । यो संख्या विश्वभर रहेका शरणार्थीहरुको तुलनामा तीन भागको एक भाग हुन आउँछ ।

त्यसैगरी सिरियामा अरु करिब ६२ लाख व्यक्ति सिरियाभित्र नै आन्तरिकरुपमा विस्थापित भएका छन् । सिरियामा साउदी अरेवियाको नेतृतवमा रहेको गठबन्धन फौजले आक्रमण जारी राखेको छ । यसैगरी शरणार्थी संख्याको विषयमा सन् २०१७ मा गरिएको अध्ययनअनुसार दोस्रो स्थानमा अफगानिस्तान परेको छ ।

अफगागिस्तानमा विगतका वर्षको तुलानामा सन् २०१७ मा शरणार्थीका रुपमा विस्थापित भएर देश छोड्न बाध्य भएका नागरिकको संख्यामा पाँच प्रतिशतले बढेको पाइएको छ ।

यस अर्थमा अफगानिस्तानमा सन् २०१७ मा २६ लाख अफगानी शरणार्थी बन्न विदेशिन बाध्य भएका छन् । तर अहिले अफगानिस्तानमा संघर्षरत तालिवान लडाकुहरुले आश्चर्यजनक रुपमा मुशिलमहरुको पवित्र चाड इदको उपलक्षमा तीनदीने युद्धविराम घोषणा गरेर त्यहाँ शान्ति स्थपना हुनसक्ने संकेत दिएका छन् । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले लामो समयदेखि तालिवानसंग शान्तिवार्ताका लागि प्रयास गर्दै आएका थिए ।

यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई कुनै पनि हालतमा आप्रवासीको शिवीर बन्न नदिने घोषणा गरेका छन् । अहिले अमेरिकामा मेक्सिकोबाट अवैध ढंगले अमेरिका प्रवेश गर्ने खोज्ने आप्रवासीहरु माथि कडा नीति लिइएको छ ।

यस्ता आप्रवासीहरुलाई हिरासतमा राखि कारवाही अघि बढाइने गरेकाले तिनीहरुका झण्डै दुई हजार बालबालिका अलपत्र अवस्थामा पुगेका छन् । बालबालिकाको बिजोग गरेको भन्दै अमेरिकी पुर्व प्रथम मिहला लाउरा बुशले सोमवार ट्रम्प सरकारको कडा आलोचना गरेकी थिइन् ।

राष्ट्रपति ट्रम्पले भने आप्रवासी नीतिकै कारण जर्मनहरु आफ्ना नेता चान्सलर एन्जेला मर्केलको विरोधमा उत्रिन थालेको प्रतिक्रिया दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्