बन्यजन्तुको खुलेआम चोरी शिकारी



विमल विष्ट, डोटी
डोटीका ग्रामिण क्षेत्रवाट बन्यजन्तुको खुलेआम चोरी शिकारी हुने गरेको छ । बन्यजन्तुको चोरी शिकारी ब्यापक भए पनि हाल सम्म चोरी शिकारी नियन्त्रणको प्रभावकारी अभियान संचालन हुन सकेको छैन । जिल्लाका बिभिन्न सामुदायिक र सरकारी वनहरुमा खुलेआम रतुवा, बदेल, घोरल, कालिज लगायतका बन्य जन्तु र बहुमुल्य जडिबुटी समेत तस्करी हुने गरेको पाईएको छ । ग्रामिण क्षेत्रहरुवाट तस्करले जंगली जनावरको मासुको सुकुटी बनाई छिमेकी तराईका जिल्लाहरु लगायत काठमाण्डौ सम्म पु¥याउने गरेका छन् ।

 

बन्यजन्तुको चोरी शिकारी हुने गरेको ब्यापक जनगुनासो आउन थाले पछि महाभारत श्रृखला अन्तरगतको तेलेलेक बनमा जिल्ला बन कार्यालय डोटी, स्थानिय पत्रकार, शिखर नगरपालिकाका प्रतिनिधी र राजनितिकदलका नेता कार्यकर्ता अनुगमनका लागि पुगेका थिए । अनुगमनका क्रममा चोरी शिकारीमा संलग्न तस्करहरुले बन्यजन्तु मार्ने तरिका, मारेका बन्यजन्तुका हड्डी, छाला, चोरी शिकारीमा संलग्नहरुको बासस्थान लगायत प्रयोग गर्ने नाका र तस्करहरुले प्रयोग गरेका सामाग्रीहरु फेला परेका थिए । डोटीका जिल्ला बन अधिकृत बद्रिकुमार कार्कीका अनुसार अनुगमनका क्रममा जंगल क्षेत्रमा भैसीपालन गर्दै आएका गोठालाहरु र स्थानिय जनता संग समेत छलफल गरिएको थियो ।

स्थानिय बासिन्दा संगको छलफल पश्चात चोरी शिकारी नियन्त्रणका लागी स्थानिय तह र स्थानिय बासिन्दा संग मिलेर एकिकृत रुपमा चोरी शिकारी बिरुद्धको अभियान संचालन गरिने भएको छ । जिल्ला बन अधिकृत कार्कीले भन्नु भयो –‘तस्करीका कारण बन्यजन्तु लोप हुने अवस्थामा पुगेका छन् । शिखर नगरपालिका र स्थानिय बासिन्दाहरुको सहयोगमा यस बिरुद्ध अभियान रुपमा जाने तयारीमा छौ ।’

तस्करहरुले चोरी शिकारीका लागि महिनौ सम्म हात हतियार सहित जंगलमा बास बस्ने र शिकार गर्ने गरेको बताईएको छ । जंगलमा शिकार गरिएका बन्य जन्तुको मासु राजमार्ग लगायत सदरमुकामका होटलहरुमा समेत बिक्रि हुने गरेको छ । जिल्लाको खप्तड राष्ट्रिय निकुञ्ज संग जोडिएका वनहरु र माहाभारत श्रृखला अन्तरग रहेको तेलेलेक बनवाट बढी चोरी शिकारी हुने गरेको पाईएकोे छ । कर्णाली किनार हुदै डडेल्धुराको गन्यापधुरा देखि डोटीका बिभिन्न स्थानिय तहलाई तेलेलेकले बनले समेटेको छ ।

डोटीको जोरायल गाउपालिका अन्तरगत गैराका एक होटल ब्यबसायीका अनुसार तेलेलेकमा मारिएका मृगको मासु सुकुटी बनाएर तराईका जिल्लाहरु लगायत काठमाण्डौ सम्म लैजाने गरिएको छ । होटल ब्यबसायीको भन्छन् –‘जंगलवाट दैनिक जसो रतुवा , बदेलको सुकुटी मासु बजार सम्म आउछ । यताबाट काठमाण्डौ सम्म लैजाने गरिएको छ ।’

चोरी शिकारी बढी हुने क्षेत्रका रुपमा चिनिएको तेलेलेक बनक्षेत्रलाई डोटीको शिखर नगरपालिकाले चोरी शिकारी नियन्त्रण अभियान शुरु गर्ने बताएको छ । जिल्ला बन कार्यालय संग मिलेर चोरी शिकारी नियन्त्रण र पर्यटकिय क्षेत्रका रुपमा बिकास गर्ने तथा चोरी शिकारी निरुत्साहित गर्ने सम्बन्धी क्रियाकलाप संचालन गर्ने तयारी गरिरहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्