सेलो महोत्सवमा दुई नाटक



राजधानीमा जारी सेलो नाट्य महोत्सव–२०७५ को दोस्रो दिन सयौं वर्षअघि तिब्बतमा नुन लिन जाँदा तामाङ र तिब्बतीबीच भएको युद्ध समेटिएको लोकनाटक ताचेमा र बुद्धचित्त मालाको बोटलाई संस्कृति र परम्परागत ज्ञानको प्रतीकका रूपमा उभ्याइएको कविता नाटक ङाला फ्रेङबा धोङला टाङ गरी २ नाटक मञ्चन गरियो।

राजधानीको शिल्पी थिएटरमा जारी महोत्सवमा मञ्चित गोपाल फ्युबाले संयोजन गरेको ताचेमा धादिङको प्रचलित लोकनाटक मानिन्छ। रातो बस्त्रधारी तिब्बती सेना र सेतो बस्त्रधारी तामाङ सेनाबीच भएको युुद्ध, त्यसपछि अन्तिममा मिलेमतो भएर सगुन राखेको सन्दर्भ नाटकमा छ। नाटकमा दुवै पक्ष मिलेपछि नुनस”ग अन्न साटेर तामाङहरू तिब्बतबाट फर्किन्छन्। नाटकमा रोशन फ्युबा, मनोज लोप्चन, सिंगबहादुर तबमाङ, प्रकाश तामाङ, सन्देश तामाङ, शुभ सन्तोस तामाङ, विकल तामाङ, मुस्कान तामाङ, डिम्पल तामाङ, रेशा तामाङ र विनीता तामाङले अभिनय गरेका थिए।

कविता नाटक ङाला फ्रेङबा धोङला टाङले भने पितृप्रतिको सम्मान, समर्पण र मूल्यबोधको सौन्दर्य प्रस्तुत गरेको थियो। वसन्त चौधरीको नेपाली कविता मेरो बोधिवृक्षको तामाङ रूपान्तरणलाई शान्ति वाइबाले नाटकका रूपमा निर्देशन गरेकी थिइन्। बुद्धचित्त मालाको रुखलाई पुर्खा, संस्कृति र परम्परागत ज्ञानको प्रतीकका रूपमा प्रस्तुत गरिएको नाटकमा चारैतिर छरिएर गएका सन्तानहरू अन्त्यमा आफ्नो बुबाआमा (संस्कृति) सम्झेर फर्किन्छन्। नाटकमा शान्तिसँगै सोनाम लामा, निशा पाख्रिन र सन्तोष तामाङले अभिनय गरेका थिए। महोत्सवअन्तर्गत तामाङ रंगमञ्चको अवस्थाबारे भाषाविद् अमृत योञ्जनले कार्यपत्र पेस गरेका थिए। उनले तामाङहरू लोकनाटकमा धनी भए पनि आधुनिक रंगमञ्चमा बल्ल पाइला चाल्न थालेको बताए। महोत्सवमा समाजशास्त्री डा. मुक्तसिंह तामाङ, नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तलगायतले रंगमञ्चको चर्चा गरेका थिए। महोत्सव काठमाडौं महानगरपालिकाको सहकार्यमा प्रतिष्ठान र सेलो फाउन्डेसनले आयोजना गरेको हो।

प्रतिक्रिया दिनुहोस्