धार्मिक पर्यटक बढाउन योग शिविर



विराटनगर (नेस)
विश्व योग दिवसको अवसरमा एक नम्बर प्रदेश सरकारले बराहक्षेत्रमा बृहत योग शिविर आयोजना गरिने भएको छ ।
सामाजिक विकास मन्त्रालयको अगुवाईमा योग शिविर आयोजना गर्न लागिएको हो । एक नम्बर प्रदेशका मोरङ, सुनसरी तथा उदयपुरका स्थानीय तहका प्रमुखहरु समेतको उपस्थिती रहने गरी एक हजार पाँच सयबढी योग शिविरमा सहभागी गराउने गरी योग शिविरको तयारी भईरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले मन्त्रालय स्तरबाट धार्मिक पर्यटकिय स्थल बराहक्षेत्र चतरामा योग शिविरको आयोजना गर्न लागिएको जानकारी दिए । ‘सबै नागरिक स्वस्थ रहनु पर्छ भन्ने हाम्रो मान्यता हो, मन्त्री घिमिरेले भने, ‘योगको माध्यामबाट पनि धेरै खालका रोगको उपचार हुने विश्वास रही आएकोले हामीले योग दिवसलाई भब्य मनाउन खोजेका हौँ ।’

शिविरमा सहभागी हुनको लागि एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, मन्त्रीहरु जीवन घिमिरे, ईन्द्र आङबो, जगदीश कुसियैत, हिक्मत कार्की लगायतको मन्त्रिमण्डलको टिम नै चतरामा योगमा सहभागी हुन जाने बताईएको छ । स्थानीय जनप्रतिनिधि, एक नम्बर प्रदेश सभाका सदस्य, प्रहरी अधिकारी, ब्यवसायी, पर्यटन क्षेत्रका ब्यक्तिहरु लगायतको एक नम्बर प्रदेशका धेरै स्थानबाट योग शिविरमा सर्बसाधारणको उपस्थिती जुटाउने मन्त्रालयको तयारी छ ।

हरेक बर्ष जुन २१ तारिखलाई विश्वले योग दिवसको रुपमा मनाउँदै आएको छ । विश्व योग दिवसको अवसर पारेर चतरामा दिवसलाई भब्य रुपमा मनाउन लागिएको मन्त्रालयले जनाएको छ । दिवस मनाउने बारेमा मन्त्रालय स्तरबाट तयारी तिब्र पारिएको छ । योग शिविरमा एक हजार पाँच सय बढीको उपस्थितीमा एकै ठाउँमा योग गर्ने तयारी छ । एक नम्बर प्रदेशलाई स्वस्थ रहन योग भन्ने मुल नाराका साथ यो शिविरको आयोजना गरिएको हो ।

नजिकैबाट बग्ने कोशीको शितलतासँगै गोग गर्नको लागि धेरै स्थानबाट सर्बसाधारणको उपस्थिती हुने विश्वास लिईएको छ ।

प्रतिक्रिया दिनुहोस्